१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २० बिहीबार १२:५२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एकताको पक्षमा नआउने नेतालाई भोट नदिने वामदेव गौतमको अभियान (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २० बिहीबार १२:५२:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताएका छन् । बिहीबार कोभिड– १९ कोरोना भाइरसविरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो पुस्ताका नेताहरूलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने बताएका हुन् ।  

एकताको पक्षमा नहुने नेताहरूलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने उनकोे भनाइ छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अझै पनि एकताको पक्षको नआएको उनले बताए ।

उनले भने, ‘धेरै ठाउँका  ठुल्ठूला सभाहरूमा उहाँहरूले बोलेको ती सबै सुन्दाखेरि एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नुभएकाे छैन । मेरोचाहिँ प्रयत्न के छ भने केपी ओलीतिर रहेका सेकेन्ड जेनेरेसनका र प्रचण्डतिर रहेका सेकेन्ड जेनेरेसनका कमरेडहरूलाई एकताबद्ध गर्ने र तलबाट एउटा ठूलो पंक्ति तयार गर्ने र एकताको पक्षमा जाेड दिने र जुन नेता एकताको पक्षमा हुनुहुन्न उहाँलाई भोट नदिने । यो अभियान अब हामीले चलाउँदै छौँ र चारैतिरबाट यी दुईवटा नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला । पहिलो एकता केपी र प्रचण्डबीचकै एकतालाई हो, हामीले मान्ने त्यो अरूले एकता गर्दैमा त्यो एकता हुँदैन । जनताले मान्दैन, विश्वले पनि मान्दैन । दुईवटालाई एकताबद्ध गरेपछि फेरि याे पार्टी एकताबद्ध भयो भन्ने हुन्छ । तर, उहाँहरूलाई त्यो एकतामा ल्याउनको निम्ति उहाँहरूको वरिपरि बसेकाहरूलाई घेराबन्दी तोडेर एकताको पक्षमा रहेको नेपाली जनताको शक्ति, कम्युनिस्ट आन्दोलनप्रति शुभचिन्तक र समर्थन गर्ने शक्तिले घेराबन्दी गरेर  उहाँहरूलाई एकताबद्ध गराउने पक्षमा म छु ।’

उपाध्यक्ष गौतमले विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागी एकता अभियानमा लाग्ने स्पष्ट पारे  ।  पार्टी एकताको निम्ति आह्वान गर्ने नेताको पक्षमा आफू उभिन सक्ने पनि उनको भनाइ छ ।