मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ चैत २ सोमबार ०६:४३:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गठबन्धनका लागि निर्णायक छलफलमा तीन दल

नयाँ सत्ता समीकरणका लागि आज पनि कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बस्दै

Read Time : > 4 मिनेट
२०७७ चैत २ सोमबार ०६:४३:००

नयाँ सत्ता गठबन्धनका लागि सोमबार कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच पहिलोपटक त्रिपक्षीय छलफल हुँदै छ । दलगत रूपमा छुट्टाछुट्टै चरणबद्ध अनौपचारिक छलफल र संवादपछि सोमबार तीन दलको संयुक्त बैठक बस्न लागेको हो । अन्तरदलीय छलफलका क्रममा कांग्रेस, माओवादी केन्द्र र जसपासमेत प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नु अपरिहार्य रहेकोमा एकमत देखिएका थिए । 

पहिलो चरणका छलफल सकारात्मक भएकै कारण नेताहरूले सोमबारको तीन दलको संयुक्त बैठक निर्णायक हुन सक्ने संकेत गरेका छन् । ‘पहिलो चरणको छलफलमा तीनै दल ओलीको विकल्प खोज्ने विषयमा तयार भएको अवस्था छ, त्यसैले यो छलफल गठबन्धनका लागि निर्णायक हुन सक्छ,’ देउवानिकट एक नेताले भने । 

तीनदलीय छलफलको पूर्वसन्ध्यामा कांग्रेस सभापति देउवाले लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने वेला आएको बताएका छन् । ‘हाम्रो देश हिमाल, पहाड र मधेस मिलेर बनेको सुन्दर देश हो । यहाँ विविधतामा मिलेर बसेको समाज छ । म सबै दाजुभाइ, दिदीबहिनीहरूको एकता जो छ, यो कायम रहोस्, यसलाई कसैले खलल पार्न चाहे पनि त्यो नसकोस् ।

राष्ट्रिय एकता कायम रहोस् भन्न चाहन्छु, अहिले राष्ट्रिय एकतालाई मजबुत गर्दै राष्ट्रलाई मिलाएर लैजानुपर्ने अवस्था छ,’ देउवाले आइतबार बारामा खेलकुद विभागले स्व. खुमबहादुर खड्काको स्मृतिमा गरेको कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै भनेका छन्, ‘अहिले जो राजनीतिक परिस्थिति विकास भइरहेको छ, एकदमै अन्योल छ । क्लियर स्थिति आइसकेको छैन । क्लियर स्थिति नआएसम्म कांग्रेसले बोलेर काम छैन । प्रधानमन्त्री पदका लागि कांग्रेस लोभी छैन, तर आइहाल्यो भने भाग्ने कुरा पनि छैन ।’

प्रधानमन्त्री ओलीको विकल्प खोज्न माओवादी केन्द्र र जसपासमेत तयार भएपछि देउवाले नै तीनदलीय बैठकको संयोजन गरेका छन् । बैठक सोमबार अपराह्न २ बजेपछि देउवानिवास बुढानीलकण्ठमा बस्दै छ । बैठकमा तीन दलका तर्फबाट प्रतिनिधिमूलक रूपमा शीर्ष नेताहरू सहभागी हुनेछन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला बैठकमा सहभागी हुँदै छन् ।

यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जसपाका तर्फबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो सहभागी हुँदै छन् । तीन दलका बीचमा छुट्टा–छुट्टै छलफल भए पनि अहिलेसम्म गठबन्धन बन्ने कि नबन्ने र गठबन्धन गर्दा त्यसको नेतृत्व कसले गर्ने भन्ने विषय नै टुंगिएको छैन । जसपाभित्र आफ्नै नेतृत्वमा मात्रै सरकारमा जाने वा आफ्ना मागहरूको सम्बोधन हुने अवस्थामा अरूलाई पनि समर्थन गरेर जाने भन्ने विषयमा मत विभाजित छ । 

