Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दिपेश शाही काठमाडौं
२०७७ चैत ५ बिहीबार ०६:१४:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

खनाल–नेपाल समूहको राष्ट्रिय भेला, प्रधानमन्त्री ओलीमाथि प्रहार

Read Time : > 4 मिनेट
दिपेश शाही, काठमाडौं
२०७७ चैत ५ बिहीबार ०६:१४:००

सत्तारुढ एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई अहिलेको राजनीतिक समस्याको मूल कारक बताएको छ । आफ्नो स्वार्थका लागि उनले राष्ट्रपति कार्यालयलाई समेत दुरुपयोग गरिरहेको दाबी यो समूहको छ । बुधबारदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा पनि नेताहरू ओलीविरुद्ध आक्रामक ढंगले प्रस्तुत भए । भेलामा प्रस्तुत गरिएको अवधारणापत्रमा पनि ओलीमाथि दर्जनौँ आरोप छन् ।

भेलालाई सम्बोधन गर्दै नेता माधव नेपालले ओलीको अहंकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको बताए । ‘सबै समस्याको जरो भनेको केपी ओलीमा भएको अहंकार, व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहना हो । उहाँलाई इमानदार कार्यकर्ता चाहिएको छैन । आलोचना र सुझाब मन पर्दैन । यी सबै चिजले समस्या खडा गर्‍यो,’ उनले भने । 

माओवादी केन्द्रसँग एकीकरण गर्ने वेला ओलीले जनताको बहुदलीय जनवादमा अडान नलिएको, तर अहिले जबजको हिमायतीका रूपमा प्रस्तुत हुने गरेको नेता नेपालको भनाइ थियो । ‘ओलीले जबज सिध्याउने काम गर्नुभयो र समाजवादउन्मुख जनताको जनवाद मान्नुभयो । जबजको बारेमा कहीँ अडान लिनुभएन । खुसुक्क हटाउनुभयो । अनि हामीलाई त्यो थोपर्ने काम गर्नुभयो,’ उनले भने, ‘आज ओली जनताको बहुदलीय जनवादको बडो हिमायती भएर आफूलाई प्रस्तुत गर्नुहुन्छ । मदन भण्डारीको बिरासत आफूले थामेको भनेर नक्कली कुरा गर्न खोज्नुभएको छ ।’ 

सहमतिको रटान लगाउने, तर स्वेच्छाचारी व्यवहार गर्ने र जबजको नारा लगाउँदै निरंकुशता देखाउने प्रवृत्ति ओलीमा रहेको नेता नेपालको भनाइ थियो । प्रधानमन्त्री ओलीले विदेशीहरूको सेवा मात्रै गरेको उनको आरोप छ । आफूहरूको लडाइँ पदका लागि नभएर नीति र सिद्धान्तका निम्ति रहेको उनले बताए ।

वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गरेको आरोप लगाए । ‘ओलीले २८ फागुनमा बालुवाटारमा गुट बैठक राखेर जुन ढंगले एकलौटी रूपमा निर्णयहरू गर्नुभयो, त्यो निर्णय पार्टी विधान र सोचअनुरूप छैन । महाधिवेशनले गरेको निर्णयअनुसार पनि छैन,’ उनले भने, ‘ओलीले हाम्रो पार्टीलाई विभाजनतर्फ, विघटनतर्फ र विसर्जनतर्फ लिने दुष्प्रयास गर्नुभएको छ ।’ ओली दक्षिणपन्थी अवसरवादी बाटोमा हिँडेको उनको आरोप थियो । 

एमाले र माओवादी केन्द्रलाई एकताबद्ध बनाउने जिम्मेवारी भए पनि अध्यक्ष ओलीले उल्टै एकतालाई भंग गर्ने काम गरेको नेता खनालले बताए । ‘हामीले दुई–तीन महिनाभित्र पार्टी एकीकरण सम्पन्न गरिसक्ने भनेका थियौँ । तर, तीन महिना त परै जाओस् तीन वर्ष पुग्दा पनि पार्टी एकीकरण हुन सकेन । आखिर त्यो पार्टी जुन ढंगले एकीकृत भएको थियो त्यसलाई बचाउन पनि सकिएन,’ उनले भने, ‘केपी ओलीले जुन ढंगले तीन वर्ष नेतृत्व गर्नुभयो, त्यो वास्तवमा दक्षिणपन्थी अवसरवादी बाटोतर्फ गयो । पार्टीका कार्यदिशा, नीति, सिद्धान्तअनुरूप भएनन् । पार्टी दक्षिणपन्थी भड्काउमा भासिँदै गयो ।’ 

