मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ फाल्गुण २८ शुक्रबार १७:४०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

६ अर्ब पर्ने युरेनियमसहित काठमाडौंमा चारजना पक्राउ, मुख्य व्यक्ति अमेरिकामा 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ फाल्गुण २८ शुक्रबार १७:४०:००

नेपालमा पहिलोपटक युरेनियम बरामद भएको छ । करिब २० वर्षअघि भारतबाट ल्याएर बौद्धस्थित एक घरमा लुकाइराखेको दुई किलो युरेनियम प्रहरीले बिहीबार बरामद गरेको हो । बरामद युरेनियमको मूल्य करिब ६ अर्ब पर्ने प्रहरीले जनाएको छ । ग्राहक बनेर गएका बिक्री गर्न खोज्ने नारायणसिंह तामाङ, जानुका तामाङ, प्रकाश चौहान र मनोज न्यौपाने पक्राउ गरेको छ ।

राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा बरामद वस्तु युरेनियम नै भएको पुष्टि भएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए । उनले भने, ‘बरामद धातु युरेनियम भएको पुष्टि भएको छ, यसको अहिले मूल्य करिब ५/६ अर्ब पर्छ भन्ने छ ।’ 

प्रहरीका अनुसार हाल अमेरिकामा रहेका अमर लामाले करिब २० वर्षअघि सो युरेनियम भारतबाट ल्याएको खुलेको छ । उनकै आफन्त पर्ने राधिका तामाङले नारायणमार्फत ग्राहक खोजी गरेपछि प्रहरी ग्राहक बनेर गएका थिए । प्रहरीले अमेरिका रहेका लामासँग समेत यसबारे बुझ्ने प्रयास गरेको थियो । उनले भारतमा खानीमा काम गर्ने र त्यही वेला लुकाएर ल्याएको बताएका छन् । ८० वर्ष पुगेका लामा हाल बिरामी रहेकाले थप कुरा खुल्न नसकेको प्रहरी स्रोत बताउँछ । 

नास्ट स्रोत भने हालसम्म बरामद वस्तु युरेनियम नै भएको भनेर पूर्ण रूपमा पुष्टि भइनसकेको बताउँछ । युरेनियमसँग मिल्दोजुल्दो भएको नास्टका एक वैज्ञानिकले बताए । 

बरामद युरेनियम प्रशोधित होइन । प्राकृतिक किसिमको भएकाले त्यसलाई युरेनियम २३८ भनिएको छ । प्रशोधित युरेनियमलाई २३५ भनिन्छ, जसको बजार मूल्य एक किलोको नै करिब १८ अर्ब हुने दाबी प्रहरीले पत्रकार सम्मेलनमा गरेको छ । युरेनियम विद्युत् निकाल्न तथा आणविक बम बनाउन प्रयोग हुने गर्दछ । पृथ्वीमा यो धातु थोरै मात्र भएकाले बहुमूल्य बनेको वैज्ञानिकहरू बताउँछन् । 

प्रहरीले डेढ अर्बमा डिल गरेर युरेनियम किन्ने योजना बनाई बरामद गरेको हो । त्यसका लागि १० दिनअघि नै केही नमुना बरामद गरी परीक्षणमा पठाएको थियो । नास्टले युरेनियम नै हुन सक्ने बताएपछि प्रहरीले थप बरामद गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । उनीहरूविरुद्ध विस्फोटक पदार्थ ऐनअनुसार प्रहरीले कारबाही अघि बढाएको छ ।