मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
हालै प्रदर्शन भएको चिनियाँ चलचित्र ‘हाई मम’ले एक महिनामा सात सय ९८ मिलियन डलर कमाइसकेको छ,दुई सय १६ मिलियन डलर ग्रस कलेक्सन गरेको चिनियाँ चलचित्र ‘अ लिटल रेड फ्लावर’को एक दृश्य
२०७७ चैत ३ मंगलबार ०८:२८:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

बखेडामा रमाइरहेको नेपाली चलचित्र क्षेत्र

Read Time : > 3 मिनेट
२०७७ चैत ३ मंगलबार ०८:२८:००

 ३१ डिसेम्बर २०२० मा चीनका हलहरूमा निर्देशक हान यानको चलचित्र ‘अ लिटल रेड फ्लावर’ प्रदर्शन भयो । यो चलचित्रमा ज्याक्सन यी, हाओकुम लिऊलगायत कलाकार छन् । कोरोना भाइरस ‘उत्पति भएको स्थान’ भनिएको चीनकै हलहरूमा प्रदर्शन भएको यो चलचित्रले बक्स अफिसमा धमकेदार कमाइ गर्‍यो । एक सय २२ मिनेटको चलचित्रले दुई सय १६ मिलियन डलर ग्रस कलेक्सन गर्‍यो । 

१२ फ्रेबुअरी ०२१ मा जिया लिङ निर्देशित चिनियाँ चलचित्र ‘हाई मम’ प्रदर्शन भयो । एक सय २८ मिनेटको यो सिनेमाले अहिलेसम्म सात सय ९८ मिलियन डलर कमाइसकेको छ । संसारको ठूलो उद्योग मानिएको हलिउडलाई नै माथ गर्ने गरी भएको ग्रस कलेक्सनले सबैलाई चकित पारेको छ ।

अचम्मको विषय त जहाँबाट कोरोना भाइरस सुरु भयो, त्यहीँ चलचित्रले निकै राम्रो कमाइ गरिरहेको छ । तर, तुलनात्मक रूपमा कोभिडको न्यून प्रभाव परेका हाम्रो जस्तो देशका सिनेमा उद्योग भने अझै चलमलाउन सकेका छैनन् । 
यस्तो अवस्था देखिनुमा धेरै पक्षको भूमिका रहने बताउँछन्, निर्देशक नवीन सुब्बा । उनी भन्छन्, ‘यो सुधार्न राज्यदेखि व्यक्तिसम्मको भूमिका र रणनीति आवश्यक पर्छ ।’ तर, हाम्रो क्षेत्रमा भने उही पुरानै शैली र तरिकाहरूको पुनरावृत्ति मात्रै भइरहेको सुब्बाको विश्लेषण छ । सुब्बाको प्रश्न छ, ‘पोस्ट कोभिडपछिको हाम्रो सिनेमाबारे हामी किन केही छलफल गरिरहेका छैनौँ ?’

राजतन्त्रको समयमा राजाहरूले भाषणको अन्त्यमा भन्थे, ‘सबैलाई पशुपतिनाथले रक्षा गरून् ।’ अहिलेको अवस्था हेर्दा नेपाली चलचित्र पनि त्यही हालत र कामनामा गुज्रनुको विकल्प देख्दैनन्, उनी । ‘चलचित्र चलाउन त रणनीति चाहिन्छ, योजना चाहिन्छ । अहिले देखिएको हाम्रो बजार २० करोड रुपैयाँको हो । यसलाई पाँच वर्षमा सय करोड पुर्‍याउने कार्ययोजना बनाउनुपर्छ । तर, हामीलाई त्यता चासो नै छैन,’ सुब्बा सुनाउँछन् ।

हामीले चलचित्रलाई जुन तरिकाले सतहीकरण गरिरहेका छौँ, गम्भीर रूपमा लिइरहेका छैनौँ, त्यसमा राज्य, राजनीति, बजार, व्यक्ति सबैको भूमिका रहेको उनको विश्लेषण छ ।गत २७ फागुनमा नेपाली चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भयो । युट्युबमार्फत सार्वजनिक भएको ट्रेलरमा भनिन्छ, ‘नेपालको सत्ता परिवर्तन गर्नका लागि तीन सय मिलियन डलर पेरिसबाट आउँदै छ ।’ तीन सय मिलियन डलरले नेपालको सत्ता परिवर्तन हुन्छ भन्नु हास्यास्पद सुनिन्छ । सतही ज्ञान र विश्लेषणको उपज लाग्छ, जसले अन्तिममा दुर्घटना निम्त्याउँछ । 

जहाँबाट कोरोना भाइरस सुरु भयो, त्यहीँ चलचित्रले निकै राम्रो कमाइ गरिरहेको छ । तर, तुलनात्मक रूपमा कोभिडको न्यून प्रभाव परेका हाम्रोजस्तो देशका सिनेमा उद्योग भने अझै चलमलाउन सकेका छैनन् । 

हो, चलचित्रले मनोरञ्जन दिने हो । तर, यति मात्रै चलचित्रको कर्तव्य होइन भनेर चलेको बहस पनि अब त बूढो भइसक्यो । यतिवेला संसारमा कोभिडपछिका चलचित्र र त्यसले निर्माण गर्ने नयाँ भाष्यमाथि बहस भइरहेको छ । तर, यता ‘लप्पन छप्पन २’ कै ट्रेलरमा ‘चुस्ने’ शब्द चलाएर तेस्रोलिंगीलाई उडाइएको छ । सवाल त यो छ– तेस्रोलिंगीलाई ‘चुस्ने’ मात्रै देख्ने तिम्रो दृष्टिकोण कसरी निर्माण भयो ? खैर, दुई मिनेट ४४ सेकेन्डको ट्रेलरमाथि धेरै अल्झिनु उस्तो राम्रो होइन । चलचित्र हलमा लागेपछि नै धेरै कुरा खुलेर आउला । ट्रेलरलाई नै लिएर आलोचना गरिहाल्नु हतारो पनि हुन सक्छ । 

