१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ फाल्गुण २४ सोमबार ०६:४१:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१११औँ अन्तर्राष्ट्रिय नारी दिवस : समाज परिवर्तनका लागि लक्ष्य खोज्दै नयाँ पुस्ता

Read Time : > 4 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ फाल्गुण २४ सोमबार ०६:४१:००

यो वर्ष १११औँ अन्तर्राष्ट्रिय नारी दिवस ‘महिला नेतृत्व : कोभिड–१९ सँगै समान भविष्यको प्राप्ति’ भन्ने नाराका साथ विश्वभर मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस सोमबार मनाउन लागिएको छ । समाजमा समान अधिकार र सुरक्षित भविष्यका लागि नेपालमा थुप्रै आन्दोलन र अभियान चलिरहेका छन् ।

तैपनि नेपाली समाजको विकास जुन ढंगले हुनुपर्ने हो त्यो हुन सकेको छैन । समाज परिवर्तनका लागि भइरहेका आन्दोलनमा नयाँ पुस्ता बढी प्रभावित छन् । परिवर्तित समाजसँगै बढिरहेको असुरक्षाबीच केही युवा पुस्ताले विभिन्न चुनौतीबीच आफूलाई अब्बल प्रमाणित गरेका छन् ।

नेपालमा मात्रै नभएर संसारका लागि प्रेरणाको स्रोत बनेका छन् । सुरक्षित भविष्य खोजिरहेको नयाँ पुस्ताले समाजलाई के सिकाइरहेको छ ? सानो उमेरदेखि विभिन्न विधामा लागेका महिला युवा समाजबाट के चाहन्छन् ? अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पाँच महिला युवाले नयाँ पत्रिकाकर्मी मञ्जु टेलरसँग आफ्ना संघर्ष, दुःख, अनुभव यसरी सुनाएका छन् :

साहसी महिलाको पुरस्कारले थप आत्मविश्वास थपिदिएको छ
मुस्कान खातुन, एसिडपीडित 

सन् २०१९ मा वीरगन्जकी मुस्कान खातुन १५ वर्षकी छँदा एक किशोरका प्रेम–प्रस्ताव अस्वीकार गरेकोमा तेजाब हमलाको सिकार भएकी थिइन् । उनको अनुहार, छाती र हातमा एसिडले गहिरो चोट बनायो । तर, उनले हिम्मत हारिनन् । मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायका लागि लबी गरिन् । उनले प्रधानमन्त्री केपी ओलीलाई भेटिन्, राज्यसँग एसिड आक्रमणविरुद्धको कडा कानुनको माग गरिन् । 

उनै मुस्कानले अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्लुओसी) अवार्ड पाउने भएकी छिन् । यो अवार्ड पाउने मुस्कान अहिलेसम्मकै कान्छीमध्ये एक र नेपालबाट पहिलो महिला हुन् । एसिडपीडितहरूको सहयोग कार्यमा जुटेकी खातुनलाई अन्तर्राष्ट्रिय महिला दिवसमा अमेरिकी दूतावासले पुरस्कार दिन लागेको हो । महिला हिंसाविरुद्ध काम गरिरहेकी मुस्कान कहीँकतै महिला हिंसाका घटना भएमा सहयोगका लागि पुग्ने गर्छिन्, उनको साहसले हिंसापीडितलाई पनि थप साहस प्रदान गरिरहेको छ । 

समाजमा व्याप्त नकारात्मक मान्यताले गर्दा हरेक दिन महिला हिंसाका घटना भइरहेका छन् । हाम्रोमा हिंसाविरुद्ध कडा कानुन छैन, जसले गर्दा पीडितले थप पीडा पाइरहेका छन्, अन्तर्राष्ट्रिय साहसी पुरस्कार मेरो मात्र नभई हरेक महिला हिंसाविरुद्ध आवाज उठाउनेका लागि पनि हो । यसले हिंसाविरुद्ध लड्न थप आत्मविश्वास थपिदिएको छ

महिला हिंसाविरुद्ध निरन्तर लडिरहने लक्ष्यका साथ आफू अघि बढेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘समाजमा व्याप्त नकारात्मक मान्यताले गर्दा हरेक दिन महिला हिंसाका घटना भइरहेका छन् । हाम्रोमा हिंसाविरुद्ध कडा कानुन छैन, जसले गर्दा पीडितले थप पीडा पाइरहेका छन्, अन्तर्राष्ट्रिय साहसी पुरस्कार मेरो मात्र नभई हरेक महिला हिंसाविरुद्ध आवाज उठाउनेका लागि पनि हो । यसले हिंसाविरुद्ध लड्न थप आत्मविश्वास थपिदिएको छ ।’

