मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ चैत १ आइतबार १५:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा शुल्कवृद्धि, विरोधमा पाँच विद्यार्थी संगठन

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ चैत १ आइतबार १५:३०:००

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न संकायमा शुल्क वृद्धि गरेपछि पाँच विद्यार्थी संगठन विरोधमा उत्रिएका छन् । विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि विभिन्न संकायमा शुल्क वृद्धि गरेपछि जिल्लामा क्रियाशील विद्यार्थी संगठन विरोधमा रहेका हुन् । 

अखिल क्रान्तिकारी कञ्चनपुरका नेता कैलाशचन्द्र गिरीले विश्वविद्यालयले विद्यार्थीलाई मारमा पार्ने तरिकाले शुल्क वृद्धि भएको विरोधमा पहिलो चरणमा पाँच विद्यार्थी संगठनले संयुक्त ध्यानाकषर्णस्वरूप विज्ञप्ति जारी गरेको बताए । ‘अहिले हामीले विज्ञप्ति जारी गरेर विश्वविद्यालयको ध्यानाकर्षण गराएका छौँ,’ उनले भने, ‘विद्यार्थी संगठनले उठान गरेको मुद्दामा विश्वविद्यालय गम्भीर नभए सशक्त आन्दोलन गर्छौँ ।’ 

अखिल छैटौँका केन्द्रीय सचिव एव कञ्चनपुरका विद्यार्थी नेता महेशराज जोशीले जनताको रगतपसिनाबाट आएको विश्वविद्यालयमा केही व्यक्ति र नेतृत्वले दलहरूको चाकडी गरेर मनोमानी गरिरहेको आरोप लगाए । ‘शैक्षिक गुणस्तर वृद्धिका लागि काम गर्नुको साटो मनोमानी काम गरिरहेका छन्,’ उनले भने, ‘त्यसको विरुद्धमा आन्दोलन थाल्छौँ ।’ 

एमालेनिकट अनेरास्ववियु, कांग्रेसनिकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा विप्लवनिकट क्रान्तिकारी र राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौँले संयुक्त विज्ञप्तिका रूपमा जारी गरेको विज्ञप्तिमा सरकारको पूर्ण लगानीमा सञ्चालित विश्वविद्यालयले चर्को शुल्क निर्धारण गरेको, परीक्षा शुल्क वृद्धि गरेर विद्यार्थीलाई मारमा पारेको उल्लेख छ । 

‘सुदूरका जनताका छोराछोरीले सहज, सहुलियत र गुणस्तरीय शिक्षा पाउनुपर्ने ठाउँमा विभिन्न बहानामा गरिएको चर्को शुल्क वृद्धिले गरिब जनताका छोराछोरीको उच्च शिक्षा हासिल गर्ने सपनामाथि तुषारापात गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाका कारणले आर्थिक रूपमा ग्रसित अभिभावकको ढाड सेक्ने कार्य गरिनु निन्दनीय छ ।’