मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बदन न्याछ्यों/अनन्तराम वैद्य
२०७७ फाल्गुण २५ मंगलबार १०:०१:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सम्पदाको खरानीमाथि उभिन सक्दैन विकास

Read Time : > 4 मिनेट
बदन न्याछ्यों/अनन्तराम वैद्य
२०७७ फाल्गुण २५ मंगलबार १०:०१:००

पाटन दरबार क्षेत्रको वारपार बृहत् उत्खननको जरुरत छैन, किनभने विकास सम्पदाको खरानीमाथि उभिन सक्दैन

काठमाडौं उपत्यकाको प्राचीनतम् सहर पाटन ललितकलाको सहर भनेर प्रसिद्ध छ । पाटन दरबारपरिसर ईसापूर्व तेस्रो शताब्दी अर्थात् किरातकालदेखिको इतिहास बोकेको विश्व–सम्पदामा सूचीकृत अमूल्य रत्न हो । पाटन दरबार क्षेत्रलाई तत्कालीन श्री ५ को सरकारको अनुरोधमा विश्व–सम्पदा सूचीमा समावेश गरिएको थियो । यो विश्व–सम्पदा भएकाले पनि ललितपुर महानगरपालिका तथा नेपाल सरकारमा यसको संरक्षणको बृहत्तर जिम्मेवारी रहन्छ । नेपाल सन् १९७२ को विश्व–सम्पदा महासन्धिमा हस्ताक्षर गर्ने पक्षराष्ट्र भएकाले यो दरबार संरक्षणको दायित्व राज्यमा बढी हुने नै भयो । उच्चतम् विश्वव्यापी मूल्य रहेका सांस्कृतिक सम्पदा मात्र यो सूचीमा राखिन्छन् । 

पाटन दरबार क्षेत्रलाई ‘शब्दमा बयान गर्न नसकिने कौतुक’ पनि भनिन्छ । वोल्फगान्ग कोर्णको भनाइअनुसार ‘काठमाडौँ, भक्तपुर र पाटन दरबार प्रांगणमध्ये पाटन दरबार नै मौलिक अवस्थामा संरक्षित छ । यसले आफ्नो मौलिकतालाई धेरै हदसम्म सुरक्षित राख्न सकेकाले पनि यसको महत्व बढी छ । यो प्रांगणले सहरी परिवेशमा नेवार वास्तुकलाको दर्शनीय तथा भव्य नमुना प्रदर्शन गर्छ ।

तर, पाटन दरबारपरिसर छिचोल्ने गरी ललितपुर महानगरपालिकाले निर्माण गरेको ढल आयोजनाले विश्व–सम्पदा क्षेत्रको मर्मलाई नै अवमूल्यन गरेको छ । ढललगायत भौतिक पूर्वाधारको निर्माणबाट पाटन दरबार प्रांगणलाई हुन सक्ने सम्भावित क्षति तथा विनाशलाई ध्यानमा राखी ललितपुर संस्कृति संवद्र्धन केन्द्रले नेपाल सरकार, ललितपुर महानगरपालिका, युनेस्को तथा अन्य सरोकारवाला निकायमा ०७५ सालमा सचेतनामूलक अवधारणा–पत्र पेस गरेको थियो । ललितपुर संस्कृति संवद्र्धन केन्द्रले सदियौँदेखि सञ्चालनमा रहेको परम्परागत नाली प्रणालीलाई नै सञ्चालन गर्नुपर्ने, यस क्षेत्रमा उत्खनन गर्न नहुने, नयाँ नाली÷ढल निर्माण गर्न नहुने तथा आवश्यक भएमा डाइभर्सन गरी नयाँ ढलको व्यवस्था गर्नुपर्ने अवधारणा अघि सारेको छ । तर, दरबार प्रांगणबाट ढल निकास आयोजना सञ्चालन नगर्न गरिएको अनुरोध अझैसम्म सुनुवाइ भएको छैन ।

