मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण ९ शनिबार
  • Saturday, 24 July, 2021
२०७७ फाल्गुण २१ शुक्रबार १०:००:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीको आलोचना

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण २१ शुक्रबार १०:००:००

सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले प्रदेश सरकारमा लामो समय रिक्त मन्त्री नियुक्त गर्न नसकेको भन्दै मुख्यमन्त्रीको आलोचना गरेका छन् । मन्त्री नियुक्त हुन नसक्नु मुख्यमन्त्रीको अक्षमता भएको उनीहरूको भनाइ छ । 

प्रदेश सभाको विशेष समयमा बोल्दै कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले मन्त्री नियुक्त गरेर मन्त्रालयलाई क्रियाशील बनाउन र विकास निर्माणका कामलाई अगाडि बढाउन मुख्यमन्त्री त्रिलोचन भट्टलाई आग्रह गरे । ‘हुन त मन्त्रिमण्डल पुनर्गठन मुख्यमन्त्रीको अधिकार हो । तर, मुख्य दुई मन्त्रालयमा सरकारले मन्त्री नियुक्त गर्न सकेको छैन । यो मुख्यमन्त्रीको अक्षमताजस्तो लाग्यो,’ खड्काले भने, ‘किनभने, मन्त्री नियुक्त मुख्यमन्त्रीकै पार्टीबाट हुने हो ।’

आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त नहुँदा बजेट निर्माण नै प्रभावित हुन सक्ने खड्काले बताए । बजेट छलफल सुरु गर्ने वेला भए पनि सम्बन्धित मन्त्रीको टुंगो नलागेको भन्दै खड्काले तत्काल मन्त्री नियुक्त गरेर मन्त्रालयलाई क्रियाशील बनाउन आग्रह गरे । सुदूरपश्चिममा आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय रिक्त छन् । 

विशेष समयमा सरकारको आलोचना
नेकपाका सांसद दुर्गाकुमारी कामीले आर्थिक वर्षको अन्त्यतिर मात्र विकास निर्माणका काम सञ्चालन हुने प्रवृत्ति दोहोरिएको भन्दै असारे विकासको प्रवृत्ति रोक्न माग गरिन् । ‘विकास निर्माणका काम सुस्त छन् । हामीले असारे विकासको प्रवृत्ति रोक्ने भनेका थियौँ, तर यो प्रवृत्ति दोहोरिँदै छ,’ उनले भनिन्, ‘विकास निर्माणका कामलाई अहिले नै तीव्रता दिइनुपर्छ ।’ प्रदेशभर हत्या र बलात्कारका घटना बढेको भन्दै सुरक्षाको प्रत्याभूति गराउन माग गरिन् । आपराधिक घटना बढ्दा जनतामा सुरक्षाको अनुभूति नभएकाले प्रदेशभर शान्ति, सुरक्षा कायम गर्न उनले प्रदेश सरकारलाई आग्रह गरिन् ।

आकांक्षी धेरै भएकाले मुख्यमन्त्रीलाई सकस
नेकपाको ओली समूहका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री भट्टले गत १४ पुसमा पदमुक्त गरेका थिए भने ओली समूहतिर लागेपछि आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले गत २२ पुसमा राजीनामा दिएका थिए । आफ्नो समूहभित्र आकांक्षी धेरै भएपछि मुख्यमन्त्री भट्टले ती मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन् । प्रदेश सभामा स्पष्ट बहुमत रहेको प्रचण्ड–नेपाल समूहमा मन्त्री बन्न हानथाप छ ।

प्रदेश सभा सदस्य खड्काले मन्त्री नियुक्त नहुँदा बजेट निर्माण प्रभावित हुन सक्ने बताए । सरकारले प्रभावकारी रूपमा काम गर्न नसक्दा प्रदेशप्रति जनताको वितृष्णा बढेको खड्काले बताए । ‘सरकारले काम नगर्दा जनता प्रदेश चाहिँदैन भन्न थालिसके,’ उनले भने, ‘सरकारले काम नगर्दा सदनको पनि गरिमा घटेको छ ।’