Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ फाल्गुण २२ शनिबार ०७:३३:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कोरोनापछिको अवसर : आठ नेपाली खेलाडी अन्य देशको घरेलु प्रतियोगितामा

Read Time : > 3 मिनेट
२०७७ फाल्गुण २२ शनिबार ०७:३३:००

कोरोना भाइरस (कोभिड–१९) महामारीको समय खेलकुद गतिविधि ठप्प नै रहे । प्रतियोगिता आयोजना हुँदै भएन, खेलाडीको अभ्याससमेत सम्भव भएनन् । कोरोना महामारीकै कारण नेपाली खेलाडी झन्डै वर्षदिन घरभित्रै बस्न बाध्य भए । नेपालमा कोरोना महामारी पूर्ण रूपमा हटिसकेको छैन । यद्यपि, पहिलेको तुलनामा यसको प्रभाव कम भएकोजस्तो देखिएको छ । प्रभाव कम देखिएसँगै नेपाली खेलकुद लयमा फर्कने प्रयासमा छ । खेलाडी अभ्यासमा फर्किएका छन् । प्रतियोगिता पनि आयोजना हुन थालेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले महिला र पुरुषतर्फ ५० ओभरको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सम्पन्न गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि महिला राष्ट्रिय लिगको आयोजना सम्पन्न गरिसक्यो । अहिले सहिद स्मारक बी डिभिजन लिग जारी छ । भलिबल, बक्सिङ, व्याडमिन्टनलगायत खेलका प्रतियोगिता पनि आयोजना भएका छन् । यसबीच नेपाली खेलकुद क्षेत्रलाई खुसी तुल्याउने अरू कुरा पनि थपिएको छ । पछिल्लो समय एकपछि अर्काे नेपाली खेलाडीले देशबाहिरको प्रतियोगिता खेल्ने अवसर पाएका छन् । 

योबीच क्रिकेट र फुटबलका गरी आठ नेपाली खेलाडी अन्य देशको घरेलु प्रतियोगिता खेल्न आबद्ध भएका छन् । तीन नेपाली फुटबलर किरण चेम्जोङ, प्रकाश बुढाथोकी र अभिषेक रिजाल भारतको शीर्ष डिभिजनको प्रतियोगिता आई लिग खेल्दै छन् । पन्जाब एफसीसँग आबद्ध किरण ९ जनवरीबाट सुरु भएको आई लिगको जारी सिजनको सुरुवातबाटै सहभागी छन् । प्रकाश र अभिषेक पनि आई लिग खेल्न भारतमै छन् । 

नेपाली लेग स्पिनर सन्दीप लामिछाने गत शनिबार मात्रै पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न त्यहाँ पुगेका छन् । उनी १० दिनको क्वारेन्टिनमा छन् । अन्य खेलाडी र अफिसियललाई नै कोरोना संक्रमण देखिएपछि बुधबारबाट पिएसल रोकिएको छ । त्यसैले लाहोर क्वालन्डर्ससँग आबद्ध उनले मैदानमा उत्रन अवसर भने पाइसकेका छैनन् । चार नेपाली महिला फुटबल खेलाडीहरू पाकिस्तानकै घरेलु प्रतियोगिता खेल्न शुक्रबार मात्रै त्यसतर्फ प्रस्थान गरेका छन् । 

राष्ट्रिय टोली एवं विभागीय टोली एपिएफका रक्षक गीता राना, गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा, मिडफिल्डर सरु लिम्बू र स्ट्राइकर अनिता केसी पाकिस्तानको घरेलु लिग खेल्न त्यसतर्फ लागेका हुन् । यी चारैजना खेलाडीलाई मासा युनाइटेडले अनुबन्ध गरेको हो । लामो समयको अनिश्चिततापछि प्राप्त यो अवसरमा खेलाडीहरू खुसी देखिएका छन् ।

 ‘कोरोना महामारी सुरु भएपछि हामी लामो समय घरभित्रै रह्यौँ । खेलाडीका लागि त्यो साँच्चिकै कठिन समय थियो,’ शुक्रबार पाकिस्तान प्रस्थान गर्नुअघि महिला फुटबल खेलाडी गीताले भनिन्, ‘अब बिस्तारै खेलकुद पहिलेकै अवस्थामा फर्किएको जस्तो अनुभव हुँदै छ । प्रतियोगिता आयोजना हुन थालेका छन् । विदेशी लिगमा खेल्ने अवसर पाएका छौँ । यो हाम्रा लागि साँच्चिकै राम्रो अवसर हो । यो अवसरले हामीलाई व्यक्तिगत रूपमा मात्रै फाइदा पु¥याउने छैन, नेपाली फुटबललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने अरू अवसर पनि दिएको छ ।’

आई लिगमा तीन नेपाली फुटबलर
भारतको शीर्ष डिभिजनको लिग फुटबल हो, आई लिग । उच्च स्तरको खेल, लामो अवधि र राम्रो तलब सुविधाका कारण आई लिग दक्षिण एसियाकै उत्कृष्ट लिगमा पर्छ । नेपाली खेलाडीहरूकै लागि पनि आई लिग अवसरको दृष्टिकोणले महत्वपूर्ण रहेको छ । विगतमा पनि आई लिगमा कुनै न कुनै नेपाली खेलाडीले अवसर पाएका थिए ।

