मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७७ फाल्गुण २१ शुक्रबार ०८:३१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सिरोसिस अर्थात् कलेजोमा हुने समस्याबाट कसरी बच्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७७ फाल्गुण २१ शुक्रबार ०८:३१:००

विभिन्न स्वास्थ्य समस्याका कारण कलेजोको आकार बिस्तारै खुम्चिँदै जाने अवस्थालाई सिरोसिस भनिन्छ । अध्ययनअनुसार प्रतिवर्ष विश्वमा २६ हजारभन्दा बढी व्यक्तिको सिरोसिसका कारण मृत्यु भइरहेको छ । नेपालमा पनि कलेजोमा हुने समस्याहरूमध्ये सिरोसिस मुख्य रहेको छ । 

चितवनमा सन् २०१७ मा एक संस्थाले गरेको अध्ययनले सिरोसिसबाट प्रभावित उमेर समूहमा ५० देखि ६४ रहेको देखिएको थियो । अर्थात् वृद्धवृद्धामा कलेजोको समस्याका कारण मृत्यु हुनेमा सिरोसिस प्रमुख कारण मान्ने गरिन्छ । यो समस्या विशेषगरी अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण हुने गरेको देखिएको छ । 

कलेजोले शरीरमा पित्त उत्पादन गर्छ, सामान्यतया पाचन प्रणालीले खाना पचाइसकेपछि निस्किने पोषक तत्वहरू कलेजोले संग्रह गरेर राख्छ । पित्तले अनावश्यक बोसो पचाउने र भिटामिन सोस्ने काम गर्छ । शरीरका लागि आवश्यक प्रोटिन र रगत जम्न चाहिने तत्वसमेत कलेजोको सहयोगमा उत्पादन हुन्छ । कलेजोमा हुने समस्याको मुख्य कारण मद्यपान, अव्यवस्थित खानपान, हेपाटाइटिस बी आदिलाई मान्न सकिन्छ । कलेजोमा बोसो जम्नु, पित्त नलीमा संक्रमण हुनु र अत्यधिक औषधिको प्रभावका कारण पनि सिरोसिस हुन सक्छ । तर, करिब २० प्रतिशतमा भने सिरोसिसको कारण पत्ता लगाउन सकिँदैन ।

कसरी थाहा पाउने ?
सुरुवातीको समयमा कुनै पनि लक्षण नदेखिए पनि रोग बल्झिदै जाँदा विभिन्न लक्षणहरू देखिन थाल्छन् । अधिकांशमा थकाइ लाग्ने वा कमजोरीपन देखिने, जिउ चिलाउने, शरीर सुन्निने, पेट र शरीरमा पानी भरिने हुँदा पेट फुल्ने वा श्वास फेर्न गाह्रो हुने, रगत बग्ने, नशा फुट्ने, जन्डिसका कारण छाला पहेँलो हुन्छ । 

कारण 
कलेजोमा समस्या हुँदा यसमा रहेका इन्जाइमहरू बढ्ने गर्छन् । जसले कलेजो सुन्निदै गएको संकेत गर्छ । जुन रगत परीक्षणबाट पत्ता लगाउन सकिन्छ । कलेजो सुन्निदै गएपछि आउने बदलावका कारण खुम्चिँदै जाने समस्या उत्पन्न हुन्छ । सिरोसिसको समस्या बल्झिदै जाँदा आकारमा परिवर्तन आउन सुरु हुन्छ, जसले कलेजोको कार्यक्षमता कम हुँदै जान्छ ।

  • सिरोसिसको मुख्य कारण अल्कोहल सेवन हो । दैनिक २० देखि ३० ग्रामभन्दा बढी अल्कोहल सेवन गर्नेको छोटो समयमै कलेजोमा असर देखिन्छ । 
  • हेपाटाइटिस बी र सी रोग पनि सिरोसिसको कारण मानिन्छ । 
  • कलेजोमा बोसो जमेर हुने समस्या फ्याटी लिभर, मोटोपन र मधुमेह पनि सिरोसिसको कारण हो ।

रोकथाम र उपचार
सिरोसिस भए नभएको पत्ता लगाउने प्रमुख विधि लिभरको बायोप्सी हो । जसमा कलेजोको सानो टुक्रा लिएर माइक्रोस्कोपमा राखेर परीक्षण गर्ने गरिन्छ । तर, कलेजोको हरेक समस्याका लागि बायोप्सी आवश्यक हुँदैन । यसबाहेक रगतको जाँच, पेटको जाँच, अल्ट्रासाउन्ड, सिटिस्क्यान र इन्डोस्कोपीबाट अन्य समस्या थाहा पाउन सकिन्छ । 

सिरोसिस लामो समयसम्म उपचार नभएमा कलेजोको क्यान्सर हुन सक्ने जोखिम रहन्छ । तसर्थ लक्षण वा कारण पत्ता लागेपछि पेट तथा कलेजो रोग विशेषज्ञहरूसँग नियमित परामर्श लिनुपर्छ । तथ्यांकअनुसार, सिरोसिसका कारण ३ देखि ४ प्रतिशतमा क्यान्सर भएको पाइन्छ । सुरुवातीको अवस्थामै सिरोसिस पत्ता लगाउन सके जोखिमबाट बच्न सकिन्छ ।