मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दिपेश शाही काठमाडाैं
२०७७ चैत ४ बुधबार ०६:०९:००
Read Time : > 9 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमालेका दुवै पक्षको अडान : कारबाही गर्न र भोग्न तयार

Read Time : > 9 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७७ चैत ४ बुधबार ०६:०९:००

सत्तारुढ एमाले फुटको सम्मुख पुगेको छ । वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूहले बुधबार र बिहीबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ भने अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षले ‘गुटगत भेला’ गरे कारबाहीको डण्डा चलाउने चेतावनी दिएको छ ।

अध्यक्ष ओली पक्ष २८ फागुनमा गरिएको केन्द्रीय सदस्यहरूको मनोनयन, नेताहरूको जिम्मेवारी हेरफेर, विधान संशोधनलगायत निर्णयबाट पछि नहट्ने मनस्थितिमा छ । तर, नेपाल–खनाल पक्षले पार्टी विधानविपरीत निर्णय गरिएको भन्दै खारेज गर्नुपर्ने अडान राखेको छ । राष्ट्रिय भेला नरोक्ने र ७ चैतमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि नजाने बरु समानान्तर कमिटीको अभ्यास गर्ने यो समूहको तयारी छ । 

बालुवाटार र सानेपामा मंगलबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा पनि दुवै पक्षले अडानमा कायम रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा गरेको चियापान कार्यक्रमबाट भेला नरोकिए कारबाही गर्ने चेतावनी दिएलगत्तै अर्को पक्षले प्रतिवाद गरेको छ । भेलाको तयारीबारे जानकारी दिन नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरू कारबाही भोग्न तयार रहेको, तर गलत कदमको मूकदर्शक भएर बस्न नसक्ने र भेला भव्य रूपमा सम्पन्न गर्ने बताए । 

‘भोलि भेला आह्वान गरेको छ रे ! नेकपा एमालेसँग आबद्ध, सम्बद्ध कोही नेता वा कार्यकर्ता गुटगत भेला नगर्न र नगराउन, त्यस्ता भेलामा सरिक नहुन, नजान, सहभागी नहुन म सम्पूर्णलाई सजग र सचेत गराउन चाहन्छु,’ मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘यस पार्टीमा अबउप्रान्त अराजकता, अनुशासनहीनता, उच्छृंखलताजस्ता कुराहरू, विधिविधानविपरीतका कामकारबाही, पार्टीका एकताविरोधी क्रियाकलापलाई छुट हुँदैन । त्यस्ता कुराहरू मान्य हुन सक्दैन । त्यस्ता कुराहरूलाई हामी सहेर बसिरहन पनि सक्दैनौँ ।’ ओलीले बोलाएको चियापान कार्यक्रम नेपाल–खनाल पक्षले भने बहिष्कार गरेको छ । 

पार्टीभित्र केही मानिसले छुट्टै भेला र बैठक गरेर निहुँ खोजिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘पार्टी ०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिसहरू छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन् । निहुँ खोजिरहेका छन् । ७ चैतमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । उहाँहरू राष्ट्रिय भेला गर्ने, भेला बोलाउने, भेलाबाट प्रतिवेदन पास गर्ने रे ! समानान्तर कमिटी बनाउने रे !’ उनले भने, ‘समानान्तर होइन, अर्काे कमिटी बन्ला । कसैले अर्काे पार्टी बनाउँछ कि, कमिटी बनाउँछ त्यसमा के गर्न सकिन्छ र ?’ 

एउटै पार्टीभित्रै बसेर गरिने समानान्तर अभ्यास सह्य नहुने उनको भनाइ थियो । ‘अचाक्ली भो । पार्टीलाई पार्टीका रूपमा चल्न नदिने, जहिले पनि भाँडभैलो मच्चाउने । यो कुरा अबचाहिँ हुन सक्दैन,’ ओलीले भने, ‘अब अनुशासनहीन भयो भने पार्टीमा विधान छ । देशको कानुन छ । संविधान छ । संसद् नियमावली छ । दलसम्बन्धी कानुन छ । यी सबै कुरातर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’

आफूले अराजकता नभएर सभ्य र अनुशासित समाज खोजेको ओलीले बताए । ‘हामीले खोजेको एनार्किजम होइन । हामीले खोजेको एउटा सभ्य र अनुशासित समाज हो । त्यस्तो समाज निर्माण गर्नका लागि पहिला पार्टी सही विचारको, सही ढंगले चलेको, एकताबद्ध र अनुशासित चाहिन्छ,’ उनले भने । त्यसपछि ओलीले लोकतन्त्र र कानुन के हो भनेरसमेत बोले । ‘आफ्ना अहं तुष्टिका लागि, अहंकारका लागि मनपरी गर्दैै हिँड्न कसैलाई पनि छुट हुँदैन । कोही पनि कानुनभन्दा माथि हुँदैन । कानुनका नजरमा सबै समान छन् । ‘डेमोक्रेसी’को आधारभूत कुरा त्यो हो । कानुनका नजरमा सबै समान छन्,’ उनले भने । 

नेपाल–खनाल पक्षका नेताहरू चियापानमा नआएकोमा ओलीले त्यसलाई राम्रो लक्षण नभएको टिप्पणी गरे । ‘कुनै कारणवश आउन भ्याउनुभएन होला भन्ने म ठान्छु । उहाँहरूले त्यस्तो निर्णय गर्नुभयो भनेको कुरा होइन होला भन्ने ठान्छु । अझै केही समय बाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न ? कति तमासा गर्नुहुन्छ एक नजर त्यता राखिनेछ,’ उनले भने, ‘कसैले पार्टीलाई धम्क्याएर, घुक्र्याएर ठेगान लगाउँछु भन्ने सोचेको छ भने त्यस्तो होइन, पार्टी विधिविधान र तरिकाअनुसार चल्छ । नचाहिने कुराहरूका अगाडि लत्रिने कुरा छैन । सत्यसँग नलड्ने, निहँुखोजुवाहरूसँग नझुक्ने, हाम्रो नीति त्यही हो । सत्यसँग हामी लड्दैनौँ, बेठीक गर्नेहरूसँग झुक्दैनौँ ।’

नेपाल–खनाल समूहका नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ओलीको भनाइलाई ‘अहंकारपूर्ण अभिव्यक्ति’ भन्दै आफूहरू कारबाही भोग्न तयार रहेको बताए । ‘कारबाहीले मुलुक र राजनीति अगाडि बढ्दैन, पार्टी अगाडि बढ्दैन । प्रधानमन्त्रीजीको यो अहंकारपूर्ण अभिव्यक्ति हो,’ उनले भने, ‘हामीलाई कुनै दुःख छैन । हामी एकपछि अर्को कारबाहीका निम्ति तयार छौँ, लामबद्ध छौँ । त्यसका लागि हामीलाई कुनै पश्चात्ताप हुनेछैन । किनभने हामी मुलुक, संविधान र प्राप्त जनसमर्थनको रक्षाका निम्ति उभिएका मान्छे हौँ । हामीलाई त्यसमा कुनै हीनताबोध छैन ।’

अहं नत्यागे दुःखान्त स्थिति आउन सक्ने भन्दै भट्टराईले ओलीलाई चेतावनीमिश्रित सुझाब दिए । ‘इतिहासको कठघरामा उभिनुभएको छ । तपाईंले धेरै प्रश्नको उत्तर दिनुपर्नेछ । जब इतिहासले सोधेका प्रश्नहरूको उत्तर दिन तपाईंं असमर्थ हुनुहुन्छ, त्यो वेला इतिहासले तपाईंलाई कठोर कारबाही गर्छ,’ उनले भने, ‘सायद त्यो वेला तपाईंका निम्ति दुई थोपा आँसु चुहाउने मान्छे नहुन पनि सक्छन् । त्यो दुःखान्त स्थिति आउन सक्छ । त्यसैले धम्कीका भाषा नबोलौँ, संयमताका साथ अगाडि जाऔँ, हाम्रो आग्रह छ ।’ 

