Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ५ बिहीबार १६:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले सरकारको नेतृत्व लिन वातावरण बनिसकेको छैन : प्रवक्ता शर्मा (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ५ बिहीबार १६:४२:००

कांग्रेसले सरकारको नेतृत्व लिन राजनीतिक वातावरण बनिनसकेको प्रतिक्रिया दिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालीन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने किसिमको राजनीतिक वातावरण मिलिनसकेको प्रतिक्रिया दिएका हुन् ।

उनले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद एकदमै चाहिएको भन्ने कुरामा सत्यता नभएको बताए । यद्यपि, परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा सभापति रहेको उनले बताए । 

वर्तमान राजनीतिक अवस्थामा सरकारको नेतृत्वका सम्बन्धमा कांग्रेस किन स्पष्ट हुन नसकेको भन्ने प्रश्नमा उनले आफैँसँग भएको सांसद संख्या र अन्य दलहरूभित्र भएको अन्तरकलह र त्यसको परिणामको स्पष्ट तस्बिर बाहिर आइनसकेकाले पार्टीले पनि धारणा तय नगरेको बताए । 

उनले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषणपछि पार्टी निर्णयमा पुग्ने उनले बताए । उनले भने, ‘जसलाई सत्ता चलाउन म्यान्डेट दिएको हो त्यो म्यान्डेट खण्डित भइसकेको अवस्था छ । सत्ता चलाउन नेपाली जनताले एमाले र माओवादीको गठबन्धनलाई दिएको हो । अहिले त्यो गठबन्धन पनि भत्कियो र जनताले दिएको त्यो म्यान्डेट पनि खण्डित भइसक्यो । अहिले उहाँहरूले हामीलाई नै दिएको भनेर भनिरहनुपर्ने, अडिरहनुपर्ने अवस्था बिल्कुलै छैन । त्यसैले कांग्रेस पहिले प्रतिपक्षी बसेको थियो । अब सत्तामा जानै हुन्न भनेर भनिरहेको अवस्था हो भनेर हामी पनि मान्दैनौँ ।’

उनले कांग्रेसले दबाबको आधारमा हतारमा निर्णय नगर्ने पनि स्पष्ट पारे । उनले एमाले, माओवादी केन्द्र, जसपाभित्र अन्तर्संघर्ष चलिरहेको र उनीहरूले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै कांग्रेस निर्णयमा पुग्नु गलत हुने टिप्पणी गरे । 

उनले भने, ‘प्रदेश प्रदेश १ र बागमती प्रदेशमा अविश्वासको प्रस्ताव आउँदा कतिपय साथीहरूले चाँडै निर्णय गरिहालौँ भन्नुभयो । निश्चिय नै अविश्वासको प्रस्तावको पक्षमा हामी मत दिन्थ्यौँ होला । तर, त्यसवेला हामीले निर्णय गर्ने हतारो गरेको भए के हुन्थ्यो ? आखिर अविश्वासको प्रस्ताव त विधिवत् रूपमा गएन । त्यसैले अहिले प्रचण्डले नेतृत्व गर्नुभएको पार्टी जोसँग रहेको गणित पनि माधवजीहरू त फरक गु्रपमा हुनुहुन्छ र यतापट्टि जसपासँग रहेको गणित, त्यो गणित सम्पूर्ण रूपमा संगठित भएर नै नयाँ समीकरणको सन्दर्भमा पुग्नेछ भन्ने कुरामा हामी विश्वस्त छैनौँ । त्यसैले त्यो नभइसकेको अवस्थामा हामीले संवाद नै नगरेको, छलफल नै नगरेको, नेतृत्व लिनेतर्फ अलिकति रुचि नै नराखेको र उदासीनता नै राखेको भन्नेचाहिँ होइन ।’

उनले वर्तमान राजनीतिक अवस्थाले कांग्रेसले सरकारको नेतृत्व खोजिरहेको भए पनि राजनीतिक गणित त्यो ढंगले विकसित नभएको तर्क गरे । राजनीतिक वृत्तमा चर्चा भएजस्तो वास्तवमै प्रतिगमनतिर लैजाने प्रधानमन्त्रीलाई बिदाइ गर्ने हो भने सबै दलहरू प्रधान एजेन्डाका साथ आउनुपर्ने उनले बताए । 

प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाए पनि त्यसका लागि आवश्यक पृष्ठभूमि भने तयार भइनसकेको शर्माको भनाइ छ । सरकार गठनका लागि आवश्यक गणितीय कुरा नमिलेसम्म कांग्रेसले अग्रसरता नलिने उनको भनाइ छ ।