मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण २७ बिहीबार ०८:३५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जग भासिएपछि रसुवागढी नाकाको मितेरीपुल जोखिममा, नाका पुनः बन्द हुने जोखिम

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण २७ बिहीबार ०८:३५:००

चीनले निर्माण गरेको नेपाल–चीन अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीको मितेरीपुल जोखिममा परेको छ । नेपालतर्फको दायाँ भागको पिलरको जगमा क्षति पुग्दा पुल जोखिममा परेको हो । क्षति पुगेको पुल मर्मत नगरे नाका पुनः बन्द गर्ने चिनियाँ पक्षले जानकारी गराएको छ । शुक्रबार रसुवा प्रशासनले पुलको अवस्थाबारे अध्ययन गर्न गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनालाई आग्रह गरेको थियो ।

जानकारीलगत्तै आयोजनाका दुई कर्मचारीले स्थलगत अध्ययन गरेका छन् । अध्ययनका क्रममा नेपालतर्फको दायाँतर्फको पिलरको जग जोखिममा रहेको पाइएको आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । ‘बर्खाको समयमा बाढीले खोलेको देखिन्छ, त्यो स्कोरिङ भएको हो, समयमै मर्मत नगर्ने हो भने अबको बर्सातमा अझ बढी खोलिन्छ, त्यसले गर्दा उच्च जोखिममा पुग्ने देखिन्छ,’ उनले भने, ‘हामीलाई जानकारी आएको दुई घन्टामा दुईजना इन्जिनियर पठाएर स्थलगत अध्ययन गरेका छौँ ।’ 

तत्कालका लागि ग्याबिन वाल लगाएर संरक्षण गर्न सकिने भए पनि स्थायी रूपमा आरसिसी ढलान गरी कटअफ वाल लगाउनुपर्ने उनले बताए । ‘यसको मर्मतका लागि दुईवटा विकल्प छन्, तत्कालै गर्ने हो भने ग्याबिन जाली लगाई जगलाई संरक्षण गरेर बिस्तारै कटअफ वाल लगाउन सकिन्छ, बर्खामा जान्छ कि भन्ने हिसाबले हो भने आरसिसी वाल लगाएर जोगाउन सकिन्छ,’ उनले भने, ‘यसलाई स्थायी बनाउन आरसिसी ढलान कटअफ वाल लगाउनुपर्ने हुन्छ ।’  

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले नेपाल–चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको थियो । भूकम्पका वेला पहिरोसँगै आएको ढुंगा लागेर पुरानो मितेरीपुलको बीचभागमा ठूलो प्वाल पारेको थियो । पुरानो पुल काम नलाग्ने भएपछि भत्काएर उक्त ठाउँमा नयाँ पुल निर्माण गरिएको हो ।

चीन सरकारको लगानीमा तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एन्ड ब्रिजले सेप्टेम्बर २०१८ मा सुरु गरेर २०१९ मेमा यो पुलको निर्माण गरेको हो । पुरानो पुलभन्दा ५ मिटर उत्तर–पूर्वमा यो नयाँ पुल निर्माण भएको छ । पुलको लम्बाइ १ सय १४ मिटर र चौडाइ ९.५ मिटर रहेको छ । मितेरीपुलको निर्माणले दुई देशबीचको सम्बन्ध प्रगाढ हुने, व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने र चीन सरकारको वान बेल्ट वान रोडको अवधारणामा सहयोग पुग्ने विश्वास गरिएको थियो । 

पुलमा तत्काल समस्या नरहे पनि दीर्घकालीन रूपमा हेर्दा समस्या देखिएकाले मर्मतका लागि समन्वय गरिरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए ।  तर, नेपाली पक्षले पुलको मर्मत गर्ने हो भने पुल निर्माणको नक्सा, अल्पकालीन वा दीर्घकालीन कामबारे जानकारी, त्रुटि सच्याउने समय आवश्यक पर्ने आयोजनाका प्रमुख भण्डारीले बताए । यदि यो नभए मर्मत गर्न नसकिनेसमेत उनको भनाइ छ । चिनियाँ पक्षबाट भएको जति संरक्षण नेपाली पक्षले पनि गर्न सक्ने उनले बताए ।