१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २४ सोमबार ०६:२०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा  टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २४ सोमबार ०६:२०:००

एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ । कम्पनीले यस कार्यक्रमका लागि व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालअन्तर्गत सञ्चालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेका हुन् ।  

प्रमुख कार्यकारी अधिकृत चोङ र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजूले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको उद्घाटन गरिसकेको एनसेलले जनाएको छ । 

प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट वञ्चित समुदायहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जनाएको छ । यस पहलअन्तर्गत एनसेलले धुलिखेल अस्पतालद्वारा ग्रामीण भेगमा सञ्चालन गरिरहेका स्वास्थ्य केन्द्रहरूलाई टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी हस्तान्तरण गर्ने जनाइएको छ । धुलिखेल अस्पतालका तर्फबाट मानव संसाधनजस्तै चिकित्सक र परामर्शदातालगायत कार्यक्रम सञ्चालनका लागि आवश्यक अन्य सहयोग पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

 पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थानसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरूमार्फत कार्यक्रम सञ्चालन हुने एनसेलले जनाएको छ । यी केन्द्रहरूले कुल १५ हजारभन्दा बढी घरधुरीका जनसमुदायहरूलाई सेवा प्रवाह गर्ने जनाइएको छ ।

कार्यक्रम सञ्चालनमा आएपछि स्थानीयहरूले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोगलगायतका रोगहरूको उपचार सेवा पाउने कम्पनीले जनाएको छ । अबको चार वर्षमा यो कार्यक्रम २० वा सोभन्दा बढी स्वास्थ्य केन्द्रमा लागू गर्ने एनसेलको योजना रहेको जनाइएको छ । 

कार्यक्रमबारे एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङले स्वास्थ्य क्षेत्र कम्पनीको व्यावसायिक सामाजिक जिम्मेवारीमा प्रमुख प्राथमिकतामा रहेको जनाएका थिए । स्वास्थ्य सेवाबाट वञ्चित समुदायहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने मात्र नभई तत्काल जीवनरक्षा गर्न सक्ने यो कार्यक्रमका लागि धुलिखेल अस्पतालसँग सहकार्य गरेको उनको भनाइ थियो ।