Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण २७ बिहीबार २२:०३:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

किन पार्टीको नाम फेर्न थाले प्रचण्डले ?

नेपाली कम्युनिस्ट पार्टी वा नेकपाको पछाडि उपयुक्त फुर्को झुन्ड्याउने प्रस्ताव

Read Time : > 5 मिनेट
२०७७ फाल्गुण २७ बिहीबार २२:०३:००

शान्तिप्रक्रियापछि नाम परिवर्तनका शृंखला

- नेकपा माओवादी र एकता केन्द्र मशालबीच ०६५ पुसमा एकतापछि पार्टीको नाम एकीकृत नेकपा माओवादी
- माओवादी समूहका विभिन्न १० घटकको एकतापछि ६ जेठ ०७३ मा माओवादी केन्द्र
- माओवादी केन्द्र र एमालेबीच एकतापछि ३ जेठ ०७५ मा नेपाल कम्युनिस्ट पार्टी नेकपा
- सर्वोच्च अदालतले २३ फागुन ०७७ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता बदर हुने गरी फैसला दिएपछि एमाले र माओवादी केन्द्र अस्तित्वमा
- २६ फागुन ०७७ को माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नाम परिवर्तनबारे छलफल सुरु, उपयुक्त समयमा नाम परिवर्तन गर्ने प्रचण्डको भनाइ

......

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम परिवर्तन गर्ने मनस्थिति बनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको दल निर्वाचन आयोगमा पहिला नै दर्ता रहेको भन्दै आइतबार सर्वोच्चले नेकपाको एकता बदर हुने गरी फैसला दिएपछि पार्टीको नाम परिवर्तन गर्न प्रचण्डलाई अन्य नेताले पनि सुझाब दिएका छन् । 

बुधबार सम्पन्न स्थायी कमिटी बैठकमा पार्टीको नाम परिवर्तन गर्ने विषयमा छलफल भएको, तर औपचारिक निर्णय नभएको स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए । ‘स्थायी कमिटीमा नाम फेर्नेबारे छलफल भएको छ । पार्टी अध्यक्ष प्रचण्ड नाम फेर्ने विषयमा तयार हुनुभएको छ । तर, कमिटीमा औपचारिक निर्णय भएको छैन,’ शर्माले भने । 

नेता नारायणकाजी श्रेष्ठले नाम परिवर्तनका लागि विभिन्न नाम प्रस्ताव गरिएको बताए । नेता श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेपाल कम्युनिस्ट पार्टीका पछाडि कुनै उपयुक्त फुर्को राख्ने प्रस्ताव गरेका छौँ ।’ 

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार र बुधबार बसेको थियो । बैठकले संगठन निर्माणको योजना बनाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा स्थायी समिति सदस्यहरू जनार्दन शर्मा, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र वर्षमान पुन छन् । बिहीबार कार्यदलको बैठक बसे पनि यस विषयमा छलफल नभएको नेता शर्माले बताए ।

२३ फागुनमा अदालतको फैसलापछि निर्वाचन आयोगले दुवै पार्टी पूर्ववत् रूपमा ब्युँतिएको र पार्टी एकता गर्ने भए १५ दिनभित्र प्रक्रिया पु¥याएर आवेदन दिन पत्राचार गरेलगत्तै माओवादी केन्द्रमा पार्टीको नाम परिवर्तनले प्रवेश पाएको हो । पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेपाल कम्युनिस्ट पार्टीका पछाडि उपयुक्त पुच्छर झुन्ड्याएर हेरफेर गर्न सकिने प्रचण्डलाई नेताहरूको सुझाब छ । 

पेरिसडाँडामा झुन्डाइएको नेकपाको साइनबोर्डको निकाल्ने प्रसंगमा स्थायी कमिटी बैठकमा नेता शर्माले ऋषि कट्टेल नेतृत्वको नेकपासँग एकता गरेर नेकपालाई नै निरन्तरता दिने प्रस्ताव गरेका थिए । ‘नेकपाको साइनबोर्ड छ । अब ऋषि कट्टेललाई पार्टीमा ल्याउँ र नेकपालाई निरन्तरा दिउँ, त्यही नाम र्नै सजिलो होला,’ शर्माको प्रस्ताव थियो । लगत्तै प्रचण्डले विभिन्न व्यक्तिले पार्टीको नाम फेर्न सुझाब दिएको र त्यसमा आफू सकारात्मक रहेको सुनाएका थिए ।

त्यसपछि नेता श्रेष्ठले ऋषि कट्टेल आउँदैनन् । बरु नेपाली कम्युनिस्ट पार्टी वा नेपाल कम्युनिस्ट पार्टीका पछाडि कुनै उपयुक्त फुर्को राख्ने प्रस्ताव गरेका थिए । स्थायी कमिटीका एक सदस्यका अनुसार जवाफमा प्रचण्डले भनेका थिए, ‘सुझाब धेरै आएका छन्, नाम फेर्नुपर्छ । तर, अहिले हतार भएन, छलफल गर्दै जाउँ, उपयुक्त समयमा उपयुक्त निर्णय लिउँला ।’

तत्कालीन एमालेसँगको एकता विभाजनमा परिणत भएपछि प्रचण्ड र माधवकुमार नेपालले नेकपा प्रचण्ड–नेपाल समूहको नेतृत्व गर्दै आएका थिए । तर, अदालतको पछिल्लो फैसलाले पूर्वपार्टीहरू ब्युँतिएपछि नेपाल समूह पूर्ववत् रूपमा एमालेमै क्रियाशील हुने निर्णयका साथ अघि बढेको छ भने अर्को समूहको नेतृत्व गरिरहेका अध्यक्ष ओली पनि पूर्ववत् एमाले अध्यक्षकै हैसियतमा क्रियाशील भइरहेका छन् । एमालेसँगको एकताको औचित्यलाई पुष्टि गर्न पनि माओवादी केन्द्र नाम फेर्ने निष्कर्षमा पुगेको माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले बताए । एमालेमै क्रियाशील भएको नेपाल समूहमाथि ओली समूहले विभेद गर्ने र त्यही कारण अन्तर्संघर्ष चर्किने सम्भावना देखिएकाले पार्टी एकताको औचित्य पुनस्र्थापित गर्न पनि माओवादी केन्द्रले नाम परिवर्तन गर्न लागेको हो । 

‘सांसद र जनप्रतिनिधि पूर्ववत् रूपमै पार्टीमा क्रियाशील हुनुपर्ने एउटा बाध्यता पनि होला, तर पार्टीका अरू नेता–कार्यकर्तालाई त्यस्तो बाध्यता छैन, त्यसैले पार्टी एकीकरणको लक्ष्य समाजवादसम्मको यात्रा भएकाले त्यसलाई पुष्टि गर्न पनि नाम परिवर्तन गरेर नयाँ नाम राख्ने प्रस्ताव गरेका हौँ,’ ती सदस्यले भने, ‘कम्युनिस्ट आन्दोलनलाई एकीकृत रूपमा अगाडि बढाउनुको कुनै विकल्प छैन ।’

माओवादी केन्द्रले शान्तिप्रक्रियामा आएपछि तीनपटक पार्टीको नाम परिवर्तन गरिसकेको छ । शान्तिप्रक्रियापछि नेकपा माओवादी, पूर्व एकता केन्द्र मशालको नारायणकाजी श्रेष्ठसँगको ०६५ मा एकतापछि एकीकृत नेकपा माओवादी तथा पछिल्लोपटक विभिन्न साना वामघटकलाई पार्टीमा भिœयाएपछि नेकपा (माओवादी) केन्द्रका रूपमा उसले पार्टीको नाम परिवर्तन गरिसकेको छ । 

तत्कालीन प्रचण्ड नेतृत्वको एकीकृत (माओवादी)सहित क्रान्तिकारी माओवादीको असन्तुष्ट समूह, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी), नेकपा (माओवादी विद्रोही), नेकपा (फुर्पा–अनिल समूह), गौरवशाली पार्टी, नयाँ शक्तिबाट आएको समूह, तिलक परियार र जयपुरी घर्ती नेतृत्वको समूहबीच एकता भई ६ जेठ ०७३ मा माओवादी केन्द्र बनेको थियो । यही एकतामा रामबहादुर थापा बादल, मणि थापा र मात्रिका यादव पनि प्रचण्डको पार्टीमा समाहित भएका थिए । तर, पछि माओवादी केन्द्र र एमालेबीच ३ जेठ ०७५ मा एकता भई नेकपा बनेको थियो । तर, अदालतले दुई पार्टीको एकता बदर गरिदिएपछि प्रचण्ड आफ्नो नेतृत्वको नेकपा माओवादी केन्द्रको नाम परिवर्तन गर्ने निष्कर्षमा पुगेका हुन् । नेकपा विभाजनपछि बादल र थापा केपी ओली नेतृत्वको नेकपामा लागेका छन् ।

......