संसद्को पुनस्र्थापनापछि संसद्मा कांग्रेस निर्णायक भूमिकामा थियो । तर, त्यसवेला ओलीको विपक्षमा प्रस्ट उभिएर नेकपाकै अर्को समूहसँग मिलेर सरकार बनाउन कांग्रेस तयार भएन । अहिले ओलीको विकल्प खोज्न कांग्रेस तयार छ । र, कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाएर देशलाई निकास दिनुपर्ने विषयमा कांग्रेस एकमत छ । तर, अहिले कांग्रेस निर्णायक भूमिकामा छैन ।

यद्यपि संसद्को प्रमुख प्रतिपक्षीको हिसाबले कांग्रेस नयाँ गठबन्धनको नेतृत्वमा आफूले दाबी गर्नु स्वाभाविक ठानिरहेको छ । देउवा आफ्नै नेतृत्वमा गठबन्धन सरकार बन्ने अवस्थाका लागि परिस्थितिको पर्खाइमा छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि ओलीको विकल्पका लागि लचिलो भएर प्रस्तुत भएका छन् । तर, नेकपा एकता भंग भएपछि निर्णायक भूमिकामा रहेको जसपाले निर्णय लिन ढिलाइ गर्दा गठबन्धन सरकार निर्माणको छलफल सुस्त छ ।

तीनै दल अहिलेको अवस्थामा ओलीको विकल्प खोज्ने एजेन्डामा सहमत भएकाले सोमबारको बैठकमा गठबन्धनका थप एजेन्डाहरूमाथि छलफल हुने एक नेताले बताए । नेताहरूका अनुसार गठबन्धनका लागि कांग्रेस र माओवादीका ठोस माग वा सर्त छैनन् ।

जसपाले भने सत्ता गठबन्धन गर्न सांसद रेशम चौधरीको रिहाइ, मधेस–थरुहट आन्दोलनका बन्दीको मुद्दा फिर्ता र उनीहरूको रिहाइ र संविधान संशोधनलाई मुख्य मुद्दा बनाएको छ । कांग्रेस र माओवादी केन्द्र दुवै जसपाका मागप्रति सकारात्मक भएकाले सोमबारको छलफल गठबन्धनको नेतृत्व, अवधि र शक्ति बाँडफाँडमा केन्द्रित हुने एक नेताले बताए । देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले ओलीको बहिर्गमन नै गठबन्धनको मुख्य एजेन्डा हुने बताए । 

‘ओलीले संविधानमाथि हमला गरे । रुल अफ ललाई भंग गरे । सर्वसत्तावादी कार्यशैली अपनाए । निरंकुशता लाद्न खोजे,’ उनले भने, ‘अब पनि उनको विकल्प नखोज्ने हो भने उनको हर्कतले लोकतन्त्र र यो व्यवस्थामाथि नै संकट आइपर्छ, त्यसैले अहिले ओलीको विकल्प खोज्नु अपरिहार्य हो भन्नेमा तीन दल लगभग सहमत भएको हो, त्यसैका लागि गठबन्धन हो ।’ उनले अब त्यो विकल्पमा दलहरूको हैसियत कस्तो हुने भन्ने कुरामा छलफलकेन्द्रित हुने बताए । 

नेता विश्वकर्मा मधेसवादीको मुद्दामा सबैभन्दा सकारात्मक नै कांग्रेस भएको दाबी गर्छन् । ‘हामीले पहिल्यै संविधान संशोधनको प्रस्ताव पनि लगेका हौँ, तर एमालेकै कारण पास भएन । अर्को, नागरिकतासम्बन्धी विधेयकको कुरा हो । त्यो पनि सत्तारुढ दलभित्रैको विवादले रोकिएको हो । त्यसमा पनि कांग्रेस सकारात्मक छ,’ उनले नयाँ पत्रिकासँग भने । 

