मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ फाल्गुण २७ बिहीबार ०८:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दैलेख घटना : आमासहित तीन छोराछोरीको अन्त्येष्टि, कान्छी छोरी अझै बेपत्ता

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २७ बिहीबार ०८:३७:००

तीन दिनअघि कर्णालीमा हामफालेर आत्महत्या गरेका दैलेख आठविस नगरपालिका–३ निमाइलका एकै घरका चारजनाको अन्त्येष्टि गरिएको छ । आमा सुकु बडुवालसहित चार छोराछोरीको कर्णालीको किनारमै अन्त्येष्टि गरिएको हो । कान्छी छोरी अझै बेपत्ता छन् । 

जिल्ला प्रहरी कार्यालय दैलेखले १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवाल तथा आठ वर्षीय छोरा ललित बडुवालको शव कर्णाली नदीको किनारमै अन्त्येष्टि गरिएको जानकारी दिएको छ । 

एकै परिवारका पाँचजनाले सामूहिक रूपमा कर्णालीमा हामफालेर ज्यान गुमाएपछि घटना निकै गम्भीर भएकाले जिल्ला प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए । उनी आइतबारदेखि नै आठविस नगरपालिका निमाइलमै छन् । बेपत्ता बालिका खोज्न र घटनाको विभिन्न तरिकाबाट अध्ययनका लागि आफू नगरपालिकामै बसेको उनको भनाइ छ । ‘घटना निकै गम्भीर छ, गरिबी हो वा घरेलु हिंसाका कारण वा अन्य कुन कारणले यस्तो दुःखान्त भयो, यसको निष्पक्ष छानबिन गरी घटनामा संलग्न जोकोहीलाई पनि कानुनी दायरमा ल्याउन आफैँ घटनास्थलमा खटिएको छु, चाँडै सत्यतथ्य कुरा बाहिर ल्याउँछौँ,’ प्रहरी प्रमुख अनुपम श्रेष्ठले भने । 

आइतबार राति घरबाट बेपत्ता भएकी सुकु बडुवाल चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेको र जसमध्ये चारजनाको शव फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता भएकामध्ये कल्पना र सरिताकोे शव हात बाँधेको अवस्थामा सोमबार साँझ कर्णालीमा फेला परेको थियो । आमाले छोराछोरीलाई आफूसँगै बाँधेर कर्णालीमा हेलिएको खबर निकै संवेदनशील भएकाले यसको स्पष्ट छानबिन गर्न अधिकारकर्मीहरूले माग गरेका छन् । यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन स्थानीय सरकारले सबैभन्दा धेरै सचेत हुनुपर्ने उनीहरूको भनाइ छ ।