विकास र सम्पदा संरक्षण एकै सिक्काका दुई पाटा हुन् । यद्यपि, सम्पदा अभियन्ताहरू सदैव सार्वजनिक हितको पक्षमा हुन्छन् । सम्पदा अभियन्ताले विकासको विरोध गरेका होइनन्, तर विकासले सम्पदाको संरक्षण र प्रवद्र्धन गरेको भने हुनुपर्छ । एडिबीका एक सल्लाहकारले लेखेका छन्– ‘पाटन दरबार क्षेत्र काठमाडौंको विलक्षण मणि हो । यहाँ गरिने निर्माणकार्यको अनुभव नेपालका अन्य सम्पदा क्षेत्रका निम्ति पाठ हो ।’ उनले भनेको ‘निर्माण कार्यको अनुभव’ सम्पदा अभियन्ताका निम्ति कदापि मान्य अवधारणा हुन सक्दैन । यो अवधारणाले सम्पदा क्षेत्रको विनाश मात्र हुन्छ । कुनै पनि हालतमा पाटन दरबार क्षेत्रलाई बलि चढाउन मिल्दैन । देशका सम्पदामाथि कदापि खेलाँची र प्रयोग गर्न मिल्दैन ।

विस्थापित बुद्ध महाविहारको अवशेष, भण्डारखालका गुप्त सुरुङ, तुसा हिती र मंगः हितीका जमिनमुनिका जलद्रोणी र हात्तीका दाँतको झ्याल, दरबारमुनिका गणेश, नरसिंह तथा हनुमानका (त्रि)मूर्ति अमूल्य पुरातात्विक निधि हुन् । यी मासिए भने पाटनको पहिचान र संस्कृतिकै जग मेटिनेछ ।

ललितपुर महानगरपालिकाको योजनामुताबिक पाटन दरबार क्षेत्र हुँदै लगिने ढल प्रणालीमा पाँच फिटको प्लास्टिक पाइप प्रयोग हुने र जमिनमुनि १० फिट गाडिने उल्लेख छ । पाटन दरबार स्क्वायर हुँदै तलतिर लगिने यो ढल प्रणालीमा वर्षाको पानी तथा शौचालयको ढल समावेश हुनेछ । खानेपानी, बिजुली र टेलिफोनका पाइप पनि राखिनेछन् । महानगरपालिकाको पाटन दरबार क्षेत्रमा गहिरो खाडल खनी पाइप गाड्ने विषयमा युनेस्को तथा एडिबीले पनि स्वीकृति दिइसकेको छ । अर्थात् विश्व–सम्पदा क्षेत्रको विनाश निश्चित भइसकेको छ । यहाँ विकासको उद्देश्यमाथि प्रश्न गरिएको होइन, विकास सम्पदाको खरानीमाथि उभिन सक्दैन । पाटन दरबार क्षेत्रको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षणसँग सम्बन्धित विषयमा होस्, चाहे त्यहाँ गर्न लागिएको विकास निर्माणको विषयमा होस्, त्यहाँका सरोकारवालाको आवाज र ऐतिहासिक अनुभवलाई समेट्न आवश्यक छ । तर, अहिलेसम्म सरोकारवाला क्षेत्र, समुदाय र विज्ञसँगको छलफललाई महत्व नदिनुले त्यस क्षेत्रको ऐतिहासिकता भावी दिनमा के हुने हो भन्ने प्रश्न उब्ज्याइदिएको छ । यसले विश्व–सम्पदा क्षेत्रको संरक्षण गर्ने युनेस्कोको प्रतिबद्धतालाई नै लत्याउँदै छ ।

निर्माणाधीन ढल प्रणालीका लागि १० फिट गहिरो, तीन फिट चाैडाइको पाँच सय फिट लामो खाडल, दरबार प्रांगणभित्र नै खनिनेछ । यसप्रकारको खाडल खन्दा त्यहाँ अवस्थित मन्दिरको जगमा अपूरणीय क्षति पुग्ने निश्चित छ । यल लायकुको आत्माको विनाश हुनेछ । यसले पुरातात्विक तथा सम्पदा क्षेत्रको विनाश गर्दैन भनेर भन्न सकिने अवस्था छैन । ललितपुर महानगरपालिकाको स्वीकृतिले सम्पदा तथा प्राचीन स्मारक क्षेत्रसम्बन्धी युनेस्कोको अन्तर्राष्ट्रिय घोषणापत्र एवं सन्धिको सम्मान गर्न सक्नुपथ्र्याे । तर, यसले ती अन्तर्राष्ट्रिय घोषणापत्रको हुर्मत लिने काम गरेको छ । भगवान् कृष्णभक्त कविराज सिद्धिनरसिंह मल्लले चार सय वर्षपहिले सर्वसम्मतिको आधारमा एक बुद्धविहारलाई विस्थापित गरी हालको कृष्ण मन्दिर तथा यल लायकुको निर्माण गरेका थिए । यस ऐतिहासिक परिघटनाको सम्मान तथा सम्झनामा गुँला महिनामा सुनको झ्याल र दरबारको मुख्य द्वारमा बुद्ध मूर्तिसहित ताम्रपात्र राख्ने चलन हालसम्म पनि कायम छ । 

