मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण २१ शुक्रबार ०९:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आजबाट रसुवागढी नाका खुल्ने

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २१ शुक्रबार ०९:०६:००

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । ल्होसारका कारण २९ माघदेखि बन्द रहेको नाका शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । उनका अनुसार चिनियाँ भन्सारले शुक्रबार ७ गाडी सामान नेपाल पठाउने तयारी गरेको छ । उनले भने, ‘चिनियाँ भन्सारले ७ गाडी सामान नेपाल पठाउने तयारी अवस्थामा राखेको छ, अब नियमित सामान पठाउने जानकारी गराएका छन् ।’  

चिनियाँ ७ गाडीमा आएको सामान नेपाली १५ वटा कन्टेनरमा लोड हुन्छ । विगतका वर्षहरूमा ल्होसार सकिएसँगै नाकाबाट नियमित आयात हुने भए पनि यो वर्ष ल्होसार सकिएको लामो समय हुँदासमेत नाका बन्द नै थियो ।  चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नियमित सञ्चालनमा नआएको एक वर्ष भयो ।

गत २२ जेठदेखि एकतर्फी नाका सञ्चालन गरेको चीनले कोरोनाको कारण देखाउँदै सहज रूपमा नियमित सञ्चालन गरेको छैन । सीमास्तरका दुई देशका अधिकारीबीच भएको बैठकमा सामान आयात बढाउने सहमति भए पनि कोटा प्रणाली कायमै छ । २४ भदौमा दुई देशका सीमाका अधिकारीबीच भएको बैठकमा चिनियाँ पक्षले दुई सिफ्टमा १६ घन्टा काम गर्ने भनेको थियो । तर, यो कार्यान्वयन भएको छैन । 

एक वर्षयता कोरोना भाइरस संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित बनेको छ । चीनले एकतर्फी नाका सञ्चालन गरिरहेको छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ । नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ । ०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो ।