मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
काठमाडौं
२०७७ फाल्गुण २४ सोमबार २१:५६:००
Read Time : > 1 मिनेट
खेलकुद

सोमपालको विस्फोटक व्याटिङमा आर्मी विजयी 

Read Time : > 1 मिनेट
काठमाडौं
२०७७ फाल्गुण २४ सोमबार २१:५६:००

सोमपाल कामीको उत्कृष्ट ब्याटिङमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा आर्मीले काठमाडौं मेयर ११ लाई पाँच विकेटले पराजित गरेको हो ।

प्रतियोगितामा दोस्रो खेल खेलेको आर्मीको यो पहिलो जित हो । आर्मी पहिलो खेलमा अर्काे विभागीय टोली एपिएफसँग एक विकेटले पराजित भएको थियो । पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको काठमाडौं मेयर ११ को यो पहिलो हार हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारी पहिले व्याटिङ गरेको मेयर ११ ले ४२.१ ओभरमा सबै विकेट गुमाउनुअघि एकसय ५५ रनको योगफल तय गरेको थियो । जवाफी व्याटिङमा आएको आर्मीले २३.५ ओभरमै मात्रै पाँच विकेट गुमाएर जित भेट्टाएको हो । 

आर्मीलाई विजयी बनाउन सोमपाल कामीले बिस्फोटक व्याटिङ प्रदर्शन गरे । उनले ५१ बलमै ८० रन जोडे । टोलीका मुख्य बलर उनी यो खेलमा प्रारम्भिक व्याट्सम्यानको रुपमा मैदानमा उत्रिएका थिए । उनले आफ्नो इनिङमा ६ छक्का र ९ चौका प्रहार गरे । यदी प्रदर्शनका कारण उनी म्यान अफ दी म्याचसमेत चुनिए । उनीबाहेक कुशल मल्लले २३ र भीम सार्कीले १६ रनको योगदान दिए । कप्तान विनोद भण्डारी २० रनमा अविजित रहे । 

काठमाडौं मेयर ११ का लागि भने सौरभ खनालले ४२ र सन्दीप रजालीले ३७ रनको योगदान गर्न बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । खडक बोहोरा १९, हरिशंकर शाह १८ र सन्दीप लामिछाने १३ रन जोडे ।

बलिङतर्फ आर्मीका शाहब आलम एक्लैले चार विकेट लिए । जितेन्द्र मुखियाले ३ तथा सोमपाल, बिक्रम सोब र कुशल मल्लले समान एक–एक विकेट लिए । काठमाडौं मेयर ११ का सन्दीप लामिछाने र बिपिन खत्रीले समान दुई विकेट लिए ।