राजा सिद्धिनरसिंहले हाल कृष्ण मन्दिर अवस्थित स्थानमै भग्नावशेष उत्खननबाट राधाकृष्णको मूर्ति हासिल गरेका थिए । सोही मूर्ति नै कृष्ण मन्दिरमा प्रतिष्ठापित छ । विस्थापित बुद्ध महाविहारको अवशेष, भण्डारखालका गुप्त सुरुंग, तुसा हिती र मंगः हितीका जमिनमुनिका जलद्रोणी र हात्तीका दाँतको झ्याल, दरबारमुनिका गणेश, नरसिंह तथा हनुमानका (त्रि)मूर्ति अमूल्य पुरातात्विक निधि हुन् । यी मासिए भने पाटनको पहिचान र संस्कृतिकै जग मेटिनेछ । पाटन सहरको निर्माण तथा पुनर्निर्माण सदियौँदेखि हुँदै आएको छ । मूल कुरा के हो भने यसको निर्माण, पुनर्निर्माणमा यसको ऐतिहासिकतालाई मार्न मिल्दैन । यसमा परम्परागत रातो इँटा बिछ्याइएको प्रांगण तथा स्मारकमुनि काठमाडौंका अवर्णित इतिहासका पन्ना लुकेका छन् । ०७२ सालको भूकम्पपछिका पुनर्निर्माणका क्रममा उत्खननबाट भक्तपुर दरबार प्रांगण, काष्ठमण्डपपरिसर, जैसीदेवलपरिसर, भक्तपुरका बत्सला मन्दिर, माजु देःगः, हनुमान ढोका इत्यादि ठाउँमा प्राचीन अवशेष फेला पर्नु पाटन दरबार प्रांगणको पुरातात्विक महत्वका बलिया प्रमाण हुन् । यस क्षेत्रलाई कुनै किसिमको हस्तक्षेप बिना अक्षुण राखिनुपर्छ । 

स्थानीय समुदायले पुस्तौँदेखि यो सम्पदाको संरक्षण गर्दै आएका छन् । यस स्थानबाट मलामी लग्ने, शौचालय तथा ढल निकास गर्ने, फोहरमैला थुपार्ने तथा ओसारप्रसार गर्ने, ध्वनि प्रदूषण तथा शौचकार्यलाई प्राचीन परम्परागत चलनअनुसार नै निषेध गरिएको छ । यस परम्परागत अमूर्त संहिताअनुसार हालसालै पुरातत्व विभागबाट पाटन संग्रहालयका सबै शौचालय हटाइएका हुन् । नयाँ शौचालयको निर्माणलाई निषेध गरिएको छ । स्वच्छ वातावरण यसको गुण हो । विशिष्ट तथा मंगलमयी सांस्कृतिक तथा सम्पदाका पर्वहरू यहाँ प्रदर्शन गरिन्छन् । कात्तिक नाच, ज्येष्ठ पूर्णिमामा मनाइने परम्परागत नेपाली संगीत दिवस तथा अनेकाँै तान्त्रिक पर्व सञ्चालन हुन्छन् । 

