मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण २८ शुक्रबार ११:०८:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

सामुदायिक वनबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन 

Read Time : > 2 मिनेट
२०७७ फाल्गुण २८ शुक्रबार ११:०८:००

स्थानीयको घर, गोठ बनाउन भन्दै जेसिबी प्रयोग गरी जंगली जनावरको वासस्थानबाट गिटी र बालुवा निकालियो

मेघौलीको राप्ती नदीबाट जथाभावी गिटी र बालुवा उत्खनन भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सिफारिस देखाउँदै सदावहार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत टाइगर टप्स घाटबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन भएको हो ।

बुधबारदेखि तीनवटा जेसिबीको सहयोगमा ६२ वटा ट्र्याक्टरले नियमित गिटी र बालुवा बोकेका छन् । स्थानीयको घर, गोठ बनाउन भन्दै गिटी र बालुवाको उत्खनन भएको हो । वडाध्यक्ष र उपभोक्ता समितिको सिफारिसपछि मात्रै बालुवा, गिटी स्थानीय उपभोक्ताले पाउने व्यवस्था रहे पनि सोअनुसारका कागजात छानबिन गर्ने संयन्त्रविनै निकासी भएका छन् ।

राजस्व संकलन र टिपोटका लागि सामुदायिक वन र निकुञ्जका कर्मचारी खटिए पनि कहाँ, कति नयाँ घर, गोठ बनाउन माग भएको भन्नेबारे स्थलगत रूपमा खटिएका कर्मचारीलाई नै जानकारी छैन । पहुँचका आधारमा उपभोक्ताले समेत कसैले १५ टिपसम्म पाएका छन् भने कसैले पाँच टिपमै चित्त बुझाउनुपरेको छ । केही व्यवसायीले भने उत्खनन गरिएको गिटी र बालुवा स्टोर गरेर राखेको स्थानीयको आरोप छ ।

मध्यवर्ती क्षेत्र मेघौली उपभोक्ता समितिअन्तर्गतका २१ उपभोक्ता समितिका ८१ वटा समूह छन् । उपभोक्ता समितिले यिनै समूहबाट आएका माग पेस गरेर निकुञ्जबाट अनुमति लिने गर्छ । माग धेरै भएकाले मध्यवर्तीले एकैसाथ सालबास र टाइगर टप्स घाटबाट बालुवा, गिट्टी झिक्न प्रस्ताव गरे पनि निकुञ्जले अस्वीकार गर्दै एउटा मात्र घाटलाई अनुमति दियो । तर, उत्खनन व्यवस्थित हुन सकेको छैन । 

जंगली जनावरको चरीचरन र घडियाल गोहीको वासस्थानमा उत्खनन् 
मेघौली उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरी भने सक्ने जति व्यवस्थित ढंगबाट काम गरेको बताउँछन् । निकुञ्जले एउटा घाट मात्र सिफारिस गर्दा यो समस्या आएको भन्दै उनी उम्कन खोजे । ‘मेरो घरका लागि हैन, सबै उपभोक्ताका लागि हो,’ उनले भने, ‘सकेको जति निकासी र वितरण व्यवस्थित ढंगबाट भएको छ ।’

वार्षिक रूपमा १० हजार टिप माग भए पनि निकुञ्जले विकास निर्माण कामसहित ६ हजार टिप मात्र दिने गरेको उनी बताउँछन् । माग धेरै तर अनुमति थोरै र निश्चित ठाउँ तोक्दासमेत समस्या भएको उनले बताए । तीन दिनका लागि खुलेको सो घाट शिवरात्रिका कारण बिहीबार बन्द भए पनि अझै दुई दिन उत्खनन कार्य हुनेछ । सिफारिसअनुसार तीन दिनमा एउटा ट्र्याक्टरले २० टिप ढुवानी गर्न सक्छ । 

उत्खनन भएको यो क्षेत्र जंगली जनावरको चरीचरन र घडियाल गोहीको वासस्थान क्षेत्र पनि हो । यो समय घडियालले बालुवामा फुल पार्ने हो । राप्तीको बगरमा जथाभावी उत्खनन हुन थालेपछि संरक्षणकर्मी तथा पर्यटन व्यवसायीसमेत चिन्तित बनेका छन् । संरक्षणकर्मी मनीष लिम्बूले बगरबाट जथाभावी बालुवा, गिटी झिक्दा आश्रित चरा तथा जनावरलाई प्रत्यक्ष असर पुग्ने बताउँदै यसको विकल्प खोज्नुपर्ने बताए । ‘जनताले पनि नदीजन्य पदार्थ उपभोग गर्न पाउनुपर्छ, तर कम क्षति हुने गरेर अन्य घाट खोज्न सकिन्थ्यो,’ उनले भने, ‘गोही, चराले अन्डा पार्ने वेला नै बालुवा खोतलिदिएपछि उनीहरू कहाँ जाने, ट्र्याक्टरको कुदाइ र ध्वनिले समेत कैयन् जनावरमा आतंक सिर्जना भएको छ ।’ बर्सेनि घाटबाट नदीजन्य पदार्थ उत्खनन हुँदै आए पनि कुनै अध्ययनविनै अनुमति दिँदा जैविक विविधतामा प्रत्यक्ष असर पुग्ने गरेको उनी बताउँछन् । 

टाइगर टप्समा जथाभावी उत्खनन भएको सूचना पाएपछि चितवन राष्ट्रिय निकुञ्जले स्थलगत अनुगमन गर्ने जनाएको छ । निकुञ्ज प्रमुख अणनाथ बरालले भने, ‘उत्खननबारे गुनासा आएका छन्, हामी अनुगमन गर्छौं । स्थानीयको संरक्षणमा भूमिका महŒवपूर्ण छ, उहाँहरूलाई गिट्टी र बालुवा पनि आवश्यक, तर गलत ढंगबाट उत्खनन भएको छ भने कारबाही गर्छौं ।’

ट्र्याक्टर व्यवसायीलाई नाफा 
निकुञ्ज क्षेत्रनजिक रहेकाको घर, गोठ बनाउन उत्खनन गरिएको दाबी गरिए पनि स्थानीय उपभोक्ताले प्रतिट्र्याक्टर गिट्टी बालुवाको दुई हजार रुपैयाँसम्म बुझाउनुपर्छ । वन समिति र निकुञ्जलाई कर बुझाउनुपर्ने भन्दै यो रकम व्यवसायीहरूले तोकेका हुन् । व्यवसायीहरूले सामुदायिक वनमा प्रतिटिप दुई सय, मध्यवर्तीलाई तीन सय र चितवन राष्ट्रिय निकुञ्जलाई बालुवाको ६९ र गिट्टीको ५१ रुपैयाँ प्रतिटिप तिर्नुपर्छ ।