मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २० बिहीबार ०८:२५:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

क्यान्सरका यस्ता लक्षण, जुन धेरैले बेवास्ता गर्छन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २० बिहीबार ०८:२५:००

हामीमध्ये धेरैको बेवास्ता गर्ने बानी हुन सक्छ । शरीरमा गम्भीर खालका समस्याको संकेत हुँदाहुँदै पनि हामी त्यसलाई बेवास्ता गरिरहेका हुन्छौँ । शरीरमा कतै अजीव खालको दुखाई भइरहेको हुन सक्छ । वा शरीरको कुनै भागमा असामान्य खालको केही परिवर्तन भइरहेको हुन्छ । यद्यपि, हामी त्यसलाई बेवास्ता गर्छौं । त्यसको धेरै चिन्ता लिँदैनौँ । केही हदसम्म यस्ता लक्षणलाई बेवास्ता गर्ने निर्णय सही पनि हुने गर्दछ । अर्थात्, त्यस्ता कतिपय लक्षणहरू यत्तिकै हराएर जान्छन् । 

तर, कतिपय अवस्थामा यस्ता लक्षणले ठूलो समस्याको संकेत गरिरहेको पनि हुन सक्छ । यस्ता लक्षण क्यान्सरजस्तो गम्भीर खालको रोगको संकेत पनि हुन सक्छ, जसलाई समयमै ख्याल पुर्‍याउने हो भने उपचार गर्न सकिन्छ । त्यसैले समयमै त्यस्ता लक्षणलाई किन गम्भीरताका साथ नलिने ? वा सुरुवातमै यस्ता केही संकेत पाइसकेपछि पनि किन बेवास्ता गर्ने ? जान्नुहोस्, धेरै मानिसले बेवास्ता गर्ने क्यान्सर रोगका प्रारम्भिक लक्षणहरू ः–

१. शरीरमा फोका आउनु
कोही व्यक्तिलाई शरीरको कुनै पनि भागमा फोका उठ्ने समस्या हुन सक्छ । त्यस्ता फोका सारो वा गिलो खालको हुन सक्छ । तपाईंमध्ये कसैको शरीरमा लामो समयदेखि यस्तो समस्या देखिएको हुन सक्छ । कसैले हालै मात्रै थाहा पाउनुभएको पनि हुन सक्छ । शरीरमा यस्ता फोकाहरू सामान्य खालका अरू समस्याका कारण पनि भएको हुन सक्छ । जसले कुनै ठूलो समस्या दिने छैन । यद्यपि, यस्ता समस्या क्यान्सर रोगको लक्षण पनि हुन सक्छ । त्यसैले वेलैमा सतर्क हुन आवश्यक छ ।

२. खोकी लाग्नु, स्वर बस्नु  वा परिवर्तन हुनु
घाँटी खसखस गर्नु, खोकी लाग्नु, स्वर बस्नु वा परिवर्तन हुनुजस्ता समस्या अरू कारणले पनि हुन सक्छन् । उदाहरणका लागि चिसो मौसममा यस्ता समस्या सामान्य मान्न सकिन्छ । तर, चिसो वा अरू सामान्य कारणले भएको हो भने यस्ता समस्या लामो समय रहँदैन । चाँडै नै निको हुन्छन् । यदि, यस्ता समस्या लामो समय रहन्छ भने सजक हुन आवश्यक छ । लामो समयसम्म घाँटी खसखस गर्नु, खोकी लाग्नु, स्वर बस्नु वा आवाज परिवर्तन भइरहनेजस्ता समस्या रहिरहनु फोक्सोको क्यान्सरको लक्षण पनि हुन सक्छ ।

३. रगत बग्नु
सामान्यतया आफ्नो शरीरले कसरी काम गरिरहेको छ भनेर हामीलाई जानकारी हुन्छ । हाम्रो शरीरमा भएको कुनै परिवर्तनलाई हामी अनुभव गर्न सक्छौँ । शरीरले थोरै पनि फरक व्यवहार देखाउनेबित्तिकै हामी सजक हुन आवश्यक छ । त्यसमध्ये महत्वपूर्ण विषय हो शरीरको कुनै पनि भागबाट यत्तिकै रगत बग्नु । कतिपय अवस्थामा शरीरबाट यत्तिकै रगत बगिरहेको हुन सक्छ । यो लक्षण क्याम्सरकै पनि हुन सक्छ । खोकी लाग्दा रगत आउनु फोक्सोको क्यान्सरको लक्षण हुन सक्छ । 

४. दुखाइ
शारीरिक दुखाइ प्रायः सबैले महसुस गरेकै हुन्छौँ । विशेषगरी ४० वर्षभन्दा माथिका मानिसमा यस्ता समस्या अलि बढी हुन सक्छ । अनपेक्षित दुखाइलाई भने हामीले बेवास्ता गर्नुहुन्न । यदि तपाईं फरक खालको दुखाइ महसुस गरिरहनुभएको छ भने तुरुन्त डाक्टरको सम्पर्कमा जान आवश्यक छ । यस्ता समस्या अरू सामान्य कारणले नै पनि भएको हुन सक्छन् । सामान्य कारण नभएर क्यान्सरको लक्षण पनि हुन सक्छन् । 
५. घाँटी दुख्नु
घाँटीको समस्या पनि चिसो मौसममा सामान्य हो । चिसो वा अन्य कुनै सामान्य कारणले घाँटी दुखेको हो भने यसबाट पनि धेरै चिन्तित हुन आवश्यक छैन । सामान्य ‘फ्लु’ वा ‘भाइरल इन्फेक्सन’का कारणले पनि यस्तो समस्या भएको हुन सक्छ । यदि सामान्यभन्दा बढी नै समय यो समस्या रहिरह्यो भने सजक हुन आवश्यक छ । घाँटी दुख्नुलाई मानिसहरू ठूलो समस्या मान्दैनन् । तर, यो क्यान्सरको एउटा लक्षणमध्येको हो ।
६. तौल घट्नु 
केही व्यक्तिका लागि तौल घट्नु ठूलो उपलब्धि हुन सक्छ । तर, एक्कासि तौल घट्नु वा निरन्तर घटिरहनु चिन्ताको विषय पनि हुन सक्छ । केही नगरी पाँचदेखि १० पाउन्ड तौल घट्नु थाइराइडको समस्याले पनि हुन सक्छ । यसलाई पनि बेवास्ता गर्नु हुँदैन । तर, यो क्यान्सरको सुरुवाती चरणको लक्षण पनि हुन सक्छ । पेट, प्यान्क्रियाज वा फोक्सोको क्यान्सरका कारण यस्तो समस्या देखिएको हुन सक्छ । 

७. छालाको रंग परिवर्तन हुनु
हामीमध्ये धेरैले शरीरको छालामा आउने परिवर्तनलाई गम्भीरताका साथ लिँदैनौँ । वा, त्यस्ता परिवर्तनलाई हामी बेवास्ता गर्ने गर्छाैं । तर, यस्तो परिवर्तन पनि बेवास्ता गर्न नहुने लक्षण हुन् । किनभने शरीरको कुनै पनि अंगको छालाको रंग परिवर्तन हुनु गम्भीर हो । यस्तो समस्या छालाको क्यान्सरका कारण हुन सक्छन् । त्यसैले यस्ता कुनै पनि लक्षण देखिन साथ डाक्टरको सुझाब लिन उपयुक्त छ ।
 एजेन्सीको सहयोगमा