मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार १४:२८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महाशिवरात्रिमा यसरी हुँदै छ ट्राफिक व्यवस्थापन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार १४:२८:००

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवं दर्शनार्थीको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाएको छ भने विभिन्न नाका भई भित्रिने भक्तजनहरूका लागि छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्धसमेत मिलाएको महाशाखाले जनाएको छ । भक्तजनको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारीसाधनलाई निर्बाध आवतजावतको व्यवस्था मिलाइएको साथै पार्किङ गर्ने स्थानहरूसमेत तोकिएको छ ।

नियमितजस्तै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रूपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ, तर भक्तजनको भिडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजनबाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । 

चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने उनले बताए । 

मालबाहक सवारीसाधनहरू तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने, सिनामंगल पुलबाट करिडोर हुँदै होटेल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालबाहक सवारीसाधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

दर्शनार्थी एवं भक्तजनहरूका सवारीसाधनहरूलाई वनकाली खुल्ला चौर, सिफलचौर, गुह्येश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारीसाधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारीसाधन गौशाला प्रहरी र वनकालीभित्र राखिनेछ ।

पागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुह्येश्वरीपारि पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिकाज होटेलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ ।

चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारीसाधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत महाशाखाले अनुरोध गरेको छ ।