१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ चैत २ सोमबार ०६:१४:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

सेवाग्राहीको भिड भएको मालपोतमा बम विस्फोट

विस्फोटमा आठजना घाइते

Read Time : > 2 मिनेट
२०७७ चैत २ सोमबार ०६:१४:००

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय नेतालाई आइतबार बिहान सिराहामा माला लगाएर सार्वजनिक गरे । बिहान १० बजेतिर जिल्ला प्रशासन कार्यालयको सभाहलमा मन्त्री श्रेष्ठले गोइत समूहका पोलिटब्युरो सदस्य ६३ वर्षीय रामविलास यादवलाई फूलमाला लगाउँदै उनी शान्तिपूर्ण मार्गमा आएको उद्घोष गरे । 

डेढ दशक तराईमा भूमिगत संगठनमा आबद्ध रहेका केन्द्रीय तहका नेता यादवलाई सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले भने, ‘सरकारले द्वन्द्वको अन्त्य गर्न खोजेको छ, यो त्यसैको उपज हो ।’ उनले मोर्चाका संयोजक जयकृष्ण गोइत र अर्काे संगठनका संयोजक ज्वाला सिंहलाई पनि मूलधारमा आउन आह्वान गरे ।

‘गोइतजीसँग पटक–पटक वार्ता गर्न खोजेको छु, तर उहाँ सार्वजनिक हुन चाहनुभएको छैन । भूमिगत संगठनमा रहेका गोइतजी र ज्वालाजीलाई मूलधारमा आएर शान्तिपूर्ण तरिकाले लड्न आग्रह गर्छु ।’ उनले सम्मानजनक तरिकाले शान्ति प्रक्रियामा ल्याउन आफूले पहल गर्ने पनि बताए । सिके राउत समूह, विप्लव नेकपा शान्तिपूर्ण तरिकाले राजनीति गर्ने गरी वार्तामा आएको उदाहरण दिँदै मन्त्री श्रेष्ठले तराई–मधेसमा रहेका भूमिगत संगठनका नेताहरू पनि वार्तामा आउनुपर्ने बताए ।

तर, गोइत समूहका केन्द्रीय नेता सार्वजनिक भएको करिब दुई घन्टाभित्रै लहानस्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट भयो । १२ बजेतिर बम विस्फोट हुँदा सेवाग्राहीले खचाखच भरिएको मालपोत कार्यालयमा भागदौड मच्चिएको थियो । विस्फोटमा परी आठजना घाइते भएका छन् ।

घाइते हुनेमा मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, सेवाग्राही धनगढीमाई नगरपालिका–४ का दिनेशकुमार भण्डारी, गोलबजार नगरपालिका–४ का फुलकुमारी ठाकुर, गोलबजार–६ का लक्ष्मी राना मगर र बेचनी मगर, लहान नगरपालिका–१६ तरेगनाका लालबहादुर विक, भगवानपुर–३ का बद्रीनारायण यादव र धनगढीमाई–१३ का भोलाबहादुर पाँचेमगर छन् । 

गम्भीर एकजनालाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो
मालपोत कार्यालयमा आइतबार दिउँसो भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका एक सेवाग्राहीलाई थप उपचारका लागि आइतबार अपराह्न हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । धनगढीमाई नगरपालिका–४ घर भएका सेवाग्राही करिब ३० वर्षीय दिनेशकुमार भण्डारीसहित दुईजनालाई काठमाडौं पठाउने भनिए पनि एकजना आफ्नै पहलमा उपचारका लागि धरान गएकाले भण्डारीलाई मात्र हेलिकोप्टरमार्फत अपराह्न करिब ४ बजेतिर काठमाडौं पठाइएको हो ।

गम्भीर घाइते भण्डारीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडाैं र नायब सुब्बा शिवकुमार यादवलाई विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए । अन्यको स्थानीय सप्तऋषि र लहान अस्पतालमा उपचार गरिएको छ । 

विस्फोटको जिम्मेवारी गोइत समूहले लिएको छ । मोर्चाका संयोजक गोइतले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार नआए आगामी दिनमा योभन्दा पनि उच्चस्तरको कारबाही गर्ने चेतावनी दिएका छन् । मधेस स्वतन्त्र देश हुनुपर्ने माग राख्दै २०६१ सालदेखि सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेसमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोधस्वरूप विस्फोट गराएको उल्लेख गरेको छ । अहिले उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल सरकार र प्रदेश सरकार हुने उसले उल्लेख गरेको छ । 