सामान्यतया ठूलो जोखिम उठाएर शान्ति, न्याय, मानवअधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको पक्षमा वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मानस्वरूप आइडब्लुओसी अवार्ड प्रदान गरिन्छ । समाजमा महिला हिंसाविरुद्ध कडा कानुन नबन्दासम्म महिलाले सुरक्षित भई बाँच्न पाउँदैनन्, जसले गर्दा समाज परिवतर्नका लागि लक्ष्यमा बाधा पुग्छ ।

नयाँ पुस्ता अघि बढ्न समाजको हौसलाको खाँचो छ 
 सपना रोकामगर सामाजिक अभियन्ता 

सानो उमेरमै सामाजिक कार्यमा संलग्न रहेर युवा पुस्ताले समाजमा परिवर्तन ल्याउन सक्छन् भन्ने गतिलो उदाहरण बनेकी छिन् सपना रोकामगर । बेवारिसे शव व्यवस्थापनमा तीन वर्षदेखि क्रियाशील रहँदै आएकी सपना सन् २०२० की बिबिसीको सयजना प्रेरणादायी महिलाहरूको सूचीमा परिन् ।

सयौँ बेवारिसे शव व्यवस्थापन गरिसकेकी छिन् । यो काम गर्दा सुरुमा नेपाली समाजबाट अपहेलितजस्तो भए पनि उनले हिम्मत हारिनन् । सामाजिक कामलाई निरन्तरता दिँदै गइन् । महिला भएर पनि बेवारिसे शव व्यवस्थापन गरेर समाजमा चेतना जगाएकाले बिबिसीको सबैभन्दा प्रेरणादायी महिलाहरूको सूचीमा उनी छनोट भएकी हुन् ।

युवा त्यसमा पनि महिलालाई सफल हुन समाजको हौसला आवश्यक पर्ने उनी बताउँछिन् । समाज परिवर्तनका लागि लक्ष्य खोज्दै गएका नयाँ पुस्तामा सही निर्णय गर्ने क्षमता नहुँदा कहिलकाहीँ बीचमै छाड्न सक्ने उनको भोगाइ छ । उनका अनुसार, युवा उमेर समाजमा भइरहेका हरेक क्रियाकलापप्रति अपडेट भइरहन्छ, जागरुक हुन्छ, परिवर्तनका लागि काम गर्छ, तर समाजको साथ र सहयोग नहुँदा अप्ठेरो हुन्छ ।

उनी भन्छिन्, ‘युवा पुस्तासँग समाज सिर्जित हरेक पक्षलाई कसरी सही बाटोमा लान सकिन्छ भन्ने ध्येय छ, तर एकदमै कम प्रतिशतले मात्र लक्ष्य भेटिरहेका छन् । सुरुवातमा आत्मविश्वास हुँदैन, डिसिजन मेकिङ पावर हुँदैन, साथ र सहयोग नहुँदा कामलाई निरन्तरता दिन सकिँदैन । युवा सफल हुन समाजको हौसला आवश्यक छ ।’ 

अझै कति सहने ?
 भावना राउत, सामाजिक अभियन्ता

भावना राउतले ‘अझै कति सहने ?’ नामक अभियानको नेतृत्व गरिरहेकी छिन् । जुन संस्थाले बलात्कार र हिंसामा परेका महिलाको न्याय र दोषीलाई कारबाहीका लागि सशक्त आवाज उठाउँदै आएको छ । समाजमा बलात्कार र हिंसा भइसकेपछि मात्र कारबाहीको माग गर्ने, आन्दोलन गर्ने, धर्ना दिने परम्पराजस्तै भइसकेको छ । तर, राउत भने जतिवेला पनि बढ्दो बलात्कार र महिला हिंसाविरुद्धका घटना हुन नदिन के गरिरहेका छौँ भन्ने प्रश्नको उत्तर खोजिरहेकी छिन् ।

समाज परिवर्तनको बाधकमा महिला हिंसा पनि पर्ने उनी बताउँछिन् । पछिल्लो समय बढ्दो बलात्कार र हिंसाका घटनाको मुख्य कारण विद्यालयस्तरबाटै यौनिकता र नैतिकताको विषय नसिकाइनु र जघन्य अपराधविरुद्ध सामान्य कानुन हुनु रहेको उनको भनाइ छ । भन्छिन्, ‘यौन हिंसा, बलात्कार एसिड आक्रमणजस्ता जघन्य अपराध समाजको पितृसत्तात्मक सोचका कारण भइरहेका छन्, जसको शिक्षा बालबालिकाहरूलाई दिइनुपर्छ । यस्ता अपराधमा बालक नै संलग्न हुने गरेका छन्, यसले हाम्रो समाजको नैतिकता र शिक्षाको स्तरलाई छर्लंग पार्छ ।’ 

