मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रासस/एएफपी वासिङ्टन
२०७७ फाल्गुण २१ शुक्रबार १४:०६:००
Read Time : > 1 मिनेट
विश्व

अमेरिकामा कोभिड- १९ बाट संक्रमित पाँच महिनायताकै सबैभन्दा कम

Read Time : > 1 मिनेट
रासस/एएफपी वासिङ्टन
२०७७ फाल्गुण २१ शुक्रबार १४:०६:००

संयुक्त राज्य अमेरिकामा पाँच महिनापछि पहिलोपटक कोभिड- १९ बाट दैनिक संक्रमितको संख्या ४० हजारभन्दा कम भएको छ । खोप अभियान तीव्र बनाइएको अमेरिकामा अर्को चरणको संक्रमण फैलिने आशंका भइरहेको अवस्थामा नयाँ विवरणले अमेरिकी अधिकारीहरूलाई राहत दिएको छ । लकडाउन र अनेक किसिमका प्रतिबन्धबाट आम जनताको दैनिकी र देशकै अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा पछिल्लो विवरण सार्वजनिक भएको हो ।

विश्वमै सबैभन्दा बढी असर परेको संयुक्त राज्य अमेरिकामा दैनिक संक्रमितको संख्या यसै वर्षको जनवरी महिनाका सुरुवाती दिनहरूमा दैनिक तीन लाखसम्म पुगेको थियो । दैनिक संक्रमितको संख्यामा कमी र खोपको प्रयोग बढेसँगै अमेरिकाका धेरै राज्यले अनिवार्य मास्क लगाउने नियम हटाइदिएका छन् । तर, राष्ट्रपति जो बाइडेनले यो सोचाइ पुरातनपन्थी रहेको भन्दै आलोचना गरेका छन् । राष्ट्रपति बाइडेनले आफ्नो एक सयदिने कार्यकालमा १० करोड मानिसलाई खोप लगाइसक्ने घोषणा गरेका थिए । 

युरोपमा भने खोप अभियानमा ढिलाइ भएको भन्दै आलोचना भइरहेको छ । युरोपेली औषधि नियामक निकायले रसियाले विकास गरेको स्पुतनिक भी खोपको सम्भावनाबारे पनि अध्ययन भइरहेको जनाएको छ । यो खोप उपयुक्त देखिए युरोपमा स्पुतनिक भी खोपका लागि बाटो खुल्नेछ । 

रसियाले युरोपेली औषधि नियामक निकायले अध्ययन गर्ने जनाएसँगै आफूले युरोपका लागि तत्कालै पाँच करोड डोज खोप उपलब्ध गराउन सक्ने बताएको छ । युरोपेली युनियनले यसअघि तीन किसिमका खोपलाई अनुमति दिइसकेको छ । तर, केही मुलुकले आफूखुसी चीन र रसियाबाट खोप ल्याएर वितरण गर्न थालिसकेका छन् ।  

युरोपमै खोप अभाव भएको जनाउँदै इटालीले अस्ट्रेलियातर्फ पठाउन लागिएको अस्ट्राजेनिकाको खोप लैजान रोकेको छ । युरोपेली युनियनले अस्ट्राजेनिकाले युरोपेली मुलुकलाई बेवास्ता गरेको आरोप लगाएको छ । 

अस्ट्रेलियाली स्वास्थ्य मन्त्रालयका प्रवक्ताले युरोपेली युनियनको निर्णयप्रति रोष प्रकट गरेका छन् । अस्ट्राजेनिकाले अस्ट्रेलियालाई दुई लाख ५० हजार डोज खोप पठाउन लागेको थियो । विश्व स्वास्थ्य संगठनको युरोप शाखाले युरोपेली मुलुकमा कोरोना संक्रमण फेरि तीव्र हुन थालेको चेतावनी दिएसँगै युरोपमा खोपको महत्व र आवश्यकता अरू बढेको छ । 

सन् २०१९ को अन्त्यतिर चीनमा देखापरेको कोभिड– १९ को संक्रमणबाट हालसम्म २५ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।