विस्फोट भएलगत्तै जिल्ला प्रहरी कार्यालयले सुरक्षाकर्मी परिचालन गरी घटनामा संलग्नको खोजी सुरु गरेको प्रहरी उपरीक्षक भण्डारीले बताए । ‘सुरक्षाका दृष्टिले हामीले उच्च सतर्कता अपनाएका छौँ,’ प्रहरी उपरीक्षक भण्डारीले भने, ‘जिल्लाभरि र सीमावर्ती क्षेत्रमा पनि प्रहरी सक्रियता बढाएका छौँ ।’ 

मधेस मामिलाका जानकार डा. विजयप्रसाद मिश्रले यो घटनापछि गोइत समूह वार्तामा आउन नचाहेको प्रस्ट पारेको बताए । ‘यो घटनाले उहाँ वार्तामा आउन चाहनुभएको छैन भन्ने संकेत गरेको छ’, मिश्रले भने, ‘एकातिर कार्यक्रम भइरहँदा अर्कोतिर बम विस्फोट गर्नुहुँदैनथ्यो ।’ वार्तामार्फत खुला राजनीतिमा आउन अहिले राम्रो अवसर भएको उनको भनाइ छ । 

को हुन् रामविलास यादव ?
सिराहा नगरपालिका–१९ सन्हैठाका ६३ वर्षीय रामविलास यादव फिजिक्स विषयका सहप्राध्यापक हुन् । सिराहाको माडरबाट २०३० मा एसएलसी पास गरेपछि यादवले जनकपुरको राराबहुमुखी क्याम्पसबाट २०३६ मा आइएस्सी गरे । आरके कलेज मधुवनी भारतबाट भौतिकशास्त्रमा स्नातक र २०४३ मा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट भौतिकशास्त्रमा स्नातकोत्तर यादव ११ वर्ष (०४५–०५६) पाटन बहुमुखी क्याम्पसमा भौतिकशास्त्रका उपप्राध्यापक थिए । त्यहाँबाट सरुवा भएर सिराहाको सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा करिब दुई वर्ष सहप्राध्यापकका रूपमा प्राध्यापन पेसामा आबद्ध रहे । 

२०५८ देखि माओवादीको बुद्धिजीवी संगठनमा आबद्ध हुँदै यादव भूमिगत आन्दोलनमा सरिक भए । विस्तृत शान्ति सम्झौता भएपछि मधेस र मधेसीको मागको बेवास्ता भएको भन्दै जयकृष्ण गोइतसहित यादव माओवादी पार्टी परित्याग गरी भूमिगत पार्टी निर्माणमा लागेका थिए । १६ वर्ष गोइतसँगै अखिल तराई मुक्ति मोर्चामा आबद्ध हुँदै जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)सम्म आइपुग्दा उनी पोलिटब्युरो सदस्यका रूपमा क्रियाशील थिए । सशस्त्र भूमिगत आन्दोलन सफल हुन गाह्रो रहेको निष्कर्षमा पुगेपछि यादव कानुनमन्त्री लीलानाथ श्रेष्ठसँग संवाद गरी सार्वजनिक भएका हुन् ।

तीन वर्षमा तीन विस्फोट 
पछिल्लो तीन वर्षको अवधिमा सेवाग्राहीको बढी चाप रहने तीन सरकारी कार्यालयमा तीन विस्फोटका घटना भएका छन् । २८ वैशाख २०७४ मा लहान–८ स्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा अज्ञात समूहले शक्तिशाली कुकरबम विस्फोट भएको थियो । मध्याह्न १२ बजेतिर ठूलो आवाजसहित भएको विस्फोटमा कुनै मानवीय क्षति नभए पनि कार्यालयको पहिलो तल्लामा कार्यालय प्रमुखको कार्यकक्षनजिकै रहेको शौचालयको भित्ता र झ्यालका सीसाहरू फुटेका थिए । त्यसअघि ७ पुस २०७४ मै जिल्ला सदरमुकाम सिराहास्थित मालपोत कार्यालयको दोस्रो तलामा बम विस्फोट हुँदा चारजना घाइते भएका थिए ।