नेता भट्टराईले उत्तर कोरियाली शासक किम जोङ वुनकी बहिनी किम यो जोङले अमेरिकी राष्ट्रपतिविरुद्ध दिएको ताजा अभिव्यक्तिलाई प्रधानमन्त्री ओलीविरुद्ध कटाक्ष गर्न प्रयोग गरे । ‘उत्तर कोरियाका राष्ट्रपति किम जोङ वुनकी बहिनीले अमेरिकी राष्ट्रपतिलाई भनेको एउटा स्टेटमेन्ट पढेको थिएँ– ह्वाइटहाउसमा चार वर्ष शान्तिका साथ बस्ने हो भने बारुदको गन्ध फैलाउन बन्द गर । त्यो ज्यादै मार्मिक स्टेटमेन्ट छ । म पार्टीको तर्फबाट र प्रतिनिधिसभाको सदस्यका रूपमा पनि सम्माननीय प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु– अब दुई वर्ष तपाईंको बाँकी छ । चयनका साथ बस्नुहोस्, बारुदको गन्ध नफैलाउनुहोस् । यसले तपाईंलाई कहीँ पनि पुर्‍याउँदैन,’ उनले भने । 

भट्टराईले मुलुक निकै संगिन मोडबाट अगाडि बढिरहेका वेला आवेग र उत्तेजनाले दुर्घटना निम्त्याउने भन्दै एमालेका नेता–कार्यकर्तालाई संयमता र धैर्यता अपनाउन आग्रह गरे । उनले प्रधानमन्त्री ओलीलाई बुद्धको देशमा शान्तिको भाषा हुने भन्दै शक्तिको भाषा नबोल्न अनुरोध गरे । ‘नेपाल पक्षको राष्ट्रिय भेलामा को जान्छ नजर राखिने’ भन्दै ओलीले दिएको अभिव्यक्तिको पनि भट्टराईले जवाफ दिए । ‘राष्ट्रिय भेलामा आफ्ना अनुयायीहरूलाई त्यता पनि नजर लगाउनू भनेर भन्नुभएको रहेछ । उहाँको तर्फबाट को–को नजर लगाउन आउनुहुन्छ, परिचयसहित आए हुन्छ । उहाँहरूलाई स्वागत छ,’ उनले भने, ‘यो राष्ट्रिय भेला तपाईंकै हो, तपाईं नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस् । कसैलाई तपाईंले नजर लगाउन खटाउनै पर्दैन । देशभरबाट को–को आएका छन् तपाईं नै हेर्नुहोस् र भेलाको प्रमुख आतिथ्यता ग्रहण गर्नुहोस् । देशभरबाट आएका तपाईंकै कार्यकर्ता र सदस्य हुन् । उनीहरूसँग के भन्न मन छ भन्नुहोस् ।’

मंगलबार साँझ महासचिव ईश्वर पोखरेलले पनि विज्ञप्ति जारी गर्दै राष्ट्रिय भेलामा सहभागी हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । ‘यस्तो अनधिकृत गुटगत भेला नगर्न÷नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमाले सबै नेता–कार्यकर्तालाई विशेष निर्देशन गर्दछ । अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावलीबमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ । 

५ पुसमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेदेखि प्रस्ट रूपमा अलग–अलग बाटो लागेका एमालेका नेताहरू २३ फागुनको सर्वोच्च अदालतको पार्टी आधिकारिकतासम्बन्धी फैसलाले पुनः एकै ठाउँमा आउने परिस्थितिमा पुगेका थिए । तर, २८ फागुनमा ओली पक्षले एकलौटी रूपमा केन्द्रीय सदस्य थप्नेदेखि नेताहरूको जिम्मेवारी हेरफेर गर्नेसम्मका निर्णय गरेपछि दुई खेमाबीच थप दूरी बढेको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा दुवै पक्षका शीर्ष नेताहरूबीच विवाद समाधानका विषयमा छलफल भए पनि कुनै सहमति बन्न सकेको थिएन । 

राष्ट्रिय भेलामा दुई हजार नेता–कार्यकर्ता

नेपाल–खनाल पक्षले बुधबार र बिहीबार गर्ने राष्ट्रिय भेलामा देशभरका करिब दुई हजारभन्दा बढी नेता–कार्यकर्ताको सहभागी हुने भएका छन् । ललितपुरस्थित हेरिटेज गार्डेनमा भेला हुँदै छ । 

