१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
दिपेश शाही काठमाडाैं
२०७७ चैत ५ बिहीबार ०७:०३:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हामीलाई कारबाही गर्न ओलीसँग नैतिक साहस छैन : अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष

अन्तर्वार्ता

Read Time : > 3 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७७ चैत ५ बिहीबार ०७:०३:००

पार्टीको अध्यक्षको हिसाबले प्रधानमन्त्री ओलीले भेलालाई स्थगन गर्न भन्नुभएको थियो । तर, तपाईंहरूले भेला स्थगित गर्न किन आवश्यक ठान्नुभएन?

भेला आयोजना गर्नु हाम्रो बाध्यता हो । किनभने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि अध्यक्षको नाताले हामीलाई जे व्यवहार गर्नुपर्ने हो, उहाँले त्यो गर्नुभएन । उहाँले एक ठाउँमा बसौँ, मिलौँ, मन माझामाझ गरौँ, मिलेर एकढिक्का बनेर जाऔँ, पार्टीलाई अझै बलियो बनाऔँ भनेर भन्नुपर्ने थियो । त्यसको सट्टा उहाँले २८ फागुनमा विधानविपरीत गुटको भेला गरेर हामीलाई पार्टी पदाधिकारीबाट निकाल्नुभयो । योजस्तो अपमान अरू के हुन सक्छ ? माधव नेपाललगायतका नेताले २८ फागुनको निर्णय फिर्ता लिनुस्, तब छलफल गरेर अगाडि जान सकिन्छ भनेर प्रस्ताव गर्नुभएकै हो । तर, उहाँले फिर्ता लिन सकिँदैन, बरु ४–५ गतेको भेला पनि रोक्नुस् भन्नुभयो । यस्तो पनि कुरा हुन्छ ? पार्टी अध्यक्ष भएको नाताले मिलाउनुपर्ने, समझदारी विकास गर्नुपर्ने उहाँले होइन ? खासमा उहाँ मिल्न नै चाहनुहुन्न । एमालेलाई एक बनाएर लैजाने उहाँको कुनै चाहना छैन । बाहिर खाली देखावटी मात्रै हो । एकता चाहेको भए हामी एक ठाउँ बसौँ भनेर तुरुन्तै बैठक बोलाउनुपर्ने होइन र ? 

सर्वोच्च अदालतको आदेश मान्न तपाईंहरूलाई असहज लागेको हो ? 
सर्वोच्च अदालतको आदेश त मान्यौँ नि ! जे–जे भए पनि एकै ठाउँ बस्नुपर्छ भनेर फर्किएका हौँ । उहाँले पनि अदालतको निर्णय त मान्नुपर्‍यो नि ! २८ फागुनको गुटको भेलाबाट गरेको निर्णय गलत र अवैध हो । हामी त महाधिवेशनबाट निर्वाचित हो । विधान मिचेर कसरी निर्णय गर्न मिल्छ ? उहाँको मुखको भरमा अध्यक्ष र महासचिवचाहिँ टिकाउने, अनि हामीलाई चाहिँ निकाल्ने ?  

तर, भेला आयोजना भयो भने कारबाही गर्ने भन्नुभएको छ नि ?
कारबाही गरेर देखाउनुस् न त । पार्टीमा यति ठूलो पंक्ति छ, इमानदार छ, अनुशासित छ, जिन्दगीभर लागेको, ओलीलाई यहाँसम्म पु¥याउने काम गरेको छ । अनि त्यो पंक्तिलाई चाहिँ कारबाही गर्ने ? मैले भनेको मानेन भनेर कारबाही गर्ने । हाम्रो गल्ती के छ ? उहाँ एकदमै गुटगत मानसिकता भएको, गलत सोच भएको मान्छे हो । उहाँसँग कम्युनिस्टको चरित्र र संस्कार छैन । हामी बाध्य भएर यो गरिरहेका छौँ । केन्द्रीय कमिटीमा पदाधिकारी र सदस्यमा मात्रै होइन, जिल्ला र तल्ला तहसँग विदेशमा पनि हाम्रो वर्चस्व छ । हाम्रो बहुमत छ । सदस्यहरूको कुरा गर्ने हो भने हामी बहुमतमा छौँ । अनि हामीले उहाँहरूको भविष्य अन्धकार बनाउने ? हामीले जे–जे पर्छ–पर्छ भनेर भेला गरेका हौँ । आज एउटै पार्टीमा एकले अर्कोलाई चिन्दै नचिनेको जस्तो अवस्था छ । हिजो हामीले कति प्रशिक्षण, भेला र कार्यक्रम गथ्र्यौं । अहिले त उहाँहरूले संगठनलाई यति कमजोर बनाउनुभयो कि एकले अर्कोलाई चिन्दै नचिनेको जस्तो छ । उहाँ शून्यको स्थितिमा झारेर सबैलाई कमजोर बनाउने, पार्टी पनि सिध्याउने र जनलोकतन्त्र पनि सिध्याउने बाटोमा जानुभएको छ । अनि हामी चुपचाप बस्न मिल्यो त ? हाम्रो पनि योगदान छ, दुःख गरेर आएको हो । माधव नेपाल, झलनाथ खनाललगायत सबै पुराना नेताहरू मञ्चमा हुनुहुन्थ्यो । 

