मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण २३ आइतबार १०:३३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्नपूर्ण पदमार्गका होटेल व्यवसाय संकटमा

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण २३ आइतबार १०:३३:००

कोरोनाका कारण अन्नपूर्ण पदमार्गमा सञ्चालित होटेल व्यवसाय संकटमा परेका छन् । पर्यटकले भरिभराउ हुने होटेल व्यवसाय यतिवेला सुनसान छन् । २१ वर्षदेखि मर्स्याङ्दी गाउँपालिका- ६ बाहुनडाँडामा होटेल सञ्चालन गर्दै आएकी पारु गुरुङ अब होटेल सञ्चालन गर्ने वा नगर्ने भन्नेमा दोधार छिन् । 

सिजनको समयमा करिब १० लाख  र अफसिजनमा पनि मासिक ६०–७० हजार कमाउने उनले कोरोनाका कारण एघार महिनासम्म आम्दानी शून्य रहेको बताइन् । उनी भन्छिन्, ‘पहिले र अहिलेको व्यवसायलाई दाँज्नै मिल्दैन । अफसिजनमा पनि विदेशी पर्यटकले खचाखच हुने  होटेल अहिले खाली छ ।’ 

पर्यटक आउजाउका कारण पदमार्गका चिया पसलदेखि व्यवस्थित रूपमा चलेका होटेल सहजै धानिएका थिए । गत वर्ष अफसिजनका वेला पनि पदमार्गमा पर्यटक आउँदा यस क्षेत्रका सबैखाले व्यवसायीले राम्रै कमाइ गर्थे । 

तर, कोरोना भाइरस संक्रमणका कारण यसवेला पर्यटक आउजाउ ठप्प हुँदा पर्यटन व्यवसायी चिन्तित बनेका छन् । पारु गुरुङ मात्र होइन, मर्स्याङ्दी गाउँपालिका- ४ ताघ्रिङ घट्टेघोलामा होटेल सञ्चालन गर्दै आएका आसबहादुर विक पनि कोरोनाका कारण पर्यटक नआएको बताउँछन् । उनी भन्छन्, ‘पहिले अफसिजनमा पनि दिनमै २०–२५ जना पर्यटक आउँथे । कोरोनाका कारण अहिले पर्यटक आउन छाडे । जसले गर्दा व्यवसाय नै सुक्यो ।’ 

मर्स्याङ्दी गाउँपालिका- ६ बाहुनडाँडाका दिनेश घिमिरेले गाउँमै २६ वर्षदेखि होटेल सञ्चालन गर्दै आएका छन् । अफसिजनमा पनि दैनिक ५०–६० जना स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ हुने उनको होटेल यतिवेला सुनसान बनेको छ । उनी भन्छन्, ‘पर्यटक नआउँदा  व्यवसाय नै बन्द गर्नुपरेको छ । कोरोनाले व्यवसाय नै धराशायी बनाएको छ ।’

अन्नपूर्ण पदमार्गमा आउने पर्यटक खुदी, भुलभुले, ङादी र बाहुनडाँडामा बस्थे । घेर्मु, ताघ्रिङ हुँदै पर्यटक पदमार्गको अर्को गन्तव्य मनाङ जाने थिए ।  विदेशी र स्वदेशी पर्यटक आउजाउ नहुँदा साहसिक अन्नपूर्ण पदमार्ग क्षेत्रमा रहेका होटेलहरू ११ महिनादेखि सुनसान छन् । पाहुना नपाउँदा पदमार्ग क्षेत्रका व्यवसायी कामविहीन भएका छन् ।