१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ फाल्गुण २६ बुधबार ०९:४०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कर्णालीका तीन ठाउँमा औद्योगिक ग्राम बन्दै

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २६ बुधबार ०९:४०:००

कर्णाली प्रदेशका दुई जिल्लाका तीन ठाउँमा औद्योगिक ग्राम स्थापना हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जाजरकोट र सुर्खेतका तीन स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने भएको हो । ग्राम स्थापनाका लागि जाजरकोटको शिवालय गाउँपालिका–४, तिमिलेपाखाको ४८ रोपनी जग्गा, सुर्खेतको भेरीगंगा नगरपालिकाको–११ मा पर्ने २० बिघा जग्गा र चौकुने गाउँपालिका–५ मा पर्ने १० बिघा जग्गा छनोट गरिएको छ ।

औद्योगिक ग्राम स्थापनाका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थानीय तहलाई ९२ लाख निकासासमेत गरिसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका औद्योगिक ग्राम निर्माण गर्ने भनिए पनि अहिलेसम्म रकम निकासा नभएको मन्त्रालयले जनाएको छ ।

औद्योगिक ग्राम स्थापना गर्ने सरकारको नीतिअनुसार पूर्वाधारसहित डिपिआर मन्त्रालयमा पेस गरेको, त्यसैका आधारमा संघीय सरकारले रकम विनियोजन गरेको सुर्खेतको पञ्चपुरी नगर प्रमुख उपेन्द्रबहादुर थापाले बताए । ‘औद्योगिक क्षेत्र स्थापना गर्ने हाम्रो पहिलादेखिको नै तयारी रहेको थियो,’ उनले भने, ‘सामुदायिक वन क्षेत्रमा औद्योगिक ग्रामको स्थापना गरिनेछ ।’

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कलकारखानाका ठूला उद्योग नभएका कारण औद्योगिक क्षेत्रको माग लामो समयदेखि हुँदै आएको भेरीगंगा नगरपालिका सुर्खेतका प्रमुख भूपेन्द्रबहादुर चन्दले बताए । सोही कारण दुई ठाउँमा उद्योग स्थापनाका लागि औद्योगिक ग्रामका लागि छनोट भएको उनको भनाइ छ ।

‘औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा बिक्री कक्ष, शौचालय तथा स्नानगृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र निर्माणका लागि उद्योग आपूर्ति तथा वाणिज्य मन्त्रालयले रकम हस्तान्तरण गरेको छ ।’ उनले भने, ‘चालू आर्थिक वर्षका नै औद्योगिक ग्रामका 
लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गरिनेछ ।’