मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २० बिहीबार १९:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय सहयोगमा बुटवलमा विद्यालय बन्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २० बिहीबार १९:०१:००

रुपन्देहीको बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासले चार करोड ४१ लाख ७० हजार रुपैयाँ दिने भएको छ । भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुटवल उपमहानगरपालिकाबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’अनुरूप ‘नेपाल–भारत मैत्री विकास साझेदारी’अन्तर्गत नयाँ भवनको निर्माण हुने भारतीय दूतावासले जनाएको छ । सन् १९७१ मा स्थापना भएको नहरपुर माध्यमिक विद्यालय राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध छ । विद्यालयले प्लस टु तहको शिक्षा तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गर्दै आएको छ । विद्यालयमा अध्ययन गरिरहेका कुल ११२७ विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा छन् । 

भारतले सन् २००३ यता स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र सार्वजनिक उपयोगिताका क्षेत्रमा साबिकको ‘साना विकास परियोजना’ र अहिलेको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’अन्तर्गत नेपालको सातैवटा प्रदेशमा चार सय ४६ वटा परियोजना सम्पन्न गरिसकेको दूतावासले जनाएको छ । रुपन्देही जिल्लामा मात्रै १० गरी प्रदेश ५ मा ४१ वटा परियोजना सञ्चालनमा छन् । 

भारतले पाँच अर्ब ८० करोड रुपैयाँ पुनर्निर्माण अनुदानमा ०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका आठ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिरहेको छ । ‘पुनर्निर्माण कार्यक्रमअन्तर्गत आठवटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने ६२ वटा विद्यालयको काम अघि बढिरहेको छ,’ भारतीय दूतावासले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय परियोजनाका लागि पनि टेन्डर प्रक्रिया अघि बढिरहेको छ ।’