मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत ५ बिहीबार १०:१३:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

प्रदेशले पठाएको राहत स्थानीय तहका गोदाममा कुहिँदै

Read Time : > 1 मिनेट
२०७७ चैत ५ बिहीबार १०:१३:००

महामारीका वेला अभावग्रस्त विपन्नलाई बाँड्न प्रदेश सरकारले ११ महिनाअघि राहत सामग्री पठाएको थियो । तर, वडाध्यक्षले बेवास्ता गर्दा राहत कुहिन थालेको छ

लकडाउनले रोजगारी गुमाएका परिवारलाई वितरण गर्न प्रदेश २ सरकारले पठाएको राहत यहाँको एक वडा कार्यालयमै कुहिन थालेको छ । सिराहाको कल्याणपुर नगरपालिका–६ भोक्राहामा राखिएको चामल कुहिन थालेको छ । खानेतेलको म्याद गुज्रिएको छ । 

दोस्रो चरणमा आएको ५८ प्याकेट चामल र तेल वडाध्यक्ष मोहम्मद मोतिबुल राइनको कार्यकक्षमा थन्क्याएर राखिएको छ । ११ महिनाअघि प्रदेश २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग कार्यालय सिराहामार्फत वडा कार्यालयलाई वितरणका लागि ती खाद्य सामग्री पठाएको थियो । २५ किलो चामल, दुई किलो मुसुरो दाल, एक लिटर खाने तेल, एक प्याकेट नुन, आधा किलो सोयाबिन र एक थान हात धुने साबुन प्याकिङ गरी राहत प्याकेट तयार पारिएको थियो । 

आएको राहत लामो समयसम्म वितरण नगरी कुुहिने अवस्था आएपछि स्थानीय विरोधमा उत्रिएका छन् । विपन्न गरिबलाई बाँड्नुपर्ने राहत नबाँडी वडाध्यक्ष राइनले आफ्नो कार्यकक्षमा राखेर कुहाएको भन्दै स्थानीयले आलोचना गरेका छन् । ‘राहत प्याकेजमा आएको फेमिली कम्पनीको खानेतेलको म्याद सकिएको छ । जेठमा उत्पादान गरिएको सो तेल ६ महिनाभित्र प्रयोग गर्नुपर्ने थियो, नबाँडिएकाले म्याद गुज्रिएको छ, स्थानीय अगुवा धीरेन्द्र साहले नयाँ पत्रिकासँग भने, ‘यस्तै दाल र चामलमा पनि किरा लागेको छ ।’ 

विपन्न प्रभावित परिवार छुट्याउन नसक्दा समस्या देखिएको छ : मोहम्मद मोतिबुल राइन, वडाध्यक्ष, कल्याणपुर नगरपालिका–६

वडामा प्रभावितको जनसंख्या बढी भएकाले कसलाई दिने र कसलाई नदिने भन्ने समस्या भयो, हामीले बाँड्न सकेनौँ । खास विपन्न प्रभावित परिवार छुट्याउन पनि नसक्दा वितरण प्रभावित भएको हो ।

प्रदेश सरकारले पठाएको राहत नबाँडेपछि स्थानीयले यसअघि पनि वितरणका लागि दबाब दिएका थिए । स्थानीय तारकेश्वर यादवले भने, ‘वडा कार्यालयलाई राहत सामग्री वितरण गर्न पटक–पटक आग्रह गरेका थियौँ । तर, वितरण गरिएन । अहिले कुहिने अवस्था भएको छ ।’ 

उनले गरिब विपन्न परिवारलाई वितरण गर्नुपर्ने राहत नबाँडिएकोमा आश्चर्य व्यक्त गरे । ‘बाँडिदिएको भए धेरै राम्रो हुन्थ्यो,’ यादवले भने, ‘वडाध्यक्षले आफ्नै कोठामा ११ महिनादेखि थन्क्याएपछि कुहिएको छ ।’ 

वडाध्यक्ष मोहम्मद मोतिबुल राइनले प्रभावित विपन्नको संख्या यकिन गर्न नसक्दा राहत बाँड्न नसकेको बताए । राहत कम आएको तर विपन्नको संख्या धेरै भएकाले पनि वितरण गर्न नसकिएको उनको दाबी छ । 

‘वडामा प्रभावितको जनसंख्या बढी भएकाले कसलाई दिने र कसलाई नदिने भन्ने समस्या भयो, हामीले बाँड्न सकेनौँ,’ वडाध्यक्ष राइनले भने, ‘खास विपन्न प्रभावित परिवार छुट्याउन पनि नसक्दा वितरण प्रभावित भएको हो ।’ महामारीको समयमा वडा कार्यालय आफैँले पनि राहत वितरण गरेको तर, पछि नामावली संकलन गर्न पनि नसकेको उनले दाबी गरे । 

वास्तविक परिवारको पहिचान हुन नसक्दासम्म वितरण गर्न नसकिने उनले बताए । वडाध्यक्ष राइनले पहिलो चरणमा नगरपालिकाबाट प्राप्त राहत सामग्री वितरण गरिएको दाबी गरे । 

घरेलु तथा साना उद्योग कार्यालय भन्छ– वितरणको भर्पाई आएकै छैन
घरेलु तथा साना उद्योग कार्यालयले राहत बाँडिएकोबारे जानकारी नभएको बताएको छ । कार्यालयका प्रमुख दीपेन्द्र यादवले ५८÷५८ प्याकेट राहत सामग्री जिल्लाका १७ वटै स्थानीय तहमा पठाएको तर वितरण गरिएको भर्पाई अझैसम्म नआएको बताए । ‘छिटो वितरण गरी भर्पाई पठाउन आग्रह गरेको छु,’ कार्यालय प्रमुख यादवले भने, ‘११ महिना पुग्न लाग्दा पनि वितरण गरेको भईपाई बुझाएका छैनन् ।’ वडाहरूमा आफैँले पठाएको राहत सामग्री वितरण नगरी कुहिने अवस्था बनाइँदासमेत घरेलु कार्यालयले अनुगमन नगरेको भन्दै स्थानीयले आलोचना गरेका छन् ।