ओलीविरुद्धको १९ पेजको ‘डकुमेन्ट’ ‘बमबार्ड द हेडक्वार्टर’: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण उपलब्धि ध्वस्त हुने खतरा देखेपछि आफूले प्रधानमन्त्री केपी ओली प्रवृत्तिविरुद्ध १९ पृष्ठको ‘डकुमेन्ट’ लेखेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित भरत ढुंगानाको स्मृति–ग्रन्थ सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रचण्डले ‘डकुमेन्ट’ लेखनलाई ओली प्रवृत्तिविरुद्ध ‘बमबार्ड द हेडक्वार्टर’ भएको बताए ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाभित्र अध्यक्ष ओलीसँग अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विवाद चर्किएपछि पत्रयुद्ध नै चलेको थियो । प्रचण्डले माधवकुमार नेपालसँग मिलेर २८ कात्तिकमा ओलीविरुद्ध १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पार्टी सचिवालय बैठकमा प्रस्तुत गरेका थिए । 

ओलीमाथि राजकीय हैसियतको दुरुपयोग गरेको आरोप लगाइएको उक्त प्रतिवेदन बैठकमा पेस भएपछि नेकपाभित्रको विवाद थप उल्झनमा परेको थियो । त्यसपछि ओली पक्षले उक्त प्रतिवेदन फिर्ता लिनुपर्ने अडान लिएको थियो भने प्रचण्ड–माधव पक्षले उक्त प्रतिवेदनमाथि छलफल गरेर ओलीले आत्मालोचनासहित विकल्प खुला गर्नुपर्ने बताएको थियो । अन्ततः सो प्रतिवेदनमाथि न त छलफल भयो न पार्टी एकता नै कायम रहन सक्यो ।

प्रचण्डले अहिले त्यही प्रतिवेदनको प्रसंग कोट्याउँदै सम्पूर्ण उपलब्धि ध्वस्त हुने खतरा भएपछि लेखेको दाबी गरेका हुन् । ‘मैले केपी प्रवृत्तिका विरुद्ध जानीबुझी सम्झौता गर्दा सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि अब फेरि जेल जान परे पनि तयार, मर्न पनि तयार हुन्छु भनेको हुँ । यो प्रवृत्तिमाथि प्रहार गर्नैपर्छ भनेर गरेको हुँ,’ प्रचण्डले भने, ‘त्यो गर्दै गर्दा मलाई ‘बमबार्ड द बुर्जुवा हेडक्वार्टर’ गरेँ भन्ने लागेको छ ।’ 

उनले पार्टीभित्रै लडाइँ हुने भन्दै त्यसबाट अघि बढ्ने धारणा राखे । उनले ‘केपीप्रवृत्ति’विरुद्ध बाटोमा गएर पलेँटी कस्दा आफू जनतासँग जोडिएको अनुभूति भएको सुनाए । आफूले फेरि जनतासँग जोडिने र देशव्यापी अभियान चलाउने सोच बनाएको उनको भनाइ थियो । ‘म काठमाडौंभन्दा फेरि दुई–चार वर्ष जनताको बीचमा गएर बस्ने विचार छ । किनभने देशभित्र र बाहिरका प्रतिक्रियावादीले हाम्रो राष्ट्र र आन्दोलनका विरुद्ध निकै ठूलो षड्यन्त्र गरिरहेका छन् । हाम्रा उपलब्धि र परिवर्तनमाथि धावा बोल्ने कोसिस गरिरहेका छन् । त्यसलाई परास्त गर्नुछ,’ उनले भने ।

राजनीतिक हिसाबले सामन्ती तन्त्रमाथि विजय हासिल गरे पनि राष्ट्रिय स्वाधीनताको लडाइँ पूर्ण नभएको उनको भनाइ थियो । ‘प्रतिक्रियावादी देशी–विदेशी शक्तिले नेपालको राष्ट्रिय स्वाधीनतालाई, नेपाली जनताको आत्मनिर्णयको अधिकार फेरि एकचोटि जबर्जस्ती कुल्चिने दुस्साहस गरिराखेका छन् । म चिन्तित छु, आक्रोशित छु र आफैँ आन्दोलित पनि छु, साथीहरू विचार गर्नुहोला,’ उनले भने ।