यो चलचित्र एक महिनाभन्दा कम समयमा हलमा आइपुग्दै छ । तर, तत्कालको अवस्था हेर्दा भने भर्खरै माकुराको जालो पुछिएको, कुर्सीको धुलो टकटकाइएको, स्यानिटाइजमय भएको हलमा दर्शकको चासो देखिँदैन । दर्शक नै देखिने सम्भावना त निकै परकै कुरा रह्यो ।

कोभिडले वर्षदिन थला परेको चलचित्र क्षेत्र अहिले पनि उस्तै छ । केही चलचित्रकर्मी सुटिङ र म्युजिक भिडियोमा अल्झिरहेका छन् । लगालग प्रदर्शन मिति सार्वजनिक भइरहेका समाचार आइरहेका छन् । तर, कसरी प्रदर्शन गर्ने, दर्शकलाई कसरी हलसम्म ल्याउनेलगायत विषयमा कुनै छलफल भएको देखिँदैन । चलचित्र क्षेत्र चलायमान बनाउनेबारे बहस, विमर्श हुनुपर्ने हो, त्यता कसैको चासो छैन । 

प्राविधिकहरू डेढ वर्षदेखि बेरोजगार
तीसौँ वर्ष यस क्षेत्रमा काम गरेका प्राविधिकहरू झन्डै डेढ वर्षदेखि बेरोजगार छन्, त्यता पनि कसैको चासो छैन । चलचित्र प्रविधिक संघका अध्यक्ष पुष्कर लामा भन्छन्, ‘प्राविधिकहरू बेरोजगार छन् । चलचित्र प्रदर्शन हुँदै छन्, तर कसरी हुने, दर्शकलाई कसरी तान्ने, निर्मातालाई कसरी जोगाउने विषयमा कुनै विमर्श भएको छैन ।’ यो चलचित्र क्षेत्रको दुःखलाग्दो पाटो रहेको लामाको गुनासो छ । 

चलचित्र प्राविधिकहरू एक वर्षदेखि बेरोजगार छन् । चलचित्र प्रदर्शनको मिति लगालग घोषणा भइरहेका छन्, तर कसरी प्रदर्शन हुने, दर्शकलाई कसरी हलसम्म ल्याउने, निर्मातालाई कसरी जोगाउने विषयमा कुनै विमर्श भएको छैन । कलाकारहरू आफ्नै झिनामसिना विवादमा रुमल्लिरहेका छन् ।  

चलचित्र क्षेत्रमा अनेक ‘लफडा’को चर्चा हुने गर्छ । केही समयअघि कलाकार पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानबीचको विवाद चर्चामा आयो । विवाद थियो, हातपात गरेको । पछि सम्झौता भएको, एक–अर्काले माफी मागेको भन्ने समाचार बाहिरियो । यस लफडाअघि काठमाडौंको लन्डन पब क्याफेमा भएको झगडाको विषय चर्चामा आयो ।

अभिनेत्री सुष्मा कार्कीले प्रहरीमा उजुरी पनि दिइन् । यहाँ विषय कुटपिटको थियो । यी त पछिल्ला प्रतिनिधि घटना मात्रै हुन्, जो चर्चामा आए । चर्चामा आउनुपर्ने विषय थियो, अब चलचित्र कसरी चलाउने ? दर्शकलाई हलसम्म कसरी ल्याउने ? वार्षिक सयौँको संख्यामा चलचित्र बने पनि न्यून मात्रामा सफल हुने नेपाली चलचित्र क्षेत्र यस्तै विवाद, लफडा र चर्चाहरूमा रमाइरहेको देखिन्छ ।

विदेशी चलचित्रको कथा कपीपेस्टदेखि कमजोर चलचित्र बनेको आलोचना सधैँ खेपिरहने यस चलचित्र क्षेत्र कहिल्यै गम्भीर भएको देखिँदैन । चलचित्रकर्मी मनोज पण्डित सीधै भनिदिन्छन्, ‘मैले देखेको नेपाली सिनेमामा गसिप हुन्छ, छलफल हुँदैन ।’ सिर्जनशील हुनुपर्ने, स्रष्टाहरूबीच मेलमिलाप हुनुपर्ने क्षेत्र व्यावसायिक माफियाको चंगुलमा फसेको पण्डितको विश्लेषण छ । ‘यस क्षेत्रमा कहाँ नाफा–घाटा हुन्छ भनेर जाँड पार्टीमा छलफल हुन्छ ।

तर, हाम्रो चेतना र दर्शकको चेतनाबीचमा कसरी काम गर्ने भनेर विमर्श हुँदैन,’ पण्डित भन्छन्, ‘कोभिडपछिको अवस्थामा मात्रै होइन, नेपाली सिनेमामा कहिल्यै पनि तयारी भएको छैन । सधैँ यस्तै संकटबाट गुज्रने गरेको छ ।’ अहिले फिल्ममेकरहरूको दृष्टिकोण नै बेवारिसे अवस्थामा रहेको पण्डितको भनाइ छ ।