अवधारणापत्र पनि उस्तै आक्रामक
भेलाको उद्घाटन सत्रमा नेताहरूले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको जति चर्को आलोचना गरे त्यति नै आक्रामक अवधारणापत्र पनि छ, जसमा ओली कार्यकालको समीक्षासहित चर्को आलोचना गर्दै राजीनामा माग गरिएको छ । 

ओलीले वामपन्थीको अद्वितीय बहुमत भएको संसद् विघटन गरेको, कम्युनिस्ट एकता जोगाउन अनेकौँ प्रयत्न गर्दा पनि नियोजित रूपमा विभाजन गर्न अघि बढेको, अदालतको आदेशले दुई पार्टी अलग गर्दा पनि हर्षबढाइँ गरेर एकताबद्ध नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई आफ्नो गुटको विजय र अरूको पराजयका रूपमा प्रचार गराएको अवधारणापत्रमा उल्लेख छ । 

त्यस्तै, २८ फागुनमा बालुवाटारमा गरिएको आफ्नो गुटको भेलालाई एमालेको केन्द्रीय कमिटीको बैठक भनेर वक्तव्य जारी गरेको र सुनियोजित ढंगले पार्टी विभाजन गर्न अघि बढेको, अघिल्लोपटक ओलीले सहमतिको पालना नगरेकै कारण एमाले सरकारबाट बाहिरिनुपरेको दाबी पनि अवधारणापत्रमा गरिएको छ । ओलीका कारण माओवादीसँग एमालेको तिक्तता बढ्दै गएपछि स्थानीय तहको निर्वाचनमा माओवादीले कांग्रेससँग तालमेल गर्ने अवस्था बनेको र जसले गर्दा वामपन्थी आधार बलियो बन्ने अवसर गुमाएको निष्कर्ष अवधारणापत्रमा छ ।

निर्वाचनको परिणामबाट वामपन्थी सरकारको प्रधानमन्त्रीका रूपमा अध्यक्ष ओलीको पुनरागमनले मुलुकलाई आशा जगाए पनि उनमा भने झन् बढी एक्लै निर्णय गर्ने कार्यशैली बढेको र जनमतको दुरुपयोग गर्दै पार्टीमा बलमिच्याइँ गरेको नेपाल समूहको ठहर छ । 

त्यस्तै, प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थका लागि राष्ट्रपति कार्यालयलाई समेत दुरुपयोग गरिरहेको आरोप पनि अवधारणापत्रमा लगाइएको छ । आफू अल्पमतमा पर्ने कुनै बैठक वा कमिटीलाई स्वीकार नगर्ने, बरु पार्टीलार्ई घुँडा टेकाएर शासन गर्ने प्रवृत्ति ओलीमा रहेको अवधारणापत्रमा उल्लेख छ ।

सरकारले गर्ने राजनीतिक नियुक्तिमा गुटका सदस्यहरू भर्ती गर्ने, पार्टी स्थायी कमिटीको बैठकमा फिर्ता लिन्छु भनेको अध्यादेशकै आधारमा गुटका विश्वासपात्रहरूलाई भर्ती गर्ने र पार्टी, सरकार तथा अन्य संवैधानिक निकायलाई आफ्नो नियन्त्रणमा लिने ध्याउन्नमा प्रधानमन्त्री लागेको आरोप पनि अवधारणापत्रमा लगाइएको छ । 

त्यस्तै, एकीकरण प्रक्रियालाई सुनियोजित रूपले ढिला गरेर जिल्लासम्मको नेतृत्व मनमौजी तोकेको, नवौँ महाधिवेशनमा केपी ओलीको पक्षमा नरहेकाहरूलाई काम नदिने, एक्ल्याउने र अपमानित गर्ने, आफू नै सरकार र आफू नै पार्टी हो भन्ने स्थापित गर्न केन्द्रित रहेको आरोप पनि ओलीमाथि लगाइएको छ ।

भेलापछि देशव्यापी समानान्तर गतिविधि गरिने
नेपाल–खनाल समूहले काठमाडौंमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्ययोजना बनाउने भएको छ । भेलाबाट जनवर्गीय संगठनका राष्ट्रिय सम्मेलनदेखि विभिन्न संघर्षका कार्यक्रमसमेत पारित गरिने नेता गंगालाल तुलाधरले बताए । 