मिहिनेतले सफल भइन्छ
 रेजा थापा खगोल अध्येता 

रेजा थापा नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) मा आबद्ध छिन् । अमृत साइन्स कलेजमा स्नातक अध्ययनरत थापाले सन् २०२० मा नयाँ छुद्र ग्रह पत्ता लगाउन सफल भइन् । त्यही सफलताको कदर गर्दै उनलाई ‘जोन्टा क्लब अफ काठमाडौं’ले ‘इन्द्रकला स्कलर्सिप अवार्ड’ प्रदान गरेको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले हरेक महिनाजसो छुद्र ग्रह खोजसम्बन्धी तालिम सञ्चालन गरिरहेको हुन्छ, उनी अध्ययनसँगै दुई वर्षदेखि ग्रहको अनुसन्धानमा लागिरहेकी छिन् । खगोलशास्त्रका विद्यार्थीहरूले टेलिस्कोपले खिचेका फोटोहरूबाट सफ्टवेयर प्रयोग गरेर नयाँ–नयाँ तथ्य खोज्ने गर्छन् ।

रेजाले पनि त्यसैलाई निरन्तरता दिइरहेकी छिन् । उमेरले २५ वर्ष पुगेकी रेजा समाज परिवर्तनका लागि युवाहरू नै अघि बढ्नुपर्ने बताउँछिन् । ‘महिलाको सफल वृत्ति विकासका लागि उनीहरू आफैँ हरेक क्षेत्रमा अगाडि बढ्न आवश्यक छ, आफ्नो लक्ष्यमा मिहिनेतका साथ अगाडि बढ्ने हो भने समाजमा थुप्रै सम्भावना छन्,’ थापा भन्छिन् । 

महिलालाई अगाडि बढ्न प्लेटफर्म नै दिइँदैन 
 बोनिता शर्मा, संस्थापक सोचाइ : युथ फर न्युट्रेसन

बोनिता शर्मा महिला पोषण अधिकारका लागि सशक्त ढंगले लागेकी अभियन्ता हुन् । ‘सोचाइ : युथ फर न्युट्रेसन’की संस्थापक शर्मा सन् २०१९ को बिबिसीको सयजना प्रभावशाली महिलाको सूचीमा परेकी थिइन् । समाज परिवर्तनका लागि महिलाको भूमिका महत्वपूर्ण हुने मानिए पनि राज्यबाटै महिला स्वास्थ्यका दृष्टिकोणले विभेद गरिएको उनको अनुभव छ । भन्छिन्, ‘महिलाको आधार नै कमजोर छ, स्वास्थ्यको दृष्टिकोणले नै महिला कमजोर देखिन्छन्, जसले गर्दा समाजमा मात्र नभई परिवार र आफ्नै सानो सर्कलमा पनि कमजोर देखिन्छन् ।’

महिलाले समाजमा समानता पाउन हरेक क्षेत्रमा सबल हुन आवश्यक छ, शर्मा बताउँछिन् । उनी भन्छिन्, ‘भान्सामा महिलाको प्रतिनिधित्व हुन्छ, तर त्यही भान्सामा पाकेको खाना उनले अन्तिममा मात्र खान्छिन्, ग्रामीण क्षेत्रमा अझै पनि महिलाले पर्याप्त पोषणका अभावमा स्वास्थ्य जटिलता भोगिरहेका छन् ।  

महिला समानताको कुरा सामाजिक सहभागितामा मात्र नभई हरेक दृष्टिकोणबाट हेर्न जरुरी छ ।’ युवा त्यसमा पनि महिलालाई समाजमा नयाँ काम गर्न प्लेटफर्म नै नदिइएको उनको भनाइ छ । ‘अधिकांशजसो स्थानमा युवा पुस्तालाई प्राथमिकतामै राखिँदैन, अनुभवका आधारमा काम गर्न सकिँदैन भन्ने मान्यताले गर्दा युवा र विशेषगरी महिला अझै पनि पुरुषको तुलनामा अगाडि बढ्न सकिरहेका छैनन्,’ शर्मा भन्छिन् ।