मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ४ बुधबार ०६:३०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल–खनाललाई प्रधानमन्त्रीको चेतावनी– अनुशासनहीन काम भयो भने पार्टीमा विधान छ, संविधान छ, संसद् नियमावली छ, दलसम्बन्धी कानुन छ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ४ बुधबार ०६:३०:००

जहिले पनि भाँडभैलो मच्चाउने हुन सक्दैन 
पार्टी ०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिस छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन्, निहुँ खोजिरहेका छन् । ७ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । उहाँहरू भोलि राष्ट्रिय भेला गर्ने, भेला बोलाउने, राष्ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने रे ! राष्ट्रिय भेलाबाट के–के समानान्तर कमिटी बनाउने रे ! समानान्तर होइन, अर्काे कमिटी बन्ला, कसैले पनि अर्काे पार्टी बनाउँछ कि, कमिटी बनाउँछ कि, त्यो त के गर्न सकिन्छ र ? तर, एउटै पार्टीमा बसेर अबउप्रान्त अराजकता, अनुशासनहीनता, उछृंखलताजस्ता विधि–विधानविपरीतका कामकारबाही तथा एकताविरोधी क्रियाकलापमा छुट हुनेछैन । ती मान्य हुन सक्दैनन् । हामी सहेर बसिरहन सक्दैनौँ । अचाक्ली भो ! पार्टीलाई पार्टीको रूपमा चल्न नदिने, जहिले पनि भाँडभैलो मच्चाउने हुन सक्दैन । 

अनुशासनहीन भयो भने पार्टीमा विधान छ
अब अनुशासनहीन भयो भने पार्टीमा विधान छ, देशको कानुन छ, संविधान छ, संसद् नियमावली छ, दलसम्बन्धी कानुन छ । यी सबैतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु । हामीले खोजेको ‘एनार्किजम’ होइन, एउटा सभ्य, अनुशासित समाज हो । त्यस्तो समाज निर्माण गर्न पार्टी पहिला सही विचारको, सही ढंगले चलेको, एकताबद्ध, अनुशासित र गतिशील पार्टी चाहिन्छ । आफ्ना अहं तुष्टिका लागि, अहंकारका लागि मनपरी गर्दैै हिँड्न कसैलाई पनि छुट हुँदैन र कोही पनि कानुनभन्दा माथि हुँदैन । कानुनका नजरमा सबै समान छन् । ‘डेमोक्रेसी’को आधारभूत पक्ष हो । 

अब फेरि उही धन्दा र सिलसिला चल्दैन
भोलि भेला आयोजना गरेको छ रे, आह्वान गरेको छ रे ! नेकपा एमालेसँग आबद्ध, सम्बद्ध कोही नेता वा कार्यकर्ता गुटगत भेला नगर्न/नगराउन, त्यस्ता भेलामा सरिक नहुन, त्यस्ता भेलामा नजान, त्यस्ता भेलामा सहभागी नहुन सम्पूर्ण नेता–कार्यकर्तालाई सजग/सचेत गराउन चाहन्छु । पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु । यस पार्टीमा कसैमाथि अन्याय हुँदैन । ठुल्ठूला अपराध भएका छन्, तैपनि हामीले फराकिलो हृदय लिएका छौँ । लिन्छौँ फेरि पनि । एकदम अपराध गर्नेलाई पनि स्वागत छ त म भन्दिनँ, तर स्विकार्छौँ हामी । पार्टीमा आउन पाइन्छ, काम गर्न पाइन्छ, आलोचना गर्नुपर्छ र आत्मालोचना गर्नुपर्छ, सच्चिएर काम गर्नुपर्छ । हामी स्विकार्छौँ । तर, फेरि उही धन्दा, उही सिलसिला, त्योचाहिँ चल्दैन । हिजोकै झैँ तमासा बनाउने, जगहँसाइ गर्ने, अनि सञ्चारमाध्यमहरूलाई खेती दिने, बिजनेस दिने, के विषयमा आज कलम चलाउँहोला भनिराखेका वेला फलानो गुटको भेला फलानो ठाउँमा आदि समाचार बन्ने हुन सक्दैन ।

प्रधानमन्त्रीको निमन्त्रणामा नजाने, कसको निम्ता पाए जानुहुन्छ ? 
एकथरी अनुहारका साथी चियापानमा देखिनुभएन । हिजो बेलुका मैले सुनेँ बैठक बसेर निर्णय गर्नुभयो रे– पार्टीको चियापानमा नजाने । कसको चियापानमा चाहिँ पाए जानुहुन्छ ? पार्टी अध्यक्षको, प्रधानमन्त्रीको निमन्त्रणमा नजाने, कसको निम्ता पाए जानुहुन्छ ? हुन त सबैलाई थाहा छ, तर नभनौँ । सबैलाई थाहा छ नि कसको निम्ता पाए जानुहुन्छ ! एकथरी अनुहारहरू देखिएन आज । राम्रो लक्षण होइन । कुनै कारणवश आउन भ्याउनुभएन होला भन्ने म ठान्छु । उहाँहरूले त्यस्तो निर्णय गर्नुभयो भनेको होइन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरू र कति तमासा गर्नुहुन्छ, एक नजरचाहिँ त्यता राखिनेछ । पार्टीलाई धम्क्याएर, घुक्र्याएर ठेगान लगाउँछु भन्ने सोचेको छ भने त्यस्तो होइन, पार्टी विधि–विधान र तरिकाअनुसार चल्छ । नचाहिने कुराका अगाडि लत्रिने कुरा छैन । सत्यसँग नलड्ने, निहुँखोजुवाहरूसँग नझुक्ने हाम्रो नीति हो । सत्यसँग लड्दैनौँ, बेठीक गर्नेसँग झुक्दैनौँ ।

