मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण २३ आइतबार ०२:४१:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अपेक्षाअनुसार खोप नआएपछि दोस्रो चरणमा ६५ वर्षमाथिकालाई मात्र लगाइने

पहिलो खोप लगाएकालाई दोस्रो डोज लगाउने समय पनि लम्बिन सक्ने

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण २३ आइतबार ०२:४१:००

कोभिड– १९ विरुद्धको खोप अपेक्षाअनुसार नआएपछि खोप अभियान प्रभावित भएको छ । आइतबारदेखि सुरु हुने दोस्रो चरणको अभियानमा ५५ वर्षमाथिको उमेर समूहलाई खोप दिने निर्णय गरेको सरकारले अब ६५ वर्षमाथिकालाई मात्रै लगाउने भएको छ ।

विश्व स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी)ले ‘कोभ्याक्स सुविधा’अन्तर्गत २० प्रतिशत (६० लाख नागरिक) नागरिकलाई पुग्ने गरी खोप दिने जनाएका थिए । पहिलो चरणमा २२ लाख ५६ हजार डोज फागुन पहिलो साता उपलब्ध गराउने सूची गाभीले सार्वजनिक गरेको थियो । तर, कोभ्याक्सबाट आइतबार तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप मात्रै आउँदै छ । त्यस्तै, २० लाख डोज खोप खरिदका लागि सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियालाई रकम भुक्तानी गरिसकेको भए पनि १० लाख डोज मात्रै उपलब्ध गराएको छ । 

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले अपेक्षाभन्दा कम खोप उपलब्ध भएको बताए । ‘हामीले अपेक्षा अलि बढी गरेका थियौँ,’ उनले भने, ‘तर, विश्वव्यापी रूपमा खोपको बढ्दो मागका कारण कम उपलब्ध भएको छ ।’ खोप कम आउने भएपछि सरकारले दोस्रो चरणमा दिने भनिएको ५५ वर्षमाथिको उमेर समूहलाई ६५ वर्षमाथिको बनाएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ६५ वर्षमाथिका १८ लाख नागरिक छन् । तर, सरकारसँग अहिले १५ लाख डोज मात्रै खोप छ । कोभ्याक्स सुविधामार्फत आइतबार आउने तीन लाख ४८ हजारसमेत गरेर यो उमेर समूहलाई पहिलो डोज लगाउन पुग्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ । 

गत ८ माघमा भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएको थियो, जुन १४ माघबाट लगाउन सुरु गरिएको थियो । दुई डोज लगाउनुपर्ने भएकाले सरकारले चार लाख २८ हजार नागरिकलाई मात्रै पहिलो चरणमा खोप लगाएको थियो । अनुदानको खोप अब पाँच लाख डोज बाँकी छ । त्यस्तै, भारतीय कम्पनी सेरमसँग खरिद गरिएका १० लाख डोज खोप छन् । 

२० लाख डोजका लागि करिब ९३ करोड रुपैयाँ सरकारले सेरमलाई भुक्तानी गरिसकेको छ । तर, १० लाख डोज अझै उपलब्ध गराएको छैन । खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले सेरमसँग ५ फागुनमा सम्झौता गरेको थियो । त्यही दिन प्रतिडोज चार डलरका दरले सबै रकम अग्रिम भुक्तानी गरिएको थियो । सम्झौता भएको चार दिनपछि ९ फागुनमा सेरमले पहिलो चरणमा १० लाख डोज खोप पठाएको थियो । त्यसको एक हप्ता अर्थात् १६ फागुनमा बाँँकी १० लाख डोज पठाउने प्रतिबद्धता जनाएको भए पनि अहिलेसम्म पठाएको छैन । 

‘कम्पनीसँग कुरा त भइरहेको छ,’ स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीले भने, ‘तर, संसारभर खोपको माग बढेकाले तत्काल उपलब्ध गराउन सक्ने अवस्था छैन, केही समयपछि दिन्छौँ भनेर कम्पनीले जवाफ दिएको छ ।’ सरकारले खरिद गर्न लागेको थप ५० लाख डोज पनि सेरमले दिने इच्छा देखाएको छैन । 

सुनिश्चितता भएको खोपसमेत नआएपछि पहिलो चरणमा खोप लगाएकाहरूले दोस्रो डोज लगाउने समय पनि लम्बिने भएको छ । सरकारले १४ माघबाट पहिलो चरणको खोप अभियान सुरु गरेको थियो । पर्याप्त खोप नभएकै कारण यसअघि सरकारले २८ दिनमा लगाउनुपर्ने दोस्रो डोज ५६ दिनमा लगाउने बताएको थियो । यो समय अझै पर धकेलिन सक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयले भने दोस्रो जोड जति ढिला लगायो उति नै प्रभावकारी हुने बताउँदै आएको छ ।

प्रधानमन्त्री ओलीले आज खोप लगाउने

प्रधानमन्त्री केपी ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल महाराजगन्जबाट खोप लगाउनेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले खोप लगाउने बारेमा अझै निर्णय लिएकी छैनन् ।