मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ चैत ५ बिहीबार १५:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल–खनालपक्षीय नेताहरू भन्छन्– ओलीले गुटगत मानसिकता त्याग्नुपर्छ, पार्टीलाई एकताबद्ध बनाउनुपर्छ

Read Time : < 1 मिनेट
२०७७ चैत ५ बिहीबार १५:०६:००

एमालेको नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी ओलीको कार्यशैली सुधार गराई पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । ललितपुरको सानेपामा बिहीबार जारी भेलामा सहभागी नेताहरूले ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । 

सचिव भीम आचार्यले ओली पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुत बनाउने उद्देश्यका साथ राष्ट्रिय भेला गरिएको बताए । भेलाले कम्युनिस्ट आन्दोलन कमजोर हुन नदिन ओलीलगायत आमनेता, कार्यकर्तालाई आह्वान गर्ने आचार्यले बताए । वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने कुरामा आफूहरूको जोड रहेको उनले बताए । 

नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए । नेतृत्वले अझै अरू गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको उनको भनाइ छ । 

अर्का नेता ठाकुर गैरेले अध्यक्ष ओलीले ७ चैतको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफूहरूसहितको अर्को बैठक बोलाउनुपर्ने बताए । 

नेतृ समिना हुसेनले अध्यक्ष ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको बताइन् । एमालेलाई एकताबद्ध बनाउन ओलीको भूमिका हुनुपर्नेमा उनले जोड दिइन् । 

नेता मोहनचन्द्र अधिकारीले ओलीले वर्गीय दृष्टिकोण छोडेको आरोप लगाए । ओली गुटपरस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेको उनको भनाइ छ । गुटबन्दी त्यागेर एकताको पहल गरे आफूहरू पनि गल्ती सच्याउन तयार रहेको उनले बताए ।