Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रहरीको गोली लागेर मृत्यु भएका भारतको पिलिभित बुदानका गोविन्द सिंह । उनको शव बेलौरीको श्रीपुर प्राथमिक अस्पतालमा राखिएको छ । तस्बिर : नयाँ पत्रिका
मोहन विष्ट कञ्चनपुर
२०७७ फाल्गुण २१ शुक्रबार ०८:४९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भारतीय सीमा क्षेत्रबाट तस्करी रोकिएन

गोली हानाहानमा कञ्चनपुरमा एक भारतीयको मृत्यु, एक प्रहरी घाइते

Read Time : > 3 मिनेट
२०७७ फाल्गुण २१ शुक्रबार ०८:४९:००

सीमा क्षेत्रमा पछिल्ला वर्षमा कैलाली र कञ्चनपुरमा सशस्त्र प्रहरीका बिओपी थपिएका छन्, तस्करी रोक्न र अपराध नियन्त्रण गर्न नेपाल प्रहरीका चौकी बढाइएका छन्, तैपनि तस्करी रोकिएको छैन

कञ्चनपुरको बेलौरीमा प्रहरीको गोली लागेर बिहीबार एक भारतीय तस्करको ज्यान गएको छ । बेलौरी नगरपालिका–७ टुडुवा क्षेत्रमा प्रहरी र तस्कर समूहबीच गोली हानाहान भएको थियो । 

भारतसँगको खुला सीमाको फाइदा उठाउँदै तस्करीका घटना बढिरहेको पछिल्लो प्रमाण बिहीबारको घटना भएको छ । इलाका प्रहरी कार्यालय बेलौरीले दिएको जानकारीअनुसार तस्करहरूको समूह बिहीबार साँझ लागुऔषध बोकेर नेपाल प्रवेश गरेको सूचना पाएपछि नेपाल प्रहरी खटिएको थियो । भारतीय तस्करहरूले नेपाली प्रहरीलाई देख्ने बित्तिकै गोली हानेका थिए । जवाफी कारबाही गर्दा एक तस्करको मृत्यु भयो भने एक नेपाली प्रहरी घाइते भए । 

मृत्यु हुनेमा भारतको पिलिभित बुदानका अन्दाजी ३२ वर्षीय गोविन्द सिंह छन् । उनको शव बेलौरीको श्रीपुर प्राथमिक अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले भारतीय तस्कर समूहले नेपालमा लागुऔषध ल्याउन भित्र्याउँदै गरेको सूचना आएपछि इलाका प्रहरी कार्यालय बेलौरीको टोली सीमा क्षेत्रमा खटिएको थियो । 

‘हाम्रो टोली सीमा क्षेत्रमा पुग्दा भारतीय तस्करले पहिले गोली चलाए,’ प्रवक्ता थापाले भने, ‘जवाफी कारबाहीमा एक भारतीय तस्करमाथि गोली लाग्यो, उनी घाइते भएका थिए, उनको मृत्यु भएको छ । अर्का एक तस्कर पनि घाइते भएका छन् । तर, उनीसहित अन्य तस्कर भारततिरै फरार भएका छन् ।’ दोहोरो गोली हानाहानका क्रममा नेपाल प्रहरीका एकजना पनि घाइते भएको प्रवक्ता थापाले जानकारी दिए । ‘हाम्रो प्रहरीका एकजनाको खुट्टामा चोट लागेको छ,’ उनले भने, ‘म आफैँ घटनास्थल पुगेर विस्तृत अध्ययन गर्दै छु ।’ प्रहरीले घटनास्थलबाट लागुऔषधसहित नक्कली नोट बनाउने मेसिनसमेत बरामद गरेको छ । 

 भारतीय सीमामा तस्करी रोकिएन
तस्करी नियन्त्रणमा प्रभावकारी पहल नहुँदा सीमाक्षेत्रका स्थानीयले चिन्ता व्यक्त गरेका छन् । कैलाली र कञ्चनपुरमा भारतसँग सीमा जोडिएका क्षेत्रमा पछिल्लो समय नेपाली सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । तैपनि भारतबाट हुने तस्करी रोकिएको छैन । पछिल्लो एक वर्षको तथ्यांक हेर्दा सीमा क्षेत्रलाई लक्षित गरी कैलालीका विभिन्न ठाउँमा सशस्त्र प्रहरीका १० वटा सीमा सुरक्षा पोस्ट (बिओपी) थप गरिएका छन् । सशस्त्र प्रहरीका १४ वटा बिओपी रहेको कैलालीमा तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि सीमानजिक १० ठाउँमा नेपाल प्रहरीका चौकी पनि छन् ।

सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढ्दै गए पनि भारतबाट हुने तस्करी भने नियन्त्रण हुन सकेको छैन । कोरोना संक्रमणलाई लक्षित गरेर गरिएको भारतसँगको नाका बन्दकै क्रममा पनि कैलालीमा तस्करी रोकिएको थिएन । लकडाउनयता प्रहरीले लाखौँ मूल्यको तस्करीको सामान बरामद गरेको थियो । सीमामा सुरक्षा उपस्थिति बढेपछि तस्करीको सामान समातिने क्रम भने तुलनात्मक रूपमा बढेको छ । तर, लेनदेनमा कुरा नमिले मात्र सामान समात्ने गरेको आरोप प्रहरीलाई लाग्दै आएको छ । त्रिनगर भन्सार कार्यालयको मातहत पर्ने क्षेत्रमा मात्रै गत आर्थिक वर्षमा चार सय ६१ पटक भन्सार छलीको सामान बरामद गरिएको थियो । 

