मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण २६ बुधबार १०:०७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिडमा जोखिम मोलेका स्वास्थ्यकर्मी र कर्मचारी रित्तो हात घर फर्के 

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण २६ बुधबार १०:०७:००

काम गरेपछि जसलाई पनि पारिश्रमिकको आस हुन्छ । त्यो पनि कोभिडको वेला प्रयोगशालामा काम गर्न सजिलो थिएन । तर, कोभिड– १९ परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारी पाँच महिना काम गरेर रित्तो हात घर फर्किन बाध्य भएका छन् । उनीहरूले असोजदेखि फागुनसम्मको पारिश्रमिक पाएका छैनन् । प्रयोगशालामा कार्यरत ल्याब टेक्नोलोजिस्ट दुईजना, टेक्निसियन तीनजना, असिस्टेन्ट दुईजना, कम्प्युटर अपरेटर एकजना,  हेल्पर र कुक एक–एकजनाले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । 

जिल्लाका स्थानीय तहले ०७७ जेठ ३१ गतेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा कोभिड– १९ प्रयोगशाला र आइसोलेसन सेन्टर सञ्चालन गर्ने र प्रयोगशाला व्यवस्थापनका लागि प्रतिनगरपालिका १५ लाख र प्रतिगाउँपालिका १० लाख उपलब्ध गराउने निर्णय गरेका छन् । तर, केही स्थानीय तहले अझै रकम नदिएपछि प्रयोगशालाका १० कर्मचारी पारिश्रमिकबाट वञ्चित भएको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले जानकारी दिए । फागुनको पहिलो हप्तासम्म पनि आफूहरूले पारिश्रमिक बुझ्ने कुनै वातावरण नभएपछि रेसुंगा नगरपालिकाकासँग समन्वय गरेर घर फर्किएको ल्याब टेक्निसियन दीपेन्द्र पन्थीले गुनासो गरे । 

गुल्मी दरबार, कालिगण्डकी, सत्यवती, चन्द्रकोट र मुसिकोट नगरपालिकाले सहमतिअनुसारको रकम नदिएको रेसुंगा नगरपालिकाका भुसालले बताए । सबै स्थानीय तहको समन्वय र सहयोगमा रेसुंगा नगरपालिकाले नेतृत्व गरेर कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालन गर्ने निर्णय विपत् व्यवस्थापन समितिमा भएको थियो । भुसालले आफूहरूसँग पारिश्रमिक दिने स्रोत नभएको र अरू स्थानीय तहले सहमतिअनुसार रकम नदिएपछि कर्मचारीलाई खाली हात घर पठाउनुपर्दा आफूलाई  पनि दुःख लागेको प्रतिक्रिया दिए । 

प्रयोगशालामा काम गर्ने १० जना कर्मचारीले नै पारिश्रमिक नपाएपछि जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका मेयर र गुल्मी अस्पताल प्रमुखलगायतलाई धेरैपटक ध्यानाकर्षण नगराएका होइनन् । मेडिकल ल्याब टेक्नोलोजिस्ट मुना क्षेत्रीले कोरोना संक्रमणको वेला जोखिम मोलेर काम गरेर पनि विनापारिश्रमिक घर फर्किनुपर्दा निकै दुःख लागेको बताइन् । क्षेत्रीले विनानियुक्तिपत्र काम गराएको अहिले पारिश्रमिकविहीन बनाउन रहेछ भन्ने कुरा प्रमाणित भएकोले अविलम्ब पारिश्रमिक उपलब्ध गराउन आग्रह गरिन् ।

गुल्मी अस्पतालले सार्वजनिक सूचना प्रकाशन गरेर भर्ना गरेको थियो । सबैको आग्रहमा अस्पतालले कर्मचारी आवश्यकतासम्बन्धी सूचना प्रकाशन गरेर प्रयोगशालामा कर्मचारी भर्ना गरे पनि अहिले स्थानीय तहले धोका दिएको गुल्मी अस्पताल तम्घासका  प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए । 

पच्याले कोरोना संक्रमण उच्च र प्रयोगशालाको आवश्यकताका वेला गरिएको निर्णय र नैतिकता स्थानीय तहले बिर्सेर स्वास्थ्यकर्मी खालीहात घर फर्कनुपर्ने स्थिति निकै विडम्बनापूर्ण भएको दुःखेसो पोखे । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला विपत् र जिल्ला समन्वय समितिको सभामा समेत प्रयोगशाला र कर्मचारीको विषय उठेकाले रकम नदिने स्थानीय तहलाई थप ध्यानाकर्षण गराइएको बताइन् ।

अहिले कोभिड– १९ परीक्षण प्रयोगशाला तम्घास बन्द भएको छ । सरकारकै निर्णयअनुसार देशका सीमित प्रयोगशाला मात्रै सञ्चालन भएका छन् । स्वाब संकलनको आधारमा सरकारले सञ्चालन गर्ने र नगर्ने प्रयोगशाला छुट्याएको छ । गुल्मीको प्रयोगशाला सञ्चालन गर्नुपर्नेअन्तर्गत नपरेको प्रयोगशाला प्रमुख केपी भण्डारीले बताए ।