नेपालको प्राचीन स्मारक संरक्षण ऐन (२०१२)ले सम्पदाको संरक्षणबारे व्यवस्था गरेको छ । वेलावेलामा युनेस्कोले विश्व–सम्पदा क्षेत्रको अवस्थाबारे अन्तर्राष्ट्रिय मान्य परिसूचकको जाँच–पडताल पनि गर्ने गर्छ । यी परिसूचकको उल्लंघन भएमा यो क्षेत्र विश्व–सम्पदा सूचीबाट हटाइन पनि सक्छ । अहिले पाटन दरबार क्षेत्रमा हुन गइरहेको बृहत् उत्खननलाई युनेस्कोले कसरी लिन्छ, त्यो हेर्न बाँकी छ । नेपालमा भइरहेको सम्पदाको विनाशको अवस्था भयावह छ । चक्रपथ चौँडा गर्ने क्रममा स्वयम्भूमा हजार बुद्धका मूर्तिको नोक्सान पुग्ने अवस्था छ । रानीपोखरीको पुनर्निर्माणमा गरिएको बेवास्ता, कालमोचन मन्दिरका चारकुनाका सिंहको उलटपुलट, वास्तुको बेवास्ता तथा मौलिक गजुरको क्षति इत्यादि सम्पदामाथि आक्रमणका केही प्रतिनिधि उदाहरण हुन् । गुठी ऐन, मच्छिन्द्रनाथको जात्रा, खोकनाका बस्ती, पशुपतिनाथ क्षेत्रका गुरुयोजना, बागमती संरक्षणलगायत सम्पदा संरक्षणका निरन्तर संघर्षका ज्वलन्त उदाहरण हुन् । 

विश्व–सम्पदा क्षेत्रमा पूर्वाधार निर्माणको अवधारणामा व्यापक परिमार्जनको आवश्यकता छ । सम्पदासहितको विकास, सम्पदा संरक्षणमा प्राथमिकता तथा राष्ट्रिय सम्पदा परिषद् स्थापनाको अवधारणा अँगाल्नु उचित हुन्छ । यस्तो परिषद्को स्थापनाले सरोकारवालाबीच सार्थक समाधानको अवसर सिर्जना हुन सक्छ । सम्पदामाथि आइपर्ने खतराको पहिचान र निराकरण गर्ने उपाय पहिचान गर्न सहज हुन्छ । पुरातात्विक सम्पदा तथा मूल्य–मान्यताको संरक्षणलाई उत्साहजनक बनाउन न्यूनतम हस्तक्षेप गरी त्यसको योजनाबद्ध कार्यान्वयन गरिनुपर्छ । औचित्यपूर्ण विकल्पको सम्भावना रहेसम्म भौतिक हस्तक्षेपलाई निषेध गरिनुपर्छ । पाटन दरबार क्षेत्रमा जम्मा हुने पानीबाट सम्पदामा हुन सक्ने दीर्घकालीन क्षतिलाई जोगाइनु पर्नेछ । पाटन सहरभित्र ऐतिहासिक रूपमै बाढीको निकास तथा जल व्यवस्थापन प्रणालीका पुल्चोकदेखि पाटन दरबार क्षेत्रसम्म ६ वटा परम्परागत नाली छन् । प्राचीन जल व्यवस्थापन प्रणालीमा लेले नदीको पानी टिकाभैरवदेखि राजकुलोमार्फत पाटनका विभिन्न जलाशय, पोखरी, इनार, ढुंगेधारामा प्रवाहित गराइन्थ्यो । 

परम्परागत नालीको मर्मतसम्भार नहुनु, वर्षाको पानी प्रवेशमार्ग क्षतिग्रस्त हुँदा यसले सम्पदामा असर पुर्‍याउने खतरा छ । हौगलको हत्केश्वर महादेव स्थान र गैह्रीभैरव स्थान, महापालमा अवस्थित वर्षाको पानी पस्ने ससाना प्वाल, मंग हितीनजिकको बाढी रोक्ने खुड्किला जस्ता परम्परागत नाली (संरचना) को मर्मत सम्भार नहुँदा बाढीको समस्या छ । क्वालखु–क्वन्तीको परम्परागत नाली महापालदेखि सुरु हुन्छ । पवित्र हःखा खुसी लगनखेल वा टंगलको जलाशयबाट सुरु हुन्छ । यी नालीको आधुनिक प्रविधिअनुसार मर्मत सम्भार गरिएमा विद्यमान बाढीको समस्या सुल्झाउन सकिने देखिन्छ । पाटन दरबार क्षेत्रको वारपार बृहत् उत्खननको जरुरत छैन र यो न्यायोचित पनि छैन ।