भोलि उहाँले संसदीय दलको बैठक पनि बोलाउनुभएको छ । तपाईंहरूलाई अनुशासनको कारबाही गर्न मिल्ला नि ? 
उहाँले गुटको भेला गर्न, मनपरी गर्न कसरी मिल्छ ? उहाँलाई पहिले अनुशासनको कारबाही लाग्छ होला नि ? उहाँलाई सबैभन्दा पहिले अनुशासनको कारबाही गर्नुप¥यो । अध्यक्षले मनपरी गर्ने कहाँ लेखेको छ ? विधानमा देखाउनुपर्‍यो नि । हामीले के गरेका छौँ र ? हामीले गलत काम गरेका छैनौँ । पंक्तिबद्ध होऔँ, आन्दोलनलाई जोगाऔँ, इमानदार पंक्तिलाई गोलबद्ध गरौँ भन्या हो । आजै पनि २८ फागुनको निर्णय फिर्ता लिएर उहाँले यो भेलामा आएर सम्बोधन गरेको भए कार्यकर्ता खुसी हुन्थे । तर, उहाँमा चाहना छैन । अब हेरौँ उहाँ कति सच्चिने हो ? 

ओलीले त पार्टीभित्र गुटबन्दी गर्ने, भेला गर्नेलाई कारबाही गर्ने भन्नुभएको छ । त्यसरी त अब एमाले पनि एक भइरहने कुरामा प्रश्न उठ्न थाल्यो नि ? 
होइन, अहिलेसम्म पार्टीमा सधैँ गुटबन्दीको नाइके त केपी ओली नै हो । उहाँले पार्टीका नेताहरूलाई अथाह पीडा दिनुभएको छ । मदन भण्डारी, सिपी मैनाली, झलनाथ खनाल र माधव नेपाल कसलाई दुःख दिनुभएन ? जहिल्यै पनि गुटबन्दी गरेर मनपरी ढंगले व्यवहार गरेर दुःख दिने काम त उहाँले नै गर्दै आउनुभएको हो । त्यसैले गुटबन्दी आफूले गर्ने, आसेपासे भेला गर्ने अनि कारबाहीको कुरा गर्ने ? उहाँका मान्छे हेर्नुस् न, कसकसलाई बोक्नुभएको छ । 

अध्यक्षले कारबाहीको प्रक्रिया अघि बढाउनुभयो भने पार्टी एकता रहिरहन्छ त ?
उहाँले त्यस्तो गर्नुहुन्न । उहाँले हामीलाई कारबाही गर्ने हिम्मत नै छैन । हामीलाई कारबाही गर्न उहाँमा नैतिकता पनि हुनुपर्‍यो । उहाँसँग नैतिकता छ त ? कारबाही गर्न सक्ने हिम्मत छ त ? उहाँले नैतिकवान् भएर आफ्नो काम कारबाही अगाडि बढाउनुभएको छ ? कम्युनिस्ट पार्टीमा अध्यक्षले भनेको जे पनि मान्नुपर्ने छ र ? त्यसैले त्यस्तो हुँदैन । गलत गर्छ भने हामीले अध्यक्षलाई पनि कारबाही गर्न सक्छौँ । 

अब एमाले एक रहने उपाय के हो ?
हामीले धेरै भनेकै छैनौँ, चाहेको एकता नै हो । हामी एमाले बनाउनकै लागि फर्किएका हौँ । त्यसका लागि त उहाँले २८ गतेको निर्णय फिर्ता लिनैपर्छ । फिर्ता भयो भने बल्ल छलफल गर्न सकिन्छ । होइन भने त अगाडि बढ्नुपर्ने हुन्छ । 

भेलाबाट फर्किंदा कार्यकर्ताहरू कस्तो मनोविज्ञान लिएर फर्किएलान् ?
उहाँहरू एकदम स्पष्ट र प्रस्ट हुनुहुन्छ । आज पनि धेरै कार्यकर्तासँग भेट भयो, उहाँहरू विचलित हुनुहुन्न । उहाँहरू खुसी हुनुहुन्छ, ठीक वेलामा बोलाउनुभयो भन्नुभएको छ । किनभने उहाँहरूले पनि जीवन बिताउनुभएको छ पार्टीमा । पार्टी र आन्दोलन भन्दाभन्दै उमेर त गयो । त्यसैले उहाँहरू स्पष्ट हुनुहुन्छ कि ओली सच्चिनैपर्छ । होइन भने उहाँ एक्लै भएर अघि बढे हुन्छ । उहाँ सच्चिएर आउनुपर्छ, हामी मान्छौँ । अध्यक्ष मानेकै छौँ, फेरि पनि मान्छौँ साथीहरूले प्रस्ट भन्नुभएको छ । हाम्रो आदरणीय नेता माधवकुमार नेपाल हुनुहुन्छ, झलनाथ खनाल हुनुहुन्छ । उहाँहरू पार्टीको इतिहास हो । पार्टीको संस्थापन भनेको जम्मा चारजना हुनुहुन्छ । ओली त होइनन् । उहाँले जतिसुकै फुर्ती गरे पनि उहाँसँग दम छैन । सबै गतिविधि हेर्ने हो भने उहाँ कम्युनिस्ट विचारबाटै च्यूत हुँदै जानुभएको छ । उहाँले प्रतिगमन किन गर्नुभयो ? गणतन्त्र, लोकतन्त्र र संविधानमाथि किन आक्रमण गर्नुभयो ?