हामी बहकिएर आवेश वा उत्तेजनामा जाँदैनौँ 
हामीले पार्टी, आन्दोलन र संसद्लाई अत्यन्तै मर्यादित, अनुशासित र सदैव सकारात्मक भूमिका, देश र जनताको हितप्रति, लोकतन्त्रप्रति, लोकतान्त्रिक अभ्यास र आचरणप्रति समर्पित भएर मात्रै आचरण गर्छौँ । कसैले हामीलाई बहकाएर आवेश वा उत्तेजनामा ल्याउन खोज्यो भने पनि जाँदैनौँ । हामी संयम, गम्भीर, देश र जनतालाई मन–मस्तिष्कमा राखेर अगाडि बढ्छौँ । त्यसकारण हाम्रा कामकारबाही कसैका प्रति वैरभावयुक्त हुँदैनन्, अहंकारी र उद्दण्ड पनि हुँदैनन् । लाचार पनि हुँदैनन् । हामी सही ढंगले मात्रै अगाडि बढ्छौँ । हाम्रो भूमिका विचारकेन्द्रित, अनुशासित, संगठित र गतिशील हुन्छ । 

एकढंगले पार्टी फुटाइएको थियोे नि ! अध्यक्षलाई निष्कासन गरिएको थियो । महासचिवलाई निष्कासन गरिएको थियो । संसदीय दलको नेताबाट हटाइएको थियो । कहाँबाट हटाएको हो, बाटाबाटाबाट हटाएको ! उहाँहरू पद्धति, विधि (तपाईंहरूले खुब सुन्नुभएको छ) त्यसअनुसार चल्ने मान्छे भएको हुनाले बाटैमा विधि, पद्धति पुर्‍याइदिनुहुन्छ । बाटैमा विधान पुर्‍याइदिनुहुन्छ । बाटैबाट अध्यक्ष निकालिदिनुभयो । बाटै–बाटैबाट दलको नेता हटाइदिनुभयो, उपनेता हटाइदिनुभयो । बाटै–बाटैबाट अनेक आदेश र फर्मान । म त कति बिचरा होला हेर्नुस् त ! साधारण सदस्यबाट समेत निष्कासित । तपाईंहरू कमसेकम पार्टी सदस्य त हुनुहुन्छ होला । देवकोटाको कविताअनुसार भन्ने हो भने जंगलको राज । लक्ष्मीप्रसाद देवकोटाले उहिल्यै एउटा कविता लेखेका थिए– जंगलको राज । जंगलको राज चलाउने, विधि–पद्धतिका कुरा गर्ने, लोकतान्त्रिक मूल्य–मान्यता, प्रक्रिया, विधि–पद्धति, नियम, कानुन, देशको संविधान, केहीको कुनै मतलब छैन, अहंकार, स्वेच्छाचारिता ।

प्रधानमन्त्रीलाई योगेश भट्टराईको जवाफ– हामी एकपछि अर्को कारबाहीका निम्ति तयार र लामबद्ध छौँ

मलाई थाहा छ– प्रधानमन्त्रीले बालुवाटारमा बोलेका कुरा । म उहाँलाई यति मात्रै निवेदन गर्न चाहन्छु, यो बुद्धको देश हो र यहाँ शान्तिको भाषा हुन्छ, शक्तिको भाषा हुँदैन । प्रधानमन्त्रीजी बुद्धको अनुयायी पनि हुनुहुन्छ । बुद्धको अनुयायी पनि भएको प्रधानमन्त्रीको बालुवाटारमा शक्तिको भाषा छ । म विनम्रतापूर्वक भन्न चाहन्छु त्यो भाषा बदल्नुस् र शान्तिको भाषा बोल्नुस् । 

प्रधानमन्त्रीले कारबाहीको कुरा गर्नुभएको छ, कारबाहीले मुलुक र राजनीति अगाडि बढ्दैन । पार्टी अगाडि बढ्दैन । साथै, प्रधानमन्त्रीलाई मेरो निवेदन छ– यो अहंकारपूर्ण अभिव्यक्ति हो । हामीलाई कुनै दुःख छैन, हामी एकपछि अर्को कारबाहीका निम्ति लामबद्ध छौँ । कारबाहीका निम्ति तयार छौँ, त्यसका लागि हामीलाई कुनै पश्चात्ताप हुनेछैन ।

किनभने हामी मुलुक, संविधान र प्राप्त जनसमर्थनको रक्षाका निम्ति उभिएका मान्छे हौँ । हामीलाई त्यसमा कुनै हीनताबोध छैन । तर, तपाईंलाई निवेदन गर्न चाहन्छु, इतिहासको कठघरामा उभिनुभएको छ, तपाईंले धेरै प्रश्नको उत्तर दिनुपर्नेछ ।

जब इतिहासले सोधेका प्रश्नको उत्तर दिन तपाईंं असमर्थ हुनुहुन्छ, त्यो वेला इतिहासले तपाईंलाई कठोर कारबाही गर्छ । सायद त्यो वेला तपाईंका निम्ति दुई थोपा आँसु चुहाउने मान्छे नहुन पनि सक्छन् । त्यो दुःखान्त स्थिति पनि आउन सक्ला । त्यसैले धम्कीका भाषा नबोलौँ, संयमताका साथ अगाडि जाउँ भन्ने हाम्रो आग्रह छ ।