प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस अन्य दलहरूको धारणा र प्रस्तावमाथि छलफल गरेर उपयुक्त निष्कर्षमा पुग्ने बताए । ‘गत निर्वाचनले हामीलाई प्रतिपक्षमा बस्ने म्यान्डेड दिएको हो । तर, सत्ता चलाउने म्यान्डेडचाहिँ नेकपा एमाले र माओवादीले पाएका होइनन् । त्यो म्यान्डेड त दुई पार्टीको गठबन्धनले पाएको थियो । उहाँहरूले त्यसलाई गठबन्धन भन्नुभयो, नेकपा एकता भन्नुभयो, जे भने पनि आज त्यो भंग भएको अवस्था छ । त्यो भनेको उहाँहरूलाई जनताले दिएको म्यान्डेड खण्डित भइसकेको छ,’ प्रवक्ता शर्माले भने, ‘त्यसकारणले अहिले हामीले अलग्गै रूपले पनि दाबा गर्न सक्ने अवस्था हो । तर, हामीले दाबा गरेका छैनौँ । हामीले त्यसवेलाको म्यान्डेडलाई हेक्का राखेका छौँ । र, म्यान्डेड खण्डित भइसकेको कुरा पनि जान्दछौँ । अब अन्य दलहरूको प्रस्ताव, धारणा कुन रूपमा आउँछ, त्यो हेरेर बुझेर हामी उपयुक्त निष्कर्षमा पुग्छौँ ।’

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले गठबन्धनका लागि अलग्गै सर्त नभएको बताए । ‘संयुक्त सरकार अहिलेको आवश्यकता हो । लोकतन्त्र र व्यवस्थाको संरक्षण नै हाम्रो मुख्य एजेन्डा हो । सिस्टम, पद्धति र प्रणाली बचाउनुपर्ने अपरिहार्यता छ,’ उनले भने, ‘एकचरणको छलफल सकारात्मक भएकाले यो बैठक निर्णायक हुन सक्छ ।’
उनले मंगलबार संसद् बैठक भएकाले पनि सोमबारको तीनदलीय बैठकको निष्कर्षले अर्थ राख्ने बताए । ‘अहिले हामीले प्रधानमन्त्री मागेका छैनौँ । र, सबैभन्दा अप्ठ्यारोमा पनि हामी नै छौँ । हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिएको अवस्था छ । त्यसैले तीन दलको बैठकलाई नै आधार बनाएर हामीले निर्णय लिने हो,’ उनले भने । 

जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा सांसद मोहम्मद इस्तियाक राईले लोकतान्त्रिक शक्तिहरूको गठबन्धन अहिलेको आवश्यकता भएको बताए । ‘गठबन्धन अहिलेको आवश्यकता हो, त्यसैले तीन दलको बैठकमा सहमति हुन पनि सक्छ, पहिले कांग्रेस अनिर्णीत थियो, अहिले उसले अग्रसरता लिएको अवस्था छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘त्यसैले जसपा बाधक बन्नुहुँदैन, बन्दैन ।’

उनले सोमबारको तीनदलीय बैठकमा एउटा सहमति बनेको अवस्थामा त्यसलाई ५ चैतको केन्द्रीय कार्यकारिणी समिति बैठकले अनुमोदन गर्न सक्ने बताए । ‘हाम्रो एजेन्डाहरू राखिसकेका छौँ, त्यही आधारमा छलफल गरेर एउटा सहमतिमा पुग्ने हो, शीर्ष नेताहरूले सहमति दिएको अवस्थामा पछि बैठकले अनुमोदन गर्न सक्छ,’ उनले भने । 

सर्वोच्च अदालतले नेकपाको एकता नै भंग हुने गरी गरेको फैसलापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २५ फागुनमै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर नयाँ सत्ता गठबन्धनको नेतृत्व लिन आग्रह गरेका थिए । तर, त्यसवेला देउवा आफैँ अग्रसर थिएनन् । उनले आफूनिकटका नेताहरूलाई खटाएका थिए ।