भेलाका लागि देशभरका नेता–कार्यकर्ता काठमाडौं आइसकेका छन् । भेलामा जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी, जनवर्गीय संगठनका केन्द्रीय सचिवालयका सदस्यहरू, स्थानीय तहका प्रमुख र उपप्रमुख, संघीय र प्रदेश सांसद, संविधानसभाका सदस्य र पूर्वसांसद, जिल्ला विकास समितिका पूर्वसभापति–उपसभापति र पार्टीको केन्द्रीय निकायमा रहेकाहरू सहभागी हुनेछन् । 

नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, डा. बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र योगेश भट्टराई रहेको पाँच सदस्यीय कार्यदलले भेलामा छलफलका लागि पेस गरिने राजनीतिक अवधारणापत्र तयार पारेको छ ।

नेपाल–खनाललाई प्रधानमन्त्रीको चेतावनी– अनुशासनहीन काम भयो भने पार्टीमा विधान छ, संविधान छ, संसद् नियमावली छ, दलसम्बन्धी कानुन छ

जहिले पनि भाँडभैलो मच्चाउने हुन सक्दैन 
पार्टी ०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिस छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन्, निहुँ खोजिरहेका छन् । ७ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । उहाँहरू भोलि राष्ट्रिय भेला गर्ने, भेला बोलाउने, राष्ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने रे ! राष्ट्रिय भेलाबाट के–के समानान्तर कमिटी बनाउने रे ! समानान्तर होइन, अर्काे कमिटी बन्ला, कसैले पनि अर्काे पार्टी बनाउँछ कि, कमिटी बनाउँछ कि, त्यो त के गर्न सकिन्छ र ? तर, एउटै पार्टीमा बसेर अबउप्रान्त अराजकता, अनुशासनहीनता, उछृंखलताजस्ता विधि–विधानविपरीतका कामकारबाही तथा एकताविरोधी क्रियाकलापमा छुट हुनेछैन । ती मान्य हुन सक्दैनन् । हामी सहेर बसिरहन सक्दैनौँ । अचाक्ली भो ! पार्टीलाई पार्टीको रूपमा चल्न नदिने, जहिले पनि भाँडभैलो मच्चाउने हुन सक्दैन । 

अनुशासनहीन भयो भने पार्टीमा विधान छ
अब अनुशासनहीन भयो भने पार्टीमा विधान छ, देशको कानुन छ, संविधान छ, संसद् नियमावली छ, दलसम्बन्धी कानुन छ । यी सबैतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु । हामीले खोजेको ‘एनार्किजम’ होइन, एउटा सभ्य, अनुशासित समाज हो । त्यस्तो समाज निर्माण गर्न पार्टी पहिला सही विचारको, सही ढंगले चलेको, एकताबद्ध, अनुशासित र गतिशील पार्टी चाहिन्छ । आफ्ना अहं तुष्टिका लागि, अहंकारका लागि मनपरी गर्दैै हिँड्न कसैलाई पनि छुट हुँदैन र कोही पनि कानुनभन्दा माथि हुँदैन । कानुनका नजरमा सबै समान छन् । ‘डेमोक्रेसी’को आधारभूत पक्ष हो । 

