मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण २८ शुक्रबार १७:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तासमीकरणबारे कांग्रेस र जसपाबीच छलफल सुरु

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २८ शुक्रबार १७:२७:००

समसामयिक राजनीतिक परिवेश, संसद् र सरकारमा सहकार्यका विषयका कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच छलफल सुरु भएको छ ।
 छलफलका लागि जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महताे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेका छन् ।

छलफलमा समसामयिक राजनीतिक विषयहरू, संसद् र नयाँ सत्तासमीकरणका विषयमा छलफल हुने बैठकमा सहभागी एक नेताले जानकारी दिए । २३ फागुनको अदालतको फैसलाले तत्कालीन नेकपाको एकता भंग भएपछि पुनर्स्थापित संसदमा जसपा निर्णायक भूमिकामा रहेको छ ।

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन जसपाको साथ खोजिरहेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस र जसपासँग मिलेर नयाँ सरकार बनाउने दौडमा छन् । 

संसदमा निर्णायक भूमिकामा रहेको जसपाले सबै पक्षसँग छलफल गरेर मात्रै निर्णय लिने भनेपछि चरणबद्ध रूपमा छलफल भइरहेको छ । त्यहीअनुसार सहकार्यका विषयमा छलफल गर्न जसपा र कांग्रेस छलफलमा जुटेका हुन् । 

जसपाले आफ्ना सांसद रेशम चौधरीको रिहाइ हुनुपर्ने, मधेस र थारू आन्दोलनका विभिन्न राजनीतिक मुद्धामा क्षतिपूर्ति र सफाइ तथा संविधान संशोधनको माग अघि सारेको छ । ती मागहरूसहित जसपाले बिहीबारै प्रधानमन्त्री ओलीसँग पनि संवाद गरेको थियो । 

जसपासँग छलफल गर्नुअघि देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका थिए । कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने शुक्रबार बिहान मात्रै बैठक बसेर ओलीको बहिर्गमनका लागि वैकिल्पक गठबन्धनको नेतृत्व गर्न देउवालाई दबाब दिने निर्णय गरेको थियो ।