त्यसअघि बिहीबार नै केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक उपलब्धि र आन्दोलनको रक्षाका निम्ति देशव्यापी अभियान चलाउने बताए । ‘देशभित्र र बाहिरका प्रतिक्रियावादीले निकै ठूलो षड्यन्त्र गरिरहेका छन् । त्यसलाई परास्त गर्नु छ । मलाई विश्वास छ– परास्त गरिन्छ । हामीले आफ्नै धर्तीमा टेकेर मात्रै पनि परास्त गर्न सकिन्छ । हामी आफ्नै शक्तिमा भर परेर परास्त गर्न सकिन्छ,’ उनले भने । 

अहिले युद्ध गर्नुपर्ने स्थिति नभएको भन्दै शान्तिपूर्ण ढंगले नै आफ्नो खुट्टामा उभिएर जनतासँग जोडिने अभियान चलाएर प्रतिक्रियावादीहरू परास्त गर्न सकिने उनको भनाइ थियो । उनले आफूभित्र आवेग र आक्रोश रहेको भन्दै नेपालको स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोले नेपाली जनतालाई विद्रोह गर्ने अधिकार हुने बताए । 

‘प्रतिक्रियावादी तत्वहरू यही माओवादी आन्दोलनले ल्याएका उपलब्धिलाई के गरी ध्वस्त पार्न सकिएला र माओवादी आन्दोलनले तयार गरेको नेतृत्वको टिम, त्यसमध्ये एक नम्बरमा अहिले पनि रहेको प्रचण्डलाई के गरी निस्तेज पार्ने होला भन्नेमा नै सबैको ध्यान छ,’ उनले भने, ‘भ्रममा कोही नरहनुहोला । मभित्र फेरि एकचोटि आवेग र आक्रोश छ । नेपालको स्वतन्त्रतामाथि, नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोल्छन् भने नेपाली जनतालाई फेरि एकचोटि विद्रोह गर्ने अधिकार हुन्छ ।’

उनले नेपालमा शान्तिपूर्ण ढंगले जनविद्रोह गर्न सकिने सम्भावना रहेको बताए । नेपालले प्राप्त गरेको उपलब्धिलाई निमोठ्ने र नेपाललाई कब्जामा राख्ने काम प्रतिक्रियावादीले गरिरहेको भन्दै उनले आन्दोलनबाट प्राप्त जागरणलाई केन्द्रित गरेर ‘कलरफुल रिभुलेसन’ विरुद्धको षड्यन्त्रलाई चकनाचुर पार्न सकिने बताए ।

प्रचण्डले नेत्रविक्रम चन्द विप्लवतिर संकेत गर्दै छलफल गरेर एकै ठाउँमा आउन आह्वान गरे । ‘कति बस्‍नुपर्ने हो बसौँ, एउटा निष्कर्ष निकालौँ । वैज्ञानिक समाजवादको निम्ति, साम्यवादको निम्ति म लड्न तयार छु । मेरो विचारमा म लडिरहेको छु, तपाईंको विचारमा तपाईंहरू पनि लडिरहनुभएको छ,’ उनले भने । 

ढुंगानाको स्मृति–ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमका वक्ता विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरहीको यही व्यवस्थाबाट संकटको समाधान नहुने भनेर गरेको तर्कको जवाफ दिँदै उनले आफूले स्थापित गरेको एजेन्डालाई स्वीकार गर्न आग्रह गरे । 

‘अहिले पनि मलाई संसद्का लागि मात्रै लड्यो भन्ने तर्क आयो । अलिकति भएको उपलब्धिलाई केही पनि होइन भन्दै एक्लै बसेर हुन्छ त ?’ उनले भने, ‘तपाईंहरूलाई मैले सबै गुमाइदियो भन्ने लागेको छ । हप्ता दश दिन बसेर शास्त्रार्थ गरौँ, तपाईंहरूले जित्नुभयो भने म तपाईंहरूको पछि लाग्छु । मलाई केही डर छैन ।’ उनले आफूले गर्न खोज्दाखोज्दै पनि भनेजति गर्न नसकेको स्वीकार गरे ।