मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार ०९:२२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चार वर्षपछि दोस्रोपटक राप्रपाको एकता महाधिवेशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार ०९:२२:००

अध्यक्षत्रयको नेतृत्वमा एक सय ८८ सदस्यीय मूल आयोजक समिति गठन

राजसंस्थाको पुनर्स्थापना र हिन्दू राष्ट्रको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी २५–२८ वैशाखमा एकताको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । चार वर्षअघि कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपतिशमशेर राणा नेतृत्वको राप्रपाको एकता महाधिवेशन भएको थियो । अघिल्लो महाधिवेशनपछि फुटेका यी दुई समूहले पुनः एकता गरेको दुई वर्षपछि एकता महाधिवेशन हुन लागेको हो । 

महाधिवेशनका लागि मंगलबार राप्रपाले अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीको नेतृत्वमा १८८ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । ‘चार वर्षपछि पार्टीको अधिवेशन हुन लागेको हो,’ राप्रपा नेता मोहन श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘यसका लागि अध्यक्षत्रयको नेतृत्वमा मूल आयोजक समिति गठन भएको छ भने यसअघि नै वरिष्ठ नेता हरिबहादुर बस्नेतको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति पनि गठन भइसकेको छ ।’

राप्रपाको अघिल्लो महाधिवेशन ६ फागुन ०७३ मा भएको थियो । पार्टी एकीकरण ६ मंसिरमा भएपछि सम्पन्न भएको महाधिवेशनमा कमल थापा अध्यक्षमा निर्वाचित भएका थिए । तर, महाधिवेशन सकिएको दुई सातापछि १९ फागुनमा नेता डा.प्रकाशचन्द्र लोहनीले पार्टी छाडेका थिए । त्यसवेला भएको स्थानीय निर्वाचनमा राप्रपाले जम्मा पाँच सिट जितेको थियो ।

त्यसवेला पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वका दुई सरकारमा पार्टी सहभागी भएसँगै विवाद भएपछि २२ साउन ०७४ मा राप्रपाबाट पशुपतिशमशेर राणा समूह अलग भएर राप्रपा संयुक्त गठन गरेको थियो । प्रदेश र संसदीय निर्वाचनमा अलग–अलग सहभागी भएका दुई समूहमध्ये थापाले नेतृत्व गरेको समूहले प्रदेश सभाहरूमा तीन सिट र संघीय संसद्मा एक सिट जितेको थियो । राणाले नेतृत्व गरेको समूहले बागमती प्रदेशमा जम्मा एक सिट जितेको थियो । 

निर्वाचनमा अनपेक्षित पराजयसँगै पार्टी एकता
‘दुवै निर्वाचनमा पार्टीको अनपेक्षित पराजयपछि फेरि पार्टी एक हुनुपर्छ भन्ने महसुस दुवै पक्षमा भयो र २४ फागुन ०७६ मा पार्टी एकतामा हस्ताक्षर भयो,’ राप्रपा नेता श्रेष्ठले भने, ‘पार्टी एकतासँगै महाधिवेशनमा जाने भन्ने थियो । तर, मुलुकमा कोभिड–१९ को महामारी सुरु भएपछि महाधिवेशनमा जान सकेनौँ । अब महाधिवेशन गर्छौँ ।’ उनका अनुसार प्रधानमन्त्री केपी ओलीको सिफारिसमा ५ पुसमा प्रतिनिधिसभा विघटन भएसँगै निर्वाचन र महाधिवेशन सँगसँगै जाने कार्यदिशा राप्रपाले तय गरेको थियो । ‘तर, प्रतिनिधिसभा पुनस्र्थापनापछि राप्रपाको एक मात्र कार्यदिशा महाधिवेशन भएको छ । पार्टीपंक्ति अब महाधिवेशनमा जुटेको छ,’ श्रेष्ठले भने । 

राप्रपाले पहिलोपटक आफ्ना सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधि छान्न लागेको छ । श्रेष्ठका अनुसार महाधिवेशनमा करिब ४५ सय प्रतिनिधि छनोट हुनेछन् । राप्रपाले १५ चैतसम्म सक्रिय सदस्य अद्यावधिक गर्ने, चैत मसान्तसम्म वडादेखि प्रदेशको महाधिवेशन सम्पन्न गर्ने, १० वैशाखसम्म महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका बनाएको छ । राप्रपाको गाउँपालिका अध्यक्ष महाधिवेशन प्रतिनिधि हुनेछन् भने हरेक प्रदेश सभा क्षेत्रबाट नौजनाका दरले महाधिवेशन प्रतिनिधि छनोट गर्ने तयारी छ । ‘महिलाको प्रतिनिधित्व ३३ प्रतिशत ग्यारेन्टी गरिएको छ,’ राप्रपा नेता श्रेष्ठले भने, ‘प्रतिनिधि चयनमा समावेशी सिद्धान्त पूर्ण रूपमा पालना गरिनेछ ।’ महाधिवेशनले पार्टीको अध्यक्षसहित केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।