अब फेरि उही धन्दा र सिलसिला चल्दैन
भोलि भेला आयोजना गरेको छ रे, आह्वान गरेको छ रे ! नेकपा एमालेसँग आबद्ध, सम्बद्ध कोही नेता वा कार्यकर्ता गुटगत भेला नगर्न/नगराउन, त्यस्ता भेलामा सरिक नहुन, त्यस्ता भेलामा नजान, त्यस्ता भेलामा सहभागी नहुन सम्पूर्ण नेता–कार्यकर्तालाई सजग/सचेत गराउन चाहन्छु । पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु । यस पार्टीमा कसैमाथि अन्याय हुँदैन । ठुल्ठूला अपराध भएका छन्, तैपनि हामीले फराकिलो हृदय लिएका छौँ । लिन्छौँ फेरि पनि । एकदम अपराध गर्नेलाई पनि स्वागत छ त म भन्दिनँ, तर स्विकार्छौँ हामी । पार्टीमा आउन पाइन्छ, काम गर्न पाइन्छ, आलोचना गर्नुपर्छ र आत्मालोचना गर्नुपर्छ, सच्चिएर काम गर्नुपर्छ । हामी स्विकार्छौँ । तर, फेरि उही धन्दा, उही सिलसिला, त्योचाहिँ चल्दैन । हिजोकै झैँ तमासा बनाउने, जगहँसाइ गर्ने, अनि सञ्चारमाध्यमहरूलाई खेती दिने, बिजनेस दिने, के विषयमा आज कलम चलाउँहोला भनिराखेका वेला फलानो गुटको भेला फलानो ठाउँमा आदि समाचार बन्ने हुन सक्दैन ।

प्रधानमन्त्रीको निमन्त्रणामा नजाने, कसको निम्ता पाए जानुहुन्छ ? 
एकथरी अनुहारका साथी चियापानमा देखिनुभएन । हिजो बेलुका मैले सुनेँ बैठक बसेर निर्णय गर्नुभयो रे– पार्टीको चियापानमा नजाने । कसको चियापानमा चाहिँ पाए जानुहुन्छ ? पार्टी अध्यक्षको, प्रधानमन्त्रीको निमन्त्रणमा नजाने, कसको निम्ता पाए जानुहुन्छ ? हुन त सबैलाई थाहा छ, तर नभनौँ । सबैलाई थाहा छ नि कसको निम्ता पाए जानुहुन्छ ! एकथरी अनुहारहरू देखिएन आज । राम्रो लक्षण होइन । कुनै कारणवश आउन भ्याउनुभएन होला भन्ने म ठान्छु । उहाँहरूले त्यस्तो निर्णय गर्नुभयो भनेको होइन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरू र कति तमासा गर्नुहुन्छ, एक नजरचाहिँ त्यता राखिनेछ । पार्टीलाई धम्क्याएर, घुक्र्याएर ठेगान लगाउँछु भन्ने सोचेको छ भने त्यस्तो होइन, पार्टी विधि–विधान र तरिकाअनुसार चल्छ । नचाहिने कुराका अगाडि लत्रिने कुरा छैन । सत्यसँग नलड्ने, निहुँखोजुवाहरूसँग नझुक्ने हाम्रो नीति हो । सत्यसँग लड्दैनौँ, बेठीक गर्नेसँग झुक्दैनौँ ।

हामी बहकिएर आवेश वा उत्तेजनामा जाँदैनौँ 
हामीले पार्टी, आन्दोलन र संसद्लाई अत्यन्तै मर्यादित, अनुशासित र सदैव सकारात्मक भूमिका, देश र जनताको हितप्रति, लोकतन्त्रप्रति, लोकतान्त्रिक अभ्यास र आचरणप्रति समर्पित भएर मात्रै आचरण गर्छौँ । कसैले हामीलाई बहकाएर आवेश वा उत्तेजनामा ल्याउन खोज्यो भने पनि जाँदैनौँ । हामी संयम, गम्भीर, देश र जनतालाई मन–मस्तिष्कमा राखेर अगाडि बढ्छौँ । त्यसकारण हाम्रा कामकारबाही कसैका प्रति वैरभावयुक्त हुँदैनन्, अहंकारी र उद्दण्ड पनि हुँदैनन् । लाचार पनि हुँदैनन् । हामी सही ढंगले मात्रै अगाडि बढ्छौँ । हाम्रो भूमिका विचारकेन्द्रित, अनुशासित, संगठित र गतिशील हुन्छ । 

