मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार ०६:४२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साताभरमा ४८ अंक घट्यो सेयर बजार

होटेल तथा पर्यटन र व्यापारमूलक समूहगत परिसूचक मात्र वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार ०६:४२:००

गत साता सेयर बजार परिसूचक करिब ४८ अंकले घट्दा कारोबार रकम पनि करिब १६ प्रतिशतले गिरावट आएको छ । साताको पहिलो दिन नै उच्च गिरावट देखिएको बजारमा दोस्रो र अन्तिम दिन भने उच्च वृद्धि भयो । समग्रमा तीन दिन बजार घट्दा नेप्सेले ४८ अंक गुमाउन पुगेको हो । 

बैंकिङ क्षेत्रमा रहेको पर्याप्त तरलताका कारण बढिरहेको बजार कर्जा लगानीमा भइरहेको वृद्धिसँगै तरलता घट्ने अनुमानमा ओरालो लागेको हो । बजारमा तरलता कायम नै रहे पनि बैंकहरूले एक–अर्कासँग लिने अन्तरबैंक ब्याजदरमा भने वृद्धि हुन थालेको छ । बिहीबार यस्तो ब्याजदर १ दशमलव १९ प्रतिशत पुगेको छ । यसअघि यो ब्याजदर शून्य दशमलव २२ प्रतिशतसम्म थियो । यसले बिस्तारै बैंकहरूमा रहेको तरलता कम हुँदै गएको संकेत गर्छ । 

ओरालो लागिरहेको नेप्सेको आरएसआई सूचकमा पुनः वृद्धि देखिएको छ । यो सूचक अन्तिम दिनको स्केल करिब ५१ मा छ । यसले बजारमा खरिद बढ्दै गइरहेको संकेत गर्छ । दुईपटक स्केल ३९ बाट यो  सूचक फर्किएको हो । 

अन्य क्षेत्रमा कर्जा न्यून भएपछि बैंकहरूले सेयर धितो कर्जासमेत उच्चदरमा बढाउन थालेका थिए । राष्ट्र बैंकको तथ्यांकअनुसार गत असारको तुलनामा यस्तो कर्जा करिब ५४ प्रतिशतले बढेर ७७ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।  

साताभरमा होटेल तथा पर्यटन र व्यापारमूलक समूहगत परिसूचक मात्र वृद्धि भएका छन् । करिब ९ देखि ३१ प्रतिशतसम्म यसमा वृद्धि भएको हो । चन्द्रागिरि हिल्सको सबैभन्दा धेरै ६० प्रतिशतले मूल्य बढेको छ भने आव ०७५/७६ को नाफापछि लाभांश नदिने घोषणा गरेको एसियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ९ प्रतिशतले मूल्य घटेको छ ।

कारोबार रकम, संख्या र कित्ता सबैका आधारमा नेपाल पूर्वाधार बैंक (निफ्रा) अग्रस्थानमा छ । बैंकको ६७ हजारपटकमा ४० लाख कित्ता सेयर किनबेच भएर २ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, कारोबार रकमका आधारमा २ अर्ब २ करोड रुपैयाँको कारोबार भएर शिखर इन्स्योरेन्स दोस्रो स्थानमा छ । 

प्राविधिक विश्लेषण 
नेप्सेकोे ७ दिने र २१ दिने मुभिङ एभरेज रेखामा क्रस ओभर भएको छ । केही समयदेखि माथि देखिएको ७ दिने रेखा काटेर २१ दिने रेखा माथि लाग्ने तयारी गरेकाले बजार बियरिस हुने सम्भावना देखिएको छ । यसलाई मुभिङ एभरेज क्रस ओभर भन्छ ।  

नेप्सेको एक साताको मैनबत्ती चित्रले बजारमा अन्तिम दिन मूल्य बढेर सेतो लामो मैनबत्ती आकृति बनेको देखाउँछ । यसले सो दिन बजार बढेको संकेत गर्छ भने बजारको बुलिस प्रवृत्ति सुनिश्चितताका लागि आइतबारको कारोबार हेर्नु सही हुने देखिन्छ ।  

ओरालो लागिरहेको नेप्सेको आरएसआई सूचकमा पुनः वृद्धि देखिएको छ । यो सूचक अन्तिम दिन स्केल करिब ५१ मा छ । यसले बजारमा खरिद बढ्दै गइरहेको संकेत गर्छ । बजारमा माग र आपूर्ति सन्तुलित क्षेत्रमै छ ।

दुईपटक स्केल ३९ बाट यो सूचक फर्किएको हो । यसले बजार बुलिस प्रवृत्तिमा जान सक्नेसमेत संकेत गर्छ । यो सूचक स्केलको ३० मुनि रहे बजारमा अधिक बिक्री रहेको र ७० माथि रहे बजारमा अधिक खरिद रहेको संकेत गर्छ ।