भेलाको पहिलो दिन सहभागीलाई १० समूहमा विभाजन गरेर समूहगत छलफल सुरु भएको छ । समूहबाट आएका सुझाबलाई एकीकृत गरी बिहीबारको बैठकमा प्रस्तुत गर्ने र त्यसैको आधारमा आगामी तीन महिनाको कार्ययोजना बनाउने भेलाको कार्यतालिका छ । राष्ट्रिय भेलामा देशभरका करिब चार हजार नेता–कार्यकर्ता सहभागी रहेको नेपाल–खनाल पक्षको दाबी छ । 

समूहगत छलफलका सात बुँदा

१) कार्यक्षेत्रमा हाम्रो पक्ष र अन्य पक्षको संगठनात्मक र प्रभावको स्थिति कस्तो छ ? केपी गुटले सिर्जना गरेका बाधा–अवरोधलगायतका क्रियाकलाप कस्ता छन् ?

२) पार्टी कमिटी र जनसंगठन तथा पेसागत संगठनहरूलाई अहिलेको स्थितिमा कसरी अगाडि बढाउन उचित होला ?

३) पार्टीभित्र उत्पन्न अन्तरविरोध र समस्याको समाधान कसरी गर्नु उचित होला ? केपी गुटले कारबाहीको नाममा एकपक्षीय गुटगत भेलाबाट गरेका निर्णयहरूलाई कसरी लिने र आगामी दिनमा हुन सक्ने त्यस्ता कामकारबाहीप्रति कस्तो प्रतिक्रिया जनाउने ? केपी गुटले विभाजनको दिशा लिइरहेको स्थितिमा कसरी अगाडि बढ्ने ?

४) वर्तमान राजनीतिक परिस्थितिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरूको सञ्चालनमा हामीले कस्तो भूमिका खेल्ने ? अन्य राजनीतिक दलहरू, विशेषतः माओवादी केन्द्रलगायतका वामपन्थी पार्टी वा समूहहरूसँग एकता र सहकार्यका लागि के गर्नु उचित हुन्छ ?

५) एमालेलाई विधान, विधि र पद्धतिसम्मत किसिमले चलाउँदै यसको एकतालाई कायम राख्न के गर्नु उचित हुन्छ र के गर्न सकिन्छ ?

६) पार्टी संगठन, जनसंगठनहरूको सञ्चालन तथा केपी गुटबाट भइरहेका कामकारबाही तथा तिनको सम्बन्धमा अन्य केही सान्दर्भिक जानकारी र सुझाब भए उल्लेख गर्ने ।

७) अन्य राजनीतिक दल र शक्तिहरूका ध्यान दिइनुपर्ने सान्दर्भिक गतिविधिबारे ।

ओली पक्षले दलको बैठक बोलायो, नेपाल पक्ष नजाने

प्रधानमन्त्री केपी ओलीले बिहीबार संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । एमाले सांसद विशाल भट्टराईले दलको नियमित प्रक्रियाअनुसार बैठक बस्न थालेको बताए । 

‘११ बजे प्रधानमन्त्रीनिवासमा संसदीय दलको बैठक डाकेका छौँ । संसद् चलिरहेको वेला दलको बैठक नियमित प्रक्रिया हो,’ उनले भने । संसद्मा कसरी प्रभावकारी रूपमा उपस्थित हुने भन्नेबारेमा बैठकमा छलफल हुने भट्टराईले बताए । 

दलको बैठकमा जान्नौँ : योगेश भट्टराई

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले डाकेको दलको बैठकमा माधव नेपाल समूह नजाने भएको छ । कार्यव्यस्तताका कारण दलको बैठकमा उपस्थित हुन नसक्ने योगेश भट्टराईले जानकारी दिए ।

बुधबार कार्यकर्ता भेलापछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘प्रधानमन्त्री र हाम्रो संसदीय दलको सचिवालयलाई नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आयोजना भइरहेको छ । र, यसमा पार्टीका अधिकांश नेता, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्यको सहभागिता छ भन्ने जानकारी नभएको होइन ।

हामीलाई संसदीय दलको बैठकमा जानका लागि कुनै समस्या छैन । हामी जान्छौँ, दलको बैठकमा आपत्ति होइन । तर, प्रधानमन्त्रीलाई विनम्रताका साथ कार्यव्यस्तताले संसदीय दलमा उपस्थित हुन सक्दैनौँ भनेर बताएका छौँ ।’ अन्य अनुकूल समयमा डाकिएको दलको बैठकमा उपस्थित हुने उनको भनाइ थियो । ‘अनुकूल समयमा डाकिने संसदीय दलको बैठकमा हामी भाग लिन्छौँ,’ उनले थपे ।