एकढंगले पार्टी फुटाइएको थियोे नि ! अध्यक्षलाई निष्कासन गरिएको थियो । महासचिवलाई निष्कासन गरिएको थियो । संसदीय दलको नेताबाट हटाइएको थियो । कहाँबाट हटाएको हो, बाटाबाटाबाट हटाएको ! उहाँहरू पद्धति, विधि (तपाईंहरूले खुब सुन्नुभएको छ) त्यसअनुसार चल्ने मान्छे भएको हुनाले बाटैमा विधि, पद्धति पुर्‍याइदिनुहुन्छ । बाटैमा विधान पुर्‍याइदिनुहुन्छ । बाटैबाट अध्यक्ष निकालिदिनुभयो । बाटै–बाटैबाट दलको नेता हटाइदिनुभयो, उपनेता हटाइदिनुभयो । बाटै–बाटैबाट अनेक आदेश र फर्मान । म त कति बिचरा होला हेर्नुस् त ! साधारण सदस्यबाट समेत निष्कासित । तपाईंहरू कमसेकम पार्टी सदस्य त हुनुहुन्छ होला । देवकोटाको कविताअनुसार भन्ने हो भने जंगलको राज । लक्ष्मीप्रसाद देवकोटाले उहिल्यै एउटा कविता लेखेका थिए– जंगलको राज । जंगलको राज चलाउने, विधि–पद्धतिका कुरा गर्ने, लोकतान्त्रिक मूल्य–मान्यता, प्रक्रिया, विधि–पद्धति, नियम, कानुन, देशको संविधान, केहीको कुनै मतलब छैन, अहंकार, स्वेच्छाचारिता ।

प्रधानमन्त्रीलाई योगेश भट्टराईको जवाफ– हामी एकपछि अर्को कारबाहीका निम्ति तयार र लामबद्ध छौँ

मलाई थाहा छ– प्रधानमन्त्रीले बालुवाटारमा बोलेका कुरा । म उहाँलाई यति मात्रै निवेदन गर्न चाहन्छु, यो बुद्धको देश हो र यहाँ शान्तिको भाषा हुन्छ, शक्तिको भाषा हुँदैन । प्रधानमन्त्रीजी बुद्धको अनुयायी पनि हुनुहुन्छ । बुद्धको अनुयायी पनि भएको प्रधानमन्त्रीको बालुवाटारमा शक्तिको भाषा छ । म विनम्रतापूर्वक भन्न चाहन्छु त्यो भाषा बदल्नुस् र शान्तिको भाषा बोल्नुस् । 

प्रधानमन्त्रीले कारबाहीको कुरा गर्नुभएको छ, कारबाहीले मुलुक र राजनीति अगाडि बढ्दैन । पार्टी अगाडि बढ्दैन । साथै, प्रधानमन्त्रीलाई मेरो निवेदन छ– यो अहंकारपूर्ण अभिव्यक्ति हो । हामीलाई कुनै दुःख छैन, हामी एकपछि अर्को कारबाहीका निम्ति लामबद्ध छौँ । कारबाहीका निम्ति तयार छौँ, त्यसका लागि हामीलाई कुनै पश्चात्ताप हुनेछैन ।

किनभने हामी मुलुक, संविधान र प्राप्त जनसमर्थनको रक्षाका निम्ति उभिएका मान्छे हौँ । हामीलाई त्यसमा कुनै हीनताबोध छैन । तर, तपाईंलाई निवेदन गर्न चाहन्छु, इतिहासको कठघरामा उभिनुभएको छ, तपाईंले धेरै प्रश्नको उत्तर दिनुपर्नेछ ।

जब इतिहासले सोधेका प्रश्नको उत्तर दिन तपाईंं असमर्थ हुनुहुन्छ, त्यो वेला इतिहासले तपाईंलाई कठोर कारबाही गर्छ । सायद त्यो वेला तपाईंका निम्ति दुई थोपा आँसु चुहाउने मान्छे नहुन पनि सक्छन् । त्यो दुःखान्त स्थिति पनि आउन सक्ला । त्यसैले धम्कीका भाषा नबोलौँ, संयमताका साथ अगाडि जाउँ भन्ने हाम्रो आग्रह छ ।

भेलाको अवधारणापत्रमा ओलीको राजीनामा माग

- ओलीले वामपन्थीको अद्वितीय बहुमत भएको संसद् विघटन गरे

केपी ओलीलाई नाजायज सुविधा दिएर भए पनि पार्टी एकतालाई जोगाउन अनेकौँ प्रयत्न गरिए, तर उनका क्रियाकलाप कम्युनिस्ट पार्टीलाई विभाजन गर्ने दिशामा नै अगाडि बढे । त्यसको पराकाष्ठा वामपन्थीहरूको अद्वितीय बहुमत भएको प्रतिनिधिसभा विघटन गरियो ।

