१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शान्ति तामाङ काठमाडौं
२०७७ फाल्गुण २५ मंगलबार ०७:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ललितपुर महानगरले राख्यो ६ सय स्मार्ट सडकबत्ती

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७७ फाल्गुण २५ मंगलबार ०७:४९:००

लागत सात करोड, आगामी वैशाखबाट बत्ती बल्ने

ललितपुर महानगरपालिकाले ६ सय स्मार्ट सडकबत्ती जडान गरेको छ । पहिलो चरणको कामअन्तर्गत महानगरभित्रका कुपन्डोल, सातदोबाटो, पुल्चोक, ग्वार्को र मंगलबजार क्षेत्रमा सडकबत्ती राख्ने काम पूरा हुने चरणमा पुगेको महानगरले जनाएको छ । 

अँध्यारा सडक सवारी दुर्घटनाका प्रमुख कारण भएकाले सडकबत्ती राख्न थालिएको महानगरका प्रवक्ता राजु महर्जनले बताए । ‘सडक दुर्घटना कम गर्न हामीले सडक बत्ती राख्न थालेका हौँ । यसले सुरक्षाका दृष्टिकोणले धेरै सहयोग गर्नेछ,’ महर्जनले भने, ‘पहिलो चरणअन्तर्गत हामीले ६ सय सडकबत्ती जडान गरिसकेका छौँ ।’ अटोमेटिक फङ्सन भएको स्मार्ट सडकबत्तीको ७० प्रतिशत काम सकिएको छ । वैशाखबाट ती बत्ती सञ्चालनमा आउने उनको भनाइ छ । 

सात करोडमा पहिलो चरणको काम
स्मार्ट सडकबत्ती जडानका लागि महानगरलाई विद्युत् प्राधिकरणले सहयोग गरेको हो । जसअन्तर्गत पहिलो चरणमा सडकबत्ती जडानका लागि सात करोड रुपैयाँ लाग्ने भएको छ । ‘हामीले सात करोड लगानी गरेको हो । प्राविधिक काममा विद्युत् प्राधिकरणको सहयोग रह्यो । प्राधिकरणले आफैँ ठेक्का प्रक्रिया पूरा गरेर टेन्डर दिएर हामीलाई सडकबत्ती निर्माणमा सहयोग गरेको हो,’ महानगरका प्रवक्ता महर्जनले भने । 

सडकबत्तीलाई मानिसले अनअफ गर्नुपर्दैन, त्यसले सडकमा हुने चहलपहल हेरेर त्यसैअनुसार काम गर्ने उनी बताउँछन् । रातिको समयमा सडकबत्तीलाई केन्द्रबाटै कन्ट्रोलसमेत गर्न सकिनेछ । ‘यो सडकबत्ती मान्छेको चहलपहल हुँदा सबैतिर बल्नेछ भने मानिसको चहलपहल कम हुँदै गएपछि एउटा बल्ने अर्को नबल्ने हुन्छ । केन्द्रबाटै नियन्त्रण पनि गर्न सकिन्छ,’ महर्जनले भने, ‘स्मार्ट बत्तीका कारण सडकमा गुड्ने सवारीको इम्बोस्ड नम्बर पनि सफासँग देखिने हुनाले दुर्घटनामा पनि कमी आउने नै भयो । सडकमा अनावश्यक रूपमा दिनभरि बत्ती बल्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।’ 

दोस्रो चरणको काम सुरु हुँदै 
दोस्रो चरणको कामअन्तर्गत स्मार्ट सडकबत्ती राख्न पनि विस्तृत परियोजना रिपोर्ट (डिपिआर) र लागत अनुमान अन्तिम चरणमा रहेको छ । दोस्रो चरणअन्तर्गत कुपन्डोल, लगनखेल, पुल्चोक, धापाखेल, झम्सीखेल, हरिसिद्धि, बुङमती, पाटनढोका हुँदै मंगलबजारसम्मका सडकमा स्मार्ट सडकबत्ती राख्न लागिएको महानगरले जनाएको छ । महानगरपालिकाका अधिकांश सडकमा बत्ती नहुँदा सवारीचालक र यात्रुले सास्ती खेप्ने मात्र होइन, रातको समयमा सडक दुर्घटना भइरहेको छ ।

निर्वाचनका वेला महानगर प्रमुखका उम्मेदवार चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने चुनावी घोषणापत्रमा उल्लेख गरेका थिए । सोही घोषणापत्रअनुसारको काम भएको महानगरले जनाएको छ ।