मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २९ शनिबार ०७:४८:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

जसपाले कांग्रेसले अग्रसरता लिएर निकास दिनुपर्छ भनेको छ, चाँडै परिपक्व समय बन्ने आशा छ : विश्वप्रकाश शर्मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २९ शनिबार ०७:४८:००

कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच छलफल गरेको छ, बैठकको निष्कर्ष के हो ? 

अनौपचारिक बैठक हो, नेताहरूले आ–आफ्नो धारणा राख्नुभयो । तर, कुनै निर्णय भएको छैन । त्यसैले धारणालाई धारणाकै रूपमा बुझ्नुपर्ने हुन्छ । सबै नेताको समान राय व्यक्त भएको छ– प्रधानमन्त्री केपी ओलीजीको सरकारलाई बिदाइ गर्नुपर्छ । र, कांग्रेसले संसद्मा रहेका सबै पार्टीलाई नेतृत्व गरेर अगाडि बढ्नुपर्छ । 

यसको मतलब कांग्रेसले अब आफ्नै नेतृत्वको सरकार बनाउनुपर्छ भन्ने हो ?

नेताहरूले ओलीको बहिर्गमनका लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्नुभएको छ । तर, कांग्रेस निष्कर्षमा पुगेको होइन । धारणा आउनु र निर्णय हुनु फरक हो । छलफल सुरु भएको छ, सुझाब आएका छन्, राय व्यक्त भएका छन् । 

वार्तामा के–के कुराकानी भयो ?

करिब एक घन्टा कुराकानी भयो । जसपाका नेताहरूले अहिले कांग्रेसले अग्रसरता लिनुपर्छ र एउटा निर्णयमा पुग्नुपर्छ भन्ने धारणा राख्नुभएको छ । म्यान्डेड पाएको दलले सरकार चलाउन नसकेको अवस्थामा स्वाभाविक रूपमा प्रतिपक्षी दलले अग्रसरता लिनुपर्छ भन्ने उहाँहरूको भनाइ थियो । कांग्रेसले अग्रसरता लिएर अहिलेको अवस्थालाई निकासमा पुर्‍याउनुपर्छ भन्ने उहाँहरूको जोड थियो । 

त्यो भनेको अब कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने हो ?

बैठकमा पूरै समय म पनि सहभागी थिएँ । उहाँहरूले अहिलेको अवस्थामा कांग्रेसले निकासका लागि अग्रसरता लिनुपर्छ भन्नुभएको हो । उहाँहरूले कांग्रेसले प्रधानमन्त्री नै लिओस् भन्नुभएको छैन । तर, निकासका लागि कांग्रेसको भूमिका खोज्नुभएकोचाहिँ हो । 

जसपाको चासो के थियो, कांग्रेसले के भन्यो ?

उहाँहरूले उठाएका चारवटा विषयमा हामीले पनि छलफल गरिसकेका थियौँ । उहाँहरूले पनि ती विषय फेरि राख्नुभयो । तर, अहिले नै कांग्रेसको सरकार छ र ती पूरा हुनुपर्छ भन्ने ढंगले सर्तका साथ राख्नुभएको होइन । उहाँहरूले ओलीलाई बिदाइ गर्नुपर्छ भन्दै गर्दा अब बन्ने सरकारले हामीले उठाएका मुद्दा कसरी सम्बोधन गर्छ भन्नेमा आफ्नो मत राख्नुभयो । कांग्रेसका तर्फबाट हामीले मुख्यतः अहिलेको निकासको बाटोमै केन्द्रित भएर कुराकानी राख्यौँ । हामीले अहिले नै सरकारको नेतृत्व लिँदै छौँ, गर्दै छौँ । र, तपाईंहरूका माग हामी पूरा गर्छौँ भन्ने वचनबद्धताका साथ कुरा गरेनाँै । तर, कांग्रेसकै नेतृत्वमा संविधान बनेको हो । त्यसवेला हामीले दुईबुँदे संशोधन प्रस्ताव पनि दर्ता गरेका हौँ । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पनि संविधानको संशोधनको प्रस्ताव गरेका थियौँ । तत्कालीन नेकपा एमालेले समर्थन नगर्दा प्रस्ताव फेल भएको थियो । त्यसकारण तपाईंहरूले नै संविधानप्रतिको दृष्टिकोणको दायरा बढाउनुपर्छ भनेका छौँ । तर, त्यो कुन रूपमा, कसरी भन्ने विषय प्रवेश भइसकेको छैन । 

अरू दलहरूसँग संवाद गर्नेलगायतका विषयमा कांग्रेस अब के गर्छ ?

आज उहाँहरूसँग मात्रै संवाद भएको हो । संवाद सकेर उठ्दा संवादलाई निरन्तरता दिने र माओवादी केन्द्रसँगको पनि संवाद गरिसकेपछि फेरि पनि बस्ने भन्ने सहमति गरेका छौँ । 

अनि कांग्रेस, माओवादी र जसपाको गठबन्धन बन्दै गर्दा कांग्रेसले त्यसको नेतृत्व गर्ने हो कि कांग्रेस अरू पार्टीको नेतृत्व स्विकार्न पनि तयार हुन्छ ? 

अहिले हामी त्यो विषयमा प्रवेश नै गरेका छैनौँ, किनभने पार्टीमा आज जम्मा एउटा पदाधिकारीको बैठक भएको हो । त्यसपछि जसपासँग संवाद भएको हो । कांग्रेसभित्र ओलीजीप्रतिको बुझाइमा एकखालको मनोवैज्ञानिक एकताको वातावरण बनेको छ । तर, एकताको वातावरण बन्नु र निर्णय गर्ने फरक हुन् । अब चाँडै परिपक्व समय बन्ने आशा गरौँ ।