- नियोजित रूपमा पार्टी विभाजन गर्न अघि बढे ओली

अदालतको आदेशले दुई पार्टी अलग गर्दा पनि हर्षबढाइँ गरेर ओलीले एकताबद्ध नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई आफ्नो गुटको विजय र अरूको पराजयका रूपमा प्रचार गराए । २८ फागुनमा आफ्नो गुटको भेला गरे । र, त्यसै भेलालाई एमालेको केन्द्रीय कमिटीको बैठक भनेर वक्तव्य जारी गरे । यसरी ओली सुनियोजित ढंगले पार्टी विभाजन गर्न अघि बढे ।

- हठले वामपन्थी सरकार ढल्यो, स्थानीय निर्वाचनमा सहकार्य भएन

अघिल्लोपटक पनि ओलीले सहमतिको पालना र नेतृत्व गर्न नसक्दा एमाले सरकारबाट बाहिरिनुपर्‍यो । त्यसपछि माओवादीसँग एमालेको तिक्तता बढ्दै गयो । स्थानीय तहको निर्वाचनमा माओवादीले कांग्रेससँग तालमेल गर्‍यो । कम्युनिस्ट सहकार्य गर्न सकेको भए स्थानीय तहमा अझ व्यापक वामपन्थी आधार बन्न सक्थ्यो, त्यो अवसर गुमायौँ ।

- अकस्मात् ल्याए चुनावी गठबन्धन र पार्टी एकतासम्म पुग्ने प्रस्ताव

माओवादीविरुद्ध व्यक्तिगत रूपमा पनि आक्रामक रहँदै आएका ओलीले माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा जाने र पार्टी एकतासम्म पुग्ने प्रस्ताव अचानक स्थायी कमिटीमा पेस गरे । स्थानीय तहको निर्वाचनको उम्मेदवारीमा ओलीले गरेका गुटबन्दीपूर्ण जिद्दीले पार्टीमा आशंका बढाइरहेको थियो । तैपनि वामपन्थीबीच सहकार्यको प्रस्ताव उचित नै भएको हुँदा स्थायी कमिटीले त्यस प्रस्तावलाई पारित गर्‍यो ।

- पार्टी एकताको प्रस्ताव पनि अचानक ल्याए

निर्वाचनको परिणामबाट वामपन्थी सरकारको प्रधानमन्त्रीका रूपमा अध्यक्ष ओलीको पुनरागमनले मुलुकलाई एउटा राष्ट्रिय आशा जगायो । त्यसले उनमा अझ बढी आत्मगौरव बढ्यो । एक्लै निर्णय गर्ने कार्यशैली झन बढ्यो । यसैबीच पहिलेझैँ ओलीले माओवादी केन्द्रसँग पार्टीको सिद्धान्त, नाम, संगठनात्मक व्यवस्थालगायत कैयन् विषयमा एकलौटी सम्झौता गरे र अचानक पार्टी एकताको प्रस्ताव सुनाए ।

- जनमतको दुरुपयोग गर्दै पार्टीमा बलमिच्याइँ गरे

संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारीमा उनले चरम गुटबन्दीको प्रदर्शन गरे । स्थायी कमिटीमा त्यसको आलोचना पनि भइरहेको थियो । तर, वामपन्थी सहकार्यको पक्षमा उर्लेको जनताको समर्थनको दुरुपयोग गर्दै ओलीले पार्टीमा बलमिच्याइँ गरिरहे ।

- आगामी कार्य : ओलीका गल्तीका कारण उनको राजीनामा

२ जेठ ०७५ लाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनको पुनर्स्थापना, महाधिवेशनपछि उत्पन्न सबै विवादको विधिसम्मत समाधान, केपी ओलीका गल्तीका कारण उनको राजीनामा, कार्यबाहक नेतृत्वको तयारी र गुटका निर्णयहरू खारेज