यद्यपि, यसपटक एकै सिजन तीन नेपाली खेलाडीले आई लिगमा अवसर पाएका छन् । नेपाली टोलीका पहिलो रोजाइका गोलरक्षक एवं अनुभवी खेलाडी किरण चेम्जोङ पन्जाब एफसीसँग आबद्ध छन् । उनी सिजनको सुरुवातबाटै टोलीमा आबद्ध भएका हुन् । टोलीमा उपकप्तानको जिम्मेवारी पाएका उनले मैदानमा कति खेलमा कप्तानकै जिम्मेवारी निभाएका छन् । पन्जाबले शुक्रबारसम्म १० खेल खेल्दा उनले सबै खेलमा पहिलो रोजाइमा अवसर पाएका छन् । 

उनले १० मध्ये ६ खेलमा कुनै पनि गोल व्यहोरेका छैनन् । त्यही प्रदर्शनका कारण उनी तीन खेलमा म्यान अफ दी म्याच नै चुनिएका छन् । यस्तै, सिजन जारी रहँदा अन्य दुई खेलाडी मिडफिल्डर प्रकाश बुढाथोकी र स्ट्राइकर अभिषेक रिजाल पनि आई लिग खेल्न पुगेका छन् । प्रकाशलाई नेरोका एफसी र अभिषेकलाई सन् २०१७ को च्याम्पियन टोली आइजोल एफसीले अनुबन्ध गरेको हो । 

यी दुवै खेलाडीले टोलीबाट खेल्ने अवसर पनि पाएका छन् । प्रकाशले अहिलेसम्म टोलीबाट तीन खेल खेल्ने अवसर पाएका छन् । उनले सुदेवा दिल्लीविरुद्धको खेलबाट आई लिगमा डेब्यु गरेका हुन् । यस्तै, उनले चर्चित ब्रदर्स र पन्जाबविरुद्ध पनि खेल्ने अवसर पाएका छन् । उनले अवसर पाएको तीनमध्ये दुई खेलमा भने उनको टोली पराजित भएको छ । 

अभिषेकले पनि पछिल्लो दुई खेलमा अवसर पाएका छन् । उनले रियल कास्मिरविरुद्धको खेलबाट आई लिगमा डेब्यु गरेका थिए । त्यसपछि उनी खेलको दोस्रो हाफमा मैदानमा प्रवेश गरेका थिए । उनले आफ्नो टोलीबाट चेन्नई सिटी एफसीविरुद्ध पनि दोस्रो हाफमै अवसर पाएका थिए । उनले अवसर पाएको दुईमध्ये एकमा पराजय र एकमा जितको नतिजा प्राप्त गरेका छन् । 

चार महिला फुटबलर पाकिस्तानको लिगमा

शुक्रबार मात्रै चार नेपाली महिला फुटबलर पाकिस्तानको घरेलु लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाली सिनियर राष्ट्रिय टोली तथा विभागीय टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा, रक्षक गीता राना, मिडफिल्डर सरु लिम्बू र स्ट्राइकर अनिता केसी पाकिस्तानको घरेलु लिग खेल्न त्यसतर्फ लागेका हुन् ।

यी चारै खेलाडीलाई मासा युनाइटेडले अनुबन्ध गरेको हो । पाकिस्तानको घरेलु महिला लिग सोमबारबाट सुरु हुँदै छ । एकैपटक धेरै नेपाली महिला खेलाडीले विदेशी लिग खेल्ने अवसर पाएको यो पहिलोपटक हो । यसअघि नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर साबित्रा भण्डारी र अनिता बस्नेतले आई लिग खेलेका थिए । चोटग्रस्त साबित्रा अहिले आराम गरिरहेकी छिन् । 

हालै सम्पन्न महिला राष्ट्रिय लिगमा यी चारै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । यी चारमध्ये सरु प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी चुनिएकी थिइन् । राष्ट्रिय टोलीबाट नियमित उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका यी खेलाडीले विदेशी लिगमा पनि उस्तै प्रदर्शन कायम राख्ने विश्वास गरिएको छ । 

सन्दीप लामिछाने पिएसएलमा
नेपाली लेग स्पिनर सन्दीप लामिछाने वर्षैभरि विदेशी फ्रेन्चाइज लिग खेल्नमै व्यस्त रहन्छन् । कोरोना महामारी सुरु भएपछि मात्रै उनी थोरै समय घरमा रहे । उनी हालै मात्र अस्ट्रेलियन बिग बास लिग खेलेर फर्किएका हुन् । त्यसपछि उनी इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनमा सहभागी भएका थिए । यद्यपि, उनलाई यसपटक कुनै पनि टोलीले चासो देखाएनन् । लगातार तीन सिजन दिल्ली क्यापिटल्स (सुरुवातमा दिल्ली डेयरडेभिल्स)बाट आइपिएल खेलेका उनी कम्तीमा यो सिजन बाहिरै रहने भएका छन् । 

आइपिएलको अवसर टुटेपछि सन्दीप पाकिस्तान पुगेका हुन्, पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न । २० फेब्रुअरीबाट सुरु भएको पिएसएलमा पनि उनको अनुबन्ध थिएन । लाहोर क्वालन्डर्समा रहेका अफगानी खेलाडी रासिद खान राष्ट्रिय टोलीको जिम्मेवारी पूरा गर्न घर फर्किएपछि टोलीले खाली ठाउँमा सन्दीपलाई अनुबन्ध गरेको हो । गत शनिबार पाकिस्तान पुगेका उनी १० दिनको क्वारेन्टिनमा छन् । उनी क्वारेन्टिनमा रहेकै समय खेलाडी र एकजना अफिसियललाई नै कोरोना संक्रमण देखिएपछि पिएसल तत्काललाई रोकिएको छ ।