Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
व्यास नगरपालिका– ३ स्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा संस्कृत पढ्दै गरेका विद्यार्थी । तस्बिर : नयाँ पत्रिका
२०७७ फाल्गुण १९ बुधबार १०:४०:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

संस्कृत भाषाप्रति मुस्लिम बालबालिकाको आकर्षण

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १९ बुधबार १०:४०:००

विद्यालयमा ब्राह्मण–छेत्री समुदायका भन्दा अन्य समुदायका बालबालिका बढी

तनहुँको व्यास नगरपालिका–३ स्थित महर्षी वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा संस्कृत भाषा पढ्ने दुई सय ८१ जना विद्यार्थी छन् । यहाँ संस्कृत भाषा, व्याकरण, कर्मकाण्ड, ज्योतिषलगायतका विषय अध्यापन गराइन्छ ।

विद्यालयमा ब्राह्मण, छेत्री, दलित, जनजाति तथा मुस्लिम समुदायका बालबालिका अध्ययन गरिरहेका छन् । यसमध्ये मुस्लिम समुदायका बालबालिका सबैभन्दा धेरै छन् । १ देखि १२ कक्षासम्म पढाइ हुने विद्यालयमा मुस्लिम समुदायका मात्रै २९ जना बालबालिका (१९ छात्र र १० छात्रा) छन् । 

पछिल्लो समय संस्कृत भाषाप्रति मुस्लिम समुदायका बालबालिकाको आकर्षण बढ्दै गएको विद्यालयका शिक्षकहरू बताउँछन् । घरनजिकै रहेको विद्यालयमा नगएर संस्कृत भाषा नै पढ्नका लागि उनीहरू संस्कृत विद्यालय आउने गरेको शिक्षकहरूको भनाइ छ ।

यस विद्यालयमा १० कक्षामा अध्ययनरत विद्यार्थी नजिर मियाले संस्कृत भाषा पढ्नकै लागि यहाँ आएको बताए । १० कक्षाकै अर्का विद्यार्थी रुस्तम मियाले संस्कृत भाषा अन्य भाषाको पनि संरक्षक भएकाले थाहा पाएपछि पढ्ने रहर पलाएको बताए ।

उनले भने, ‘नेपाली तथा अंग्रेजी भाषाको सुरुवात पनि संस्कृत भाषाबाटै भएको थाहा पायौँ । संस्कृत भाषाबाट नै उत्पत्ति भएका भाषाहरू धेरै रहