१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २४ सोमबार १६:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेरिसडाँडामा प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २४ सोमबार १६:४६:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक माधव नेपाल समूहको आन्तरिक छलफलका कारण ३ बजेका लागि सरेको थियो । छलफल लम्बिएपछि बैठक करिब ४ बजेदेखि जारी छ ।

आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेपछि राजनीतिक रूपमा विभाजित भइसकेको ओली–प्रचण्ड नेतृत्वको नेकपालाई अप्ठ्यारो परेको छ ।  यही विषयमाथि छलफल गर्न प्रचण्ड–नेपाल पक्षले स्थायी कमिटी बैठक डाकेको हो ।

अदालतको फैसलापछि प्रचण्ड–नेपाल पक्षले कानुन व्यवसायीसँग छलफल गरेको थियो । उक्त छलफलमा कानुन व्यवसायीले पुनरावलोकनका लागि जानुपर्ने सुझाब दिएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई ३ जेठ ०७५ मा केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ दल निर्वाचन आयोगमा दर्ता भएपछि पहिले नै सो नाममा पार्टी दर्ता गराएका ऋषिराम कट्टेल सर्वोच्च पुगेका थिए । मुद्दा परेको दुई वर्षसम्म पनि मौन बसेको अदालतले ओली र प्रचण्डबीच पार्टी आधिकारिकताको विवाद चुलिएका वेलामा  फैसला सुनाएको हो ।

कट्टेलको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार निर्णय सुनाउँदै ओली र प्रचण्डको नेतृत्वमा दर्ता भएको नेकपालाई आधिकारिकता दिने आयोगको निर्णयलाई बदर गरेको र एकीकरण गर्न चाहे पुनः नयाँ प्रक्रियाबाट अघि बढ्नुपर्ने बताएको छ ।