१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२३ वर्षको हात्ती फूलमाया कलीको स्वास्थ्य जाँचसँगै नङ काट्दै स्वास्थ्य प्राविधिकहरू । 
२०७७ फाल्गुण २४ सोमबार २१:४१:००
Read Time : > 1 मिनेट
समाचार

चितवनमा हात्तीको स्वास्थ्य जाँच शिविर

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण २४ सोमबार २१:४१:००

चितवन सौराहाका हात्तीहरूको स्वास्थ्य जाँचका लागि स्वास्थ्य शिविर सञ्चालन भएको छ । चितवन नेसनल पार्क र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा व्यक्तिगत तवरमा राखिएका हात्तीको स्वास्थ्य जाँच्न आइतबारदेखि शिविर सुरु भएको हो । 

शिविरमा चितवनका र नवलपरासीका ५६ वटा सरकारी र ६० वटा निजीसहित एक सय १६ वटा हात्तीको स्वास्थ्य परीक्षण र सरसफाइ हँुदै छ । जसमा ९ वटा छावा छन् । सौराहाको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारीका अनुसार यसअघि सरकारी हात्तीका लागि स्वास्थ्य जाँच शिविर आयोजना भए पनि निजी हात्तीका लागि यो पहिलो हो । 

१५ दिनसम्म चल्ने शिविरमा हात्तीलाई जुकाको औषधि खुवाउने, रगत जाँच गर्नेदेखि फुट ट्रिमिङ (नङ काट्ने), हात्तीको स्वाब संकलन गरेर टिबी रोगको जाँचसँगै हात्तीको मुटु कलेजो र मिर्गौलाको परीक्षण गरिने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले बताए । चितवनमा क्षयरोग (टिबी)का कारण दुई वर्षमा पाँचवटा हात्तीको मृत्यु भएको छ । यसकारण पनि टिबी परीक्षणलाई अनिवार्य गरिएको उनले बताए । परीक्षणका लागि सौराहामा वन्यजन्तु अस्पताल यसै वर्षदेखि सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरमा एउटा हात्तीको परीक्षणका लागि करिब पाँच हजार रुपैयाँसम्म खर्च हुने लामिछानेले बताए । शिविरमा चारजना चिकित्सक र दुईजना टेक्निसियन खटिएका छन् । 

सबैभन्दा ठूलो समस्या नङ
राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. अमिर सडौलाका अनुसार हात्तीमा नङका कारण धेरै समस्या देखिन्छ । घरपालुवा हात्तीमा देखिने ४० प्रतिशत स्वास्थ्य समस्या नङका कारण उब्जने उनको अनुभव छ । उनले भने, ‘जंगली हात्ती स्वतन्त्र हुने भएकाले उसको अंगहरूको व्यवस्थापन आफैँ हुन्छ । तर, पालुवा हात्तीको व्यवस्थापन मान्छेले गरिदिनुपर्छ । मानिसले हिँडाएको ठाउँमा जानुपर्ने घरपालुवा हात्ती खोलाको गिटी, बालुवा, ढुंगा तथा पिच बाटोमा पनि हिँड्छन् । यसले नङमा समस्या ल्याउँछ ।’

४÷५ हजार किलो तौलको शरीरलाई धान्न सन्तुलित ढंगले खुट्टा टेक्नुपर्नेमा नङ लामो भएपछि हात्ती खुट्टाको पछाडिको भागले मात्र टेकेर हिँड्न थाल्छ । यसो गर्दा खुट्टा कमजोर हुने डाक्टर सडौलाको भनाइ छ । उनले भने, ‘पैतला खिइन थालेपछि छेस्का र ठोसाहरू बिझ्ने, घाउ भएर हिँड्नै नमिल्नेसमेत हुन सक्छ ।’ हात्तीको नङ मिलाउँदा धारिलो खुर्पाले ताछिन्छ भने सानो पेचजस्तो औजारले भित्री भागको काँटछाँट गर्दै अन्तिममा घोटेर सतह मिलाइन्छ । यो शिविर चैतदेखि चितवन निकुञ्जमा हुने गैँडा गणनाका लागि पनि केन्द्रित छ ।