Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २१ शुक्रबार ०७:११:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

सम्पादकीय : शान्ति मार्गमा विप्लव, स्वागतयोग्य कदम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २१ शुक्रबार ०७:११:००

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेपाल सरकारबीच बुधबार दुई चरणमा वार्ता भएको छ । यसका साथै विप्लव समूह र सरकारबीच भएको सहमतिलाई बिहीबार बसेको मन्त्रिपरिषद्ले अनुमोदनसमेत गरेको छ । १० वर्षे विद्रोहपछि शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको नेपालको राजनीतिमा विप्लवले अँगालेको मार्ग पुरानै बिरासतलाई अघि बढाउने खालकै थियो । जनयुद्ध सञ्चालन गर्ने नेतृत्वले निर्दिष्ट लक्ष्य हासिल नगरेको निष्कर्षसहित उनी भूमिगत राजनीतितर्फ अग्रसर भएका थिए ।

तर, वार्ताका माध्यमबाट विप्लव शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको र सरकारले उनको पार्टीमाथि लगाएको बन्देज फुकुवा गर्न निर्णय गरेकोमा आमनेपाली जनताले सकारात्मक सन्देशका रूपमा लिएका छन् । किनकि विप्लवसँग वार्ता गर्न शान्तिपूर्ण निकास निकाल्न स्वतन्त्र नागरिकहरूले आवाज उठाउँदै आएका थिए । झन्डै चार हजारको संख्यामा पक्राउ परेका उनका नेता–कार्यकर्ताको रिहाइ र पार्टीमाथि लगाइएको बन्देज फुकुवा गर्ने निर्णयसँगै उनलाई शान्तिपूर्ण राजनीतिमा आउने सहज धरातल उपलब्ध हुनेछ । यो सकारात्मक सुरुवात हो ।

आगामी दिनमा शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाका आधारमा विप्लवले जनमत बढाउन, नेतृत्व लिन र देशको मुहार परिवर्तन गर्न सक्ने फराकिलो र वैधानिक बाटो तयार भएको छ

तत्कालीन नेकपा (माओवादी) बृहत् शान्ति सम्झौता हुँदै शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि अगाडि बढेको राजनीतिलाई विप्लव धोका ठान्छन् । त्यो धोका हो कि होइन भन्ने राजनीतिक विषय हो । त्यसमा विप्लव वा आमनेपाली जनताले निरन्तर बहस गर्न सक्छन् । तर, त्यसको बदलामा हिंसामा जाने विषयलाई भने शान्तिप्रेमी समाजले स्विकार्न सक्दैन । लामो विद्रोहको निकास निकालेको नेपाली समाजले शान्तिको सास फेर्न नपाउँदै फेरि विद्रोहको आवाजले पक्कै पनि धेरै नेपालीलाई झस्काएको थियो । त्यसैले अधिकांश जनता उनी शान्तिपूर्ण राजनीतिमा फर्कून् भन्ने चाहन्थे । अहिले भएको वार्ताले नेपाली जनताको त्यो चाहनालाई सकारात्मक मोड दिएको छ । त्यसैले दुवै पक्ष धन्यवादका पात्र हुन् । 

वार्तालाई सकारात्मक मोड दिन दुवै पक्ष यो प्रक्रियालाई ‘फास्ट ट्र्याक’मा अघि बढे यो पनि सकारात्मक पक्ष हो । विप्लवले जुन बाटो लिन मञ्जुर गरेका छन्, त्यसले ०७२ को संविधानकै सेरोफेरोमा यहाँका राजनीतिक मुद्दाहरू हल गर्दै जाने सम्भावना बढाइदिएको छ । आगामी दिनमा शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको आधारमा विप्लवले जनमत बढाउन, नेतृत्व लिन र देशको मुहार परिवर्तन गर्न सक्ने फराकिलो र वैधानिक बाटो तयार भएको छ । यसले नेपाली समाजलाई मात्र होइन, उनलाई समेत अगाडि बढाउनेछ ।