१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ फाल्गुण २८ शुक्रबार १२:३३:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकी कंग्रेसद्वारा १९ खर्ब डलरको राहत प्याकेज स्वीकृत    

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण २८ शुक्रबार १२:३३:००

अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलरको कोभिड– १९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कंग्रेस)ले अनुमोदन गरेको छ । राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन भएको विषयलाई आफ्नो महत्वपूर्ण विजय मानेका छन् ।    

बाइडेन ह्वाइटहाउसमा प्रवेश गरेको करिब सात हप्तापछि कंग्रेसबाट उक्त विधेयक पारित भएको छ, तर कंग्रेसमा भएको मतदानमा २२०–२११ मत खसेको थियो । अर्थात् कंग्रेसमा बहुमतमा रहेका डेमोक्रेट सदस्यहरूले विधेयकको पक्षमा मतदान गरेका भए पनि रिपब्लिकन पार्टीले विपक्षमा मतदान गरेको थियो ।  

यो विधेयकलाई अमेरिकी माथिल्लो सदनले चार दिनअघि बहुमतका आधारमा पारित गरिसकेको छ । अमेरिकी श्रमिकको प्रतिघन्टा पारिश्रमिक १५ डलर पुर्‍याउने प्रस्तावलाई विधेयकबाट हटाइए पनि सिनेटमा रिपब्लिकन पार्टीका सदस्यहरूले विधेयकको विपक्षमा मतदान गरेका थिए ।  

कंग्रेसले विधेयक पारित गरेसँगै राष्ट्रपति बाइडेनले ट्विट गर्दै कंग्रेसलाई धन्यवाद दिएका थिए । उनले विधेयकमा यही शुक्रबार हस्ताक्षर गरेसँगै राहत प्याकेज कार्यान्वयनमा आउनेछ ।  

प्रस्तावित विधेयकमा निकै महत्वपूर्ण मानिएको विषय हो अधिकांश अमेरिकी नागरिकलाई एक हजार चार सय डलर उपलब्ध गराउने । यसबाहेक हरेक साता तीन सय डलर आपतकालीन बेरोजगार भत्ता आगामी सेप्टेम्बरसम्म उपलब्ध हुनेछ । तर, यो विधेयकले त्यति मात्र कुरा समेटेको छैन । यो विधेयकले डेमोक्रेटले चुनावमा व्यक्त गरेका प्रतिज्ञा र बाइडेनको सर्वाधिक प्राथमिकतामा मुलुकको अर्थतन्त्रको पुनरुद्धार दुवै समेटेको छ । 

अमेरिकामा कोरोना भाइरस महामारीले सिर्जना गरेको मानवीय क्षति र आर्थिक क्षति निकै कहालीलाग्दो अवस्थामा पुगिसकेको बाइडेनको ठहर छ । यसलाई सम्बोधन गर्न प्रभावकारी कदम जरुरी भइसकेको बाइडेनले बताउँदै आएका छन् । संयुक्त राज्य अमेरिकामा कोभिड– १९ को संक्रमणबाट पाँच लाख २५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।  

अमेरिकी कंग्रेसकी सभामुख नान्सी पेलोसीले पनि कोरोना भाइरस महामारीका कारण देशका सामुन्ने उत्पन्न समस्या सम्बोधन गर्न सरकार र संसद् एकै ठाउँमा आएकोमा आभार व्यक्त गरिन् । बाइडेन प्रशासनले अघि सारेको १९ खर्ब डलरको राहत योजनाले कोभिड– १९ सँग सम्बन्धित कार्यक्रममा खर्च गर्ने, संकटमा परेका परिवारलाई राहत दिने, रोजगारी जोगाउने र नयाँ रोजगार सिर्जना गर्ने विश्वास लिइएको छ ।  

देशको ऋणभार २२ ट्रिलियन डलर पुगे पनि डेमोक्रेट र रिपब्लिकन पार्टीले यसप्रति खासै वास्ता गरेका छैनन् । करिब ६ सय २८ पृष्ठ लामो यो विधेयकले खासगरी न्यून र मध्यम आय भएका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारको प्रयत्न समेटेको छ । बालबच्चा, बालस्याहार र पारिवारिक बिदा बस्दा करछुट दिने समयावधि अहिले बढाइएको छ, र कतिपय डेमोक्रेट सदस्यहरू यो व्यवस्थालाई स्थायी रूपमै उपलब्ध गराउन प्रयासरत छन् ।    

प्रत्यक्ष भुक्तानी र बेरोजगार भत्ताका अलावा यस विधेयकले कोभिड– १९ को खोप र उपचार, स्कुल, राज्य र स्थानीय सरकार तथा विमानसेवादेखि कन्सर्ट हलसम्मका संकटग्रस्त उद्योग, व्यवसायका लागि अर्बौं डलरको व्यवस्था गरिएको छ । साथै किसानलाई राहत, निवृत्तीभरण प्रणाली र विद्यार्थी ऋण तथा स्वास्थ्य बिमा खरिद गर्नेहरूका लागि अनुदान तथा थोरै आर्जन गर्नेहरूका लागि मेडिकेड खरिद गर्न राज्यहरूलाई रकम उपलब्ध गराउने प्रावधान नयाँ विधेयकमा छ ।    

तर, यी निकै राम्रा प्रावधानहरू प्रस्तावित राहत प्याकेजमा समेटिए पनि रिपब्लिकनहरू त्यति खुसी छैनन् । उनीहरूको भनाइमा अतिरिक्त खर्चले राष्ट्रमाथि अतिरिक्त बोझ सिर्जना गर्नेछ ।  यद्यपि राष्ट्रव्यापी जनमत सर्वेक्षणहरूले बाइडेनको राहत प्याकेजलाई डेमोक्रेट र स्वतन्त्र व्यक्तिसहित कैयौँ रिपब्लिकनले समर्थन गरेको देखाएको छ ।