Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बबिता फोगाट
२०७७ फाल्गुण २५ मंगलबार ०६:३८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

छोरीहरू छोराभन्दा कम छँदै छैनन्

Read Time : > 2 मिनेट
बबिता फोगाट
२०७७ फाल्गुण २५ मंगलबार ०६:३८:००

बुबाले कुस्ती खेलाउन राजस्थान लिएर जानुभयो, तर आयोजकले भने, ‘ल भन्नुस् कुन ग्रन्थमा लेखिएको छ कि महिलाहरू कुस्ती लड्न सक्छन् ?’

सन् २००३ तिरको कुरा हो । त्यति वेला हामी अर्थात् म र मेरो भाइले भर्खर कुस्ती खेल्न सुरु गरेका थियौँ । पहलवानीमा महिलाहरू नगण्य थिए । त्यसैले गर्दा हामी पुरुषसँग कुस्ती लड्ने गर्थ्यौ । एक दिन बुबाले हामीलाई कुस्ती खेलाउन राजस्थान लिएर जानुभयो । प्रतियोगितामा भाग लिने भनेपछि हाम्रो मनमा एउटा छुट्टै प्रकारको रोमाञ्च थियो । तर, हाम्रो सारा उत्साहमा पानी खन्याइयो । आयोजकले भने, ‘ल भन्नुस् त कुन ग्रन्थमा लेखिएको छ कि महिलाहरू कुस्ती लड्न सक्छन् ?’ म हेरेको हेर्‍यै भएँ । त्यसो त महिलाहरूले कुस्ती लड्न सक्दैनन् भनेर पनि कुनै ग्रन्थमा लेखिएको थिएन । म पुरुष प्रतियोगीसँग पनि लड्न सक्छु भनेँ, तर आयोजक टसको मस भएनन् । फलस्वरूप हामी निराश भएरै घर फर्किनुपर्‍यो । 

मसँगै गएको भाइले भने प्रतियोगितामा पुरुष भएकै कारण भाग लिन पायो । त्यति वेला मेरो मनमा एउटै कुराले घर गरेको थियो, ‘कम्तीमा म पुरुष भएकी भए कुस्ती लड्न पाउने थिएँ ।’ यो तिनताकाको कुरा हो, जति वेला हरियाणामा महिलाहरूलाई पुरुषको तुलनामा नाम मात्रको अवसर दिइन्थ्यो । महिलाहरू खेलको नाम मात्रले पनि आत्तिने गर्थे । तर, भनिन्छ नि प्रत्येक महिलाको सफलताको पछाडि कुनै पुरुषको हात हुन्छ । मेरो सफलताका पछाडि मेरो बुबाको हात छ । हामी ‘फोगाट सिस्टर्स’का लागि यही सत्य हो । हामीले आफ्ना आमाबुबाको हात समाएर यो अप्ठ्यारो बाटो तय गरेका हौँ । तिनताका सबैको नजरमा हामी खिसीट्युरीका पात्र थियौँ । उनीहरूको एउटै कुरा हुन्थ्यो– ‘हेर त यिनले पनि कुस्ती लड्ने रे !’

प्रत्येक महिलाको सफलताको पछाडि कुनै पुरुषको हात हुन्छ । मेरो सफलताका पछाडि मेरो बुबाको हात छ । हामी ‘फोगाट सिस्टर्स’का लागि यही सत्य हो । हामीले आफ्ना आमाबुबाको हात समाएर यो अप्ठ्यारो बाटो तय गरेका हौँ ।
 

 तर, अहिले त्यही समाज हामीलाई गर्वका रूपमा हेर्छ । मेरो भाइलाई त अझै पनि के भनिन्छ भने पहिले मिहिनेत गरेर दिदीहरूले जस्तै सफलता हासिल गर अनि आफ्ना कुरा राख । अब हामीलाई अधिकांश परिवारमा उदाहरणका रूपमा पेस गरिन्छ । पहिले ‘पढेर–लेखेर बनिन्छ नबाब, खेलेर–कुदेर बनिन्छ खराब’ भनिन्थ्यो । तर, अहिले महिला खेलाडीले के साबित गरिदिएका छन् भने ‘पढेर–लेखेर बनिन्छ नबाब, खेलेर–कुदेर बनिन्छ लाजबाब’ यसपटकको महिला दिवसलाई मैले यही दुई आयामबाट हेरेकी छु । पहिले हामीलाई निकै अपमानित गरिन्थ्यो, तर अहिले ढाढस दिने गरिन्छ । 

अब पुरुषहरूमा पनि महिला घरभान्सामा मात्रै सीमित हुनुपर्छ भन्ने धारणा पातलिँदै गएको छ । अब तिनले बुझिसकेका छन् कि महिला हरेक क्षेत्रमा उनीहरूभन्दा अघि जान सक्छन् । यस कोणबाट हेर्ने हो भने देश र समाजको सोच बदल्नका लागि महिला खेलाडीले मात्रै होइन कि समाजका सबै महिलाले बराबर योगदान दिएका छन् । 

यसमा कुनै पनि क्षेत्रका महिलाको योगदान कम छैन । भलै ती मिस वल्र्ड मानुषी छिल्लर हुन् या मिस इन्डिया रनरअप मान्या सिंह हुन् या अन्तरिक्षयात्री कल्पना चावला नै किन नहुन् । आइपिएस किरण बेदी, पिवी सिन्धु, साक्षी मलिक अथवा फोगाट सिस्टर्स सबैको उत्तिकै योगदान छ । हरेक क्षेत्रका महिलाले आफूलाई अब्बल साबित गरेका छन् । समाजमा आदर्शका रूपमा स्थापित भएका छन् । 

यसभन्दा अघि महिलाहरूको मनमा के भाव पैदा हुन्थ्यो भने उनको जिम्मेवारी घरपरिवारसम्म मात्रै सीमित छ । तर, आजका दिनमा सहरका महिलाले मात्र होइन कि गाउँका महिलाले पनि आकाशमा उडान भर्ने चाहना राख्छन् । उनीहरू आफ्ना सपना पूरा गर्न समाजको सोच बदल्न पनि प्रयत्नरत छन् । आजका महिला आफ्नो समाजमा मात्रै होइन कि समग्र विश्वमै प्रभावकारी महिलाका रूपमा स्थापित हुन चाहन्छन् । स्वाभाविक कुरा हो कि आगामी दिनमा महिलाहरू झनै प्रभावकारी भएर आउनेछन् । यसका लागि उनीहरूमा आएको जागरुकता नै सबैभन्दा ठूलो कुरा हो । 

उनीहरू आफैँ अघि बढ्नका लागि प्रयासरत हुनुपर्नेछ । किनभने उनीहरूले अघि बढ्ने ठाने भने केही न केही गरेर देखाउने नै छन् । महिलाले के कुरा बुझ्न जरुरी छ भने उनीहरू कुनै पनि पुरुषभन्दा कमजोर छैनन्, बरु कैयौँ क्षेत्रमा उनीहरू पुरुषभन्दा पनि अघि छन् । यति गरेपछि संकीर्ण सोच भएकाहरूको मुख आफैँ बन्द हुनेछ । छोरीहरू छोराभन्दा कम छँदै छैनन् ।

(फोगाट प्रसिद्ध भारतीय कुस्ती खेलाडी हुन्)
हिन्दुस्तानबाट