मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ चैत ४ बुधबार ०९:३९:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

माघ महिनायता  १० राउटेको मृत्यु 

Read Time : > 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ चैत ४ बुधबार ०९:३९:००

गत माघ महिनामा राउटेको कुल जनसंख्या एक सय ५६ थियो । त्यसयता १० जनाको मृत्यु भएको छ । हाल एक सय ४६ जना छन् ।

कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको जनसंख्या घट्दै गएको छ । गत माघ महिनायता १० जनाको मृत्यु भएको छ । लोपोन्मुख अवस्थामा रहेका राउटेको चिसोका कारणले मृत्यु भएको अनुमान गरिएको छ ।

दैलेखको गुराँस गाउँपालिका र सुर्खेतको चिङगाड गाउँपालिकामा बसोवास गर्दा दशजनाको मृत्यु भएको दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए । ‘गत माघ महिनामा राउटेको कुल जनसंख्या एक सय ५६ थियो । त्यसयता १० जनाको मृत्यु भएको छ । हाल एक सय ४६ जना छन्,’ उनले भने, ‘त्यसबीचमा चार शिशुको जन्म भएको छ ।’ 

मृत्यु हुनेमा एक युवक रहेको र बाँकी बालबालिका रहेको गाउँपालिका अध्यक्ष वलीले बताए । ‘उनीहरूलाई हाम्रो गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । त्यसैले जन्म, मृत्युबारे उनीहरूले यहाँ जानकारी दर्ता गराउँछन्,’ अध्यक्ष वलीले भने । 

हाल सुर्खेत लेकबेँसी नगरपालिकाको ७ र ८ नम्बर वडामा उनीहरू बसिरहेका छन् । कसैको मृत्यु भएपछि अन्यन्त्र बसाइसराइ गर्ने चलन रहेको राउटे अभियन्ता नगेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए । ‘चिसो मौसमयता बालबालिकाको मृत्यु बढेपछि उनीहरूले दैलेखको गुराँस गाउँपालिका र सुर्खेतको चिङगाड गाउँपालिकाका धेरै ठाउँमा बसाइँसराइ गरे,’ उनले भने, ‘चिसो मौसममा अधिकांश बालबालिकामा निमोनिया देखिने गरेको छ । तर, बिरामी पर्दा पनि उनीहरू औषधोपचार गराउँदैनन् । त्यसैले मृत्यु बढेको हो ।’

राउटे अभियन्ता उपाध्यायका अनुसार हाल राउटे महिलाको संख्या ६९ छ भने पुरुषको संख्या ७७ छ । तीमध्ये शिशुदेखि पाँच वर्षसम्मका २३ जना, पाँचदेखि १० वर्षसम्मका २४ जना, १० देखि १५ वर्षसम्मका १५ जना, १५ देखि २० वर्षसम्मका ११ जना, २० वर्षभन्दा माथिका ७३ जना छन् । एकल महिलाको संख्या ११ छ । 

मदिरा सेवन समस्या बन्दै
राउटे समुदायमा मदिरा सेवन ठूलो समस्या बन्दै गएको छ । महिला र पुरुष दुवैमा मदिराको लत रहेको अभियन्ताहरू बताउँछन् । मदिरा सेवन छुटाउन अनेक प्रयास गर्दा पनि नसकेपछि कर्णाली प्रदेश सरकारले प्रहरी परिचालन नै गर्ने तयारी गरेको छ । जनसंख्या न्यूनीकरणको प्रमुख कारण मदिरा सेवन भएको बताउँदै कर्णाली प्रदेश सरकारले प्रहरी परिचालन गर्ने तयारी गरेको हो । 

मदिरा सेवन नियन्त्रण गर्न र बस्तीको सुरक्षा गर्न प्रदेश सरकारले प्रहरी परिचालन गर्न लागेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘राउटे समुदायमा मदिरा नियन्त्रण गर्न आवश्यक देखिइसकेको छ । त्यसैले निगरानी गर्ने गरी प्रहरी राख्ने तयारी थालिएको छ,’ उनले भने, ‘राउटे समुदायलाई मदिरा बिक्री गर्नेमाथि कारबाही गर्न पनि प्रहरी परिचालन गर्न लागेका छौँ ।’

दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले पनि राउटे समुदायमा मदिरा सेवन समस्या बनेको बताए । ‘हामीले मदिरा नियन्त्रणका लागि धेरै प्रयास गर्‍यौँ,’ उनले भने, ‘जति सम्झाउँदा, बुझाउँदा पनि राउटे समुदायमा मदिरा नियन्त्रण गर्न सकिएन । महिला–पुरुष दुवैमा मदिराको लत बसिसकेको छ ।’