भारतबाट तस्करी गरेर ल्याउने क्रममा चार करोड ५० लाख मूल्य बढीका सामान सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयको टिमले गत वर्ष बरामद गरेको भन्सार कार्यालयको तथ्यांक छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै विभिन्न नाकाबाट दुई सय ५६ पटक गरी करिब एक करोड ७२ लाख मूल्यका भन्सार छलीको सामान बरामद भएको त्रिनगर भन्सार कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी परमानन्द जोशीले जानकारी दिए । टीकापुरस्थित खक्रौला भन्सार कार्यालयमातहत पर्ने टीकापुर र भजनी नगरपालिका क्षेत्रबाट समातिएको बाहेक यो तथ्यांक हो । भन्सार अधिकृत जोशीका अनुसार तस्करीको धेरैजसो सामान सशस्त्र प्रहरीले समातेको हो ।

तस्करी रोक्न खोज्दा दुई प्रहरीको हत्या
तस्करीकै क्रममा पटक–पटक सामान समातिनुले पनि तस्करी भइरहेको पुष्टि गर्छ । यद्यपि प्रहरीको सक्रियता बढेपछि सामान समातिने क्रम बढेको तर्क सुरक्षा अधिकारीहरू गर्छन् । भारतसँगको खुला सीमानाका कारण भारतबाट सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स तथा हार्डवेयरका सामान, कपडा, सवारी साधनका पार्टपुर्जा, चिनीलगायत उपभोग्य सामानको बढी तस्करी हुने गरेको छ । नेपालबाट भारतमा केराउ तस्करी हुन्छ । 

केराउ तस्करी रोक्न खोज्दा तस्कर समूहले गत कात्तिकमा धनगढीको जुगेडा नाकामा दुई प्रहरीको हत्या गरेका थिए । गस्तीका क्रममा राति तस्करी रोक्न खोजेपछि प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेर तस्करले लास नदीमा गाडेका थिए । उक्त घटनापछि केही समय यो नाकाबाट तस्करी रोकिए पनि अहिले पुनः तस्करी हुन थालेको एक स्थानीयले बताए । प्रदेश राजधानी रहेको धनगढीकै विभिन्न नाकाबाट करोडौँको सामान तस्करी हुने गरेको स्थानीय बताउँछन् । प्रहरीकै सेटिङमा तस्करी हुने गरेको आरोप लाग्दै आएको छ । ‘ठाउँठाउँमा सुरक्षा निकायको उपस्थिति छ । त्यसैले सेटिङविना लाखौँ मूल्यको सामान तस्करी गर्न सम्भव हुँदैन,’ धनगढीका प्रदेश सभा सदस्य डिल्लीराज पन्त भन्छन्, ‘तस्करले प्रहरी, प्रशासन सबैतिर मिलाएका हुन्छन् ।’ छिटपुटबाहेक अधिकांश सामान सेटिङ मिलाएरै तस्करी हुने गरेको उनको दाबी छ ।

एक वर्षयता कैलालीमा १० बिओपी थपिए

सीमामा सशस्त्र प्रहरीको उपस्थिति बढाउने सरकारको निर्णयपछि कैलालीमा एक वर्षयता मात्रै १० वटा बिओपी थपिएका छन् । टीकापुरको श्रीलंका टापु, कालाकुण्डा, भजनीको कुसुमघाट, हिम्मतपुर, कैलारीको खोनपुर, भुइयाफाँटा, छोट्कीपलिया, लट्ठाघाट, धनगढीको जुगेडा र बंग्राकटानमा बिओपी थपिएका सशस्त्र प्रहरी ३४ नम्बर गण धनगढीले जनाएको छ । 

पहिले दुईवटा धनगढीसहित चारवटा बिओपी मात्र थिए । अझै चारवटा बिओपी थप्ने तयारी रहेको सशस्त्र प्रहरी बल ३४ नम्बर गण धनगढीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले बताए । सशस्त्र प्रहरीको उपस्थिति बढेपछि तस्करी घटेको उनले दाबी गरे । प्रहरीको सक्रियताका कारण तस्करीका वेला सामान समातिने क्रम बढेको उनले बताए । 

‘बढीमा १० किलोमिटरको दूरीमा सशस्त्रको बिओपी छ । त्यसैले पहिलेजस्तो तस्करी अहिले छैन,’ प्रहरी उपरीक्षक कुँवरले भने, ‘तस्करीभन्दा पनि प्रहरीको उपस्थितिले सामान समातिने क्रम बढेको हो ।’ खुला सीमाना भएकाले मौका छोपेर लुकिछिपी सामान ल्याउने गरिए पनि सशस्त्र प्रहरीले नियमित गस्ती थालेपछि त्यसरी ल्याउने सामान बरामद गर्ने गरिएको उनले बताए ।

सीमामा बिओपीहरू थपिए पनि पूर्वाधार र साधनस्रोतको अभाव छ । कतिपय ठाउँमा भवन नहुँदा त्रिपाल टाँगेर बिओपी स्थापना गरिएका थिए । एक–दुई ठाउँबाहेक सबै बिओपीमा गाडी छैन । सवारीसाधन नहुँदा हिँडेर गस्ती गर्नुपरेको प्रहरी उपरीक्षक कुँवरले बताए । सीमा क्षेत्रमा प्रहरी उपस्थिति बढेपछि स्थानीय बासिन्दाले सुरक्षाको अनुभूति पनि गरेका छन् ।