Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ चैत ५ बिहीबार ०७:१५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमबिबिएस कोटा लिन जानकी मेडिकल कलेजको छल

Read Time : > 2 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ चैत ५ बिहीबार ०७:१५:००

अनुगमन टोलीलाई झुक्याउन अन्तैका चिकित्सक र नक्कली बिरामीको भिड

अन्य दिन सुनसान देखिने जानकी मेडिकल कलेजअन्तर्गत जनकपुरको ब्रह्मपुरीमा सञ्चालित सिटी शिक्षण अस्पताल बुधबार दिउँसो १ बजे चिकित्सक, नर्स र बिरामीले भरिभराउ थियो । तीनतले सो अस्पतालको भवनमा बुधबार ग्राउन्ड तलादेखि माथिका तलासम्म, प्रशासनदेखि विभिन्न वार्डहरूमा चिकित्सक, नर्स र बिरामी खचाखच थिए । तर, न ती चिकित्सक त्यही अस्पतालमा कार्यरत थिए, न बिरामी साँच्चिकैका बिरामी । 

जानकी मेडिकल कलेज र त्यसमातहत सञ्चालनमा रहेका अस्पतालहरूको निरीक्षण तथा अनुगमनमा गएको चिकित्सा शिक्षा आयोगको अनुगमन टोलीलाई छल्न बाहिरका चिकित्सक जम्मा पारिएको थियो भने नक्कली बिरामी खडा गरिएको थियो । बुधबार चिकित्सक शिक्षा सेवा आयोगबाट डा. शिवेन्द्र झा नेतृत्वको टोली जानकी मेडिकल कलेजको अनुगमन तथा निरीक्षणमा गएको थियो । 

अन्यत्र कार्यरत चिकित्सक देखाएर छली
डा. आरसी दासले कलेज छाडेको एक वर्ष भइसकेको छ । विगतमा उनी अस्पतालको मेडिसिन विभागमा कार्यरत थिए । तर, बुधबार टोलीले कलेजको अनुगमन गरिरहँदा उनी अस्पतालमै झुल्किए । डा. राकेश पण्डित स्थानीय जानकी हेल्थ केयर एन्ड शिक्षण अस्पतालमा कार्यरत छन् । तर, आयोगको टोलीले अनुगमन गर्दा उनी पनि टोलीसँगै थिए । आयोगले मेडिकल कलेजको अनुगमन तथा निरीक्षण गरी विद्यार्थीको सिट संख्या निर्धारण गर्ने भएकाले यसो गरिएको थियो । भौतिक पूर्वाधार र सेवाको हिसाबमा धराशायी बन्दै गए पनि जानकी मेडिकल कलेजले टोलीलाई यसरी प्रभावित पार्न खोजेको थियो । 

कलेज प्रशासनले बुधबार टोलीलाई मेडिसिन विभागमा नौ डाक्टर कार्यरत रहेको देखायो । डर्माटोलिजमा पाँच, डेन्टलमा चार, इमर्जेन्सी मेडिसिनमा पाँच, इन्ट्री विभागमा ६, अर्थोपेडिकमा १०, ओर्थोलोजी विभागमा पाँच, गाइनोमा १०, रेडियोलोजीमा आठ, सर्जरीमा आठ, परामेडिकमा आठ र अन्य दुई गरी ८० जना एमडी चिकित्सक कार्यरत रहेको देखायो । कलेजमा आँखा विभागमा प्राध्यापकका रूपमा डा. दामोदर प्रधानको नाम उल्लेख थियो । जब कि डा. प्रधान मेडिकल कलेज छाडेर लामो समयदेखि जानकी हेल्थ केयर एन्ड शिक्षण अस्पताल जनकपुरमा र आफ्नै निजी क्लिनिकमा कार्यरत छन् । सोही विभागका डा. राजनकुमार लाभ आफ्नै अलग अस्पताल सञ्चालन गरेर बसेका छन् । 

त्यसैगरी, गाइनो विभागमा भारतीय चिकित्सक पृष्पा सूर्य प्रकाश पुन्सी भारत नागपुरमा काम गर्दै आएका छन् । तर, आयोगबाट बुधबार टोली आउँदा उनी पनि अस्पतालमै थिए । कलेज प्रशासनले तीन–चार दिनअघि आयोगको टोलीलाई देखाउन डा. पुन्सीलाई भारतबाट बोलाई जनकपुरको एक टोलमा राखेको छ । कलेज प्रशासनले डा. पुन्सीसँगै रेडियोलिस्ट दिलीपकुमारसहित करिब एक दर्जन भारतीय चिकित्सकलाई जनकपुरको एक होटेलमा बस्ने व्यवस्था मिलाएका छन् । 

त्यसैगरी, कलेजले डा. विनोदकुमार दाहाल करिब पाँच वर्षअघि नै जानकी मेडिकल कलेज छाडी काठमाडौंको एक अस्पतालमा कार्यरत छन् । तर, कलेज प्रशासनले मेडिसिन विभागमा डा.दाहालको नाम देखाएका छन् । यसरी कलेज प्रशासनले काम नै नगरेका चिकित्सकहरूको नाम प्रयोग गरी आयोगलाई फर्जी चिकित्सक देखाएको छ । कलेज प्रशासनले अनुगमनको क्रममा देखाउन चिकित्सकहरूलाई ठूलो आर्थिक लाभ दिएर बोलाउने गरेका छन् । 

त्यसैगरी, चिकित्सकलाई पनि आफ्नो स्तरोन्नतिका लागि शिक्षण गराउनैपर्ने प्रावधान रहेकाले उनीहरू बाध्य भएर पनि मेडिकल कलेजहरूसँग जोडिने गरेका छन् । एमडी गरेका एक चिकित्सकलाई प्रोफेसर हुन १० वर्ष लाग्छ । ती १० वर्षमा पाँच वर्षको अन्तरालमा दुईवटा थेसिस र १० वर्ष कलेज र अस्पतालमा काम गरेको हुनुपर्छ । एक चिकित्सकले भने, ‘यदि कुनै एमडी गरेका चिकित्सकले नियमित रूपमा कुनै कलेज वा अस्पतालमा अध्यापन र सेवा दिएका छैनन् भने उनी नियमले प्रोफेसर हुन सक्दैनन् । त्यसकारण पनि चिकित्सकहरू कलेजसँग जोडिनु बाध्यता हुन्छ ।’ 

०६० मा स्थापित जानकी मेडिकल कलेज पछिल्लो एक दशकदेखि धरासयी हुँदै आएको छ । ‘कलेजको सुरुवाती अवस्थामा काम गरेका चिकित्सकहरूका नाम प्रयोग गरी कलेज प्रशासनले नेपाल मेडिकल काउन्सिल, चिकित्सक शिक्षा सेवा आयोगलाई झुटो र नक्कली विवरण बुझाउँदै आएको छ,’ स्रोतले भन्यो, ‘कलेज प्रशासनले एमडी गरेका करिब ८० चिकित्सक आफूहरूसँग काम गरिरहेको दाबी गरेको छ । तर, व्यवहारमा १० जना पनि सो स्तरका चिकित्सक छैनन् । एमबिबिएस डाक्टरहरूलाई राखेर जसोतसो अस्पताल चलाइरहेका छन् ।’ 

करिब एक महिनाअघि आइओएम कार्यालयबाट कलेज अनुगमन गरिएको थियो । अनुगमनका क्रममा भौतिक पूर्वाधार, चिकित्सक तथा बिरामीको अभाव देखिएकाले कलेजले अध्यापन गराउँदै आएको बिएस्सी नर्सिङ, बिएमएलटी, बिएजिटीलगायतका कोटा काटिएको थियो । गत वर्षदेखि कलेजको एमबिबिएस, पिसिएल नर्सिङ र बिएस्सी नर्सिङको कोटासमेत काटिएको छ । अहिले कलेजमा एमबिबिएसको पहिलो र दोस्रो वर्षका विद्यार्थी छैनन् । तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी मात्रै छन् । आयोगबाट गरिएको अनुगमन टोलीले तयार पार्ने प्रतिवेदनका आधारमा मात्रै कलेजले विद्यार्थीको सिट पाउने भएपछि कलेज प्रशासनले लाखौँ रुपैयाँ खर्चेर एमबिबिएसका विद्यार्थीको सिट पाउनेतिर लागेको छ । यस सम्बन्धमा कलेज प्रशासक डिन झाले प्रतिक्रिया दिन मानेनन् ।