मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केदार दाहाल काठमाडौं
२०७७ चैत ३ मंगलबार १०:२०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिडपछि झनै संकटमा राष्ट्रिय ध्वजाबाहक

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ चैत ३ मंगलबार १०:२०:००

ऋणको ब्याज तिर्न नसकेपछि असारयता निगमको ऋण पौने दुई अर्ब थपियो, गत असारसम्म निगमको ऋण ४४ अर्ब २७ करोड रहेकोमा पुस मसान्तसम्म आइपुग्दा ऋण बढेर ४६ अर्ब १३ करोड ४६ लाख पुगेको छ ।

नेपाल वायुसेवा निगमले खरिद गरेका जहाजको ब्याज र किस्ता तिर्न नसक्दा ऋण बढेर ४६ अर्ब १३ करोड ४६ लाख ५ हजार ७ सय २२ रुपैयाँ पुगेको छ । निगमको गत पुस मसान्तसम्म तिर्न नसकेको ब्याजसमेत जोडिँदा झन्डै २ अर्ब ऋण बढेको हो । गत असार मसान्तदेखि पुससम्मको ब्याज मात्रै १ अर्ब ८६ करोड ३८ लाख ५७ हजार ५ सय ८८ रुपैयाँ रहेको छ । जहाज खरिद गर्दा सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको ब्याज र किस्ता तिर्न नसक्दा ऋण बढ्दै गएको हो । 

गत असारसम्म निगमको ऋण ४४ अर्ब २७ करोड ८० लाख ८ हजार १३ रुपैयाँ रहेको थियो । त्यसयता निगमको ऋण झन्डै २ अर्ब बढेको हो । कोरोनाका कारण उडान गर्न नसकेको निगमलाई ऋणमाथि ऋणको भार थपिँदै गएको छ । ७ वर्षअगाडि दुई थान एयरबस ३२० जहाज खरिद गर्दा सञ्चय कोषसँग लिएको १० अर्ब रुपैयाँ घट्दै जानुपर्नेमा तीन वर्षअगाडि घटाएर ८ अर्बमा झारिएको ऋण अहिले बढेर पुनः ९ अर्ब ८४ करोड ९८ लाख पुगेको छ । 

एयरबस ३३० जहाज खरिद गर्दा सञ्चय कोषसँग १२ अर्ब ऋण लिइएको थियो । किस्ता र ब्याज तिर्न नसकेपछि उक्त १२ अर्ब ऋण बढेर १४ अर्ब ८३ करोड ८७ लाख ४६ हजार पुगेको छ । त्यस्तै, नागरिक लगानी कोषसँग एयरबस ३३० जहाज खरिदका लागि लिइएको १२ अर्ब ऋण बढेर १४ अर्ब ५५ करोड २५ लाख ७५ हजार रुपैयाँ पुगेको छ । निगमको राष्ट्रिय वाणिज्य बैंकबाट ओभरड्राफ्ट लोन ५९ करोड ५२ लाख रुपैयाँ रहेको छ । त्यस्तै, हिमालयन बैंकबाट सर्टटर्म लोन १ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने सरकारी लोन ३ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

कोरोनाका कारण मारमा परेको निगमलाई राष्ट्र बैंकको मौद्रिक नीतिले सहयोग नगर्दा पछिल्लो समस्या आएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेल बताउँछन् । ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत भएका ऋण लगानीको सेटल भयो, तर निगमलाई सञ्चय कोष र नागरिक लगानी कोषको ऋण भएकाले मौद्रिक नीतिले छोएन,’ पौडेलले भने ।

सरकारले आगामी बजेटमार्फत सम्बोधन गर्नका लागि वचन दिएकाले बजेटपछि समस्या समाधान हुने आशा राखेको पौडेल बताउँछन् । निगमले अहिलेकै अवस्थामा निगमलाई माथि उठाउन समस्या हुने भएकाले अधिकृत पुँजी ५० अर्ब पुर्‍याउन र आवश्यक परेका वेला खर्च गर्न सक्ने व्यवस्था गर्नका लागि पर्यटन मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको समेत पौडेलले बताए ।  

 घट्दै छ जहाजको मूल्य 
निगमसँग रहेका साना र ठूला गरेर रहेका १४ जहाजको मूल्य ३६ अर्ब ६१ करोड ३५ लाख ७५ हजार रुपैयाँ मूल्यांकन गरिएको छ । जसमा दुई वर्षअगाडि खरिद गरिएको एयरबस ३३०–२०० सिरिजका दुई थान वाइडबडी जहाजको मूल्यांकन २३ अर्ब २१ करोड १५ लाख गरिएको छ । त्यसैगरी, ६ वर्षअगाडि खरिद गरिएका दुई थान एयरबस ३२०–२०० सिरिजका दुई थान न्यारोबडी जहाजको ६ अर्ब ३९ करोड ९८ लाख ७० हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।

बिक्री गर्ने निर्णय भएको चिनियाँ जहाजको ३ अर्ब ८१ करोड १० लाख रुपैयाँ मूल्यांकन गरिएको छ । त्यसैगरी, बिक्रीको निर्णय भइसकेको बोइङ ७५७ जहाजको ६५ करोड ५० लाख ९४ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, तीन थान ट्विनअटर जहाजको ६५ करोड ४४ लाख रुपैयाँ मूल्यांकन गरिएको छ । 

नयाँ जहाजमै डेढ अर्ब खर्च हुँदै
गत २४ पुस (८ जनवरी)मा नेपाल एयरलाइन्सको जहाज ‘हेभी ल्यान्डिङ’ गराउँदा जहाजको दुईवटा ल्यान्डिङ गियरमा गम्भीर समस्या आएको पत्र जहाज निर्माता कम्पनी एयरबसले नेपाल वायुसेवा निगमलाई पठाइसकेको छ । जहाजका मुख्य दुईवटा ल्यान्डिङ गियरमा समस्या देखिएकाले मर्मत वा नयाँ राख्नुपर्ने भएको एयरबसले पठाएको पत्रमा उल्लेख गरेको छ ।

भारतबाट भाडामा ल्यान्डिङ गियर ल्याउने तयारी गरिएको छ । भाडामा ल्याउनका लागि प्रतिघन्टा १ लाख डलर खर्च हुनेछ । पुरानो विस्थापन गरेर नयाँ फेर्नुपर्ने भएमा निगमको १ अर्ब ५० करोड रुपैयाँ खर्च हुनेछ । ‘हामीले नयाँ ल्याउने भन्दा पनि सकेसम्म मर्मतका लागि काम गरिरहेकाले प्रक्रिया सुरु भएको छ,’ पौडेलले भने ।

निगमका अन्तर्राष्ट्रिय उडानमा एउटा वाइडबडी जहाज ग्राउन्डेड भएको छ भने अर्को न्यारोबडी जहाज सि–चेकका लागि सिंगापुर पठाइएको छ । जसका कारण दुई जहाज मात्रै उडानमा छन् । जसको असर प्रत्यक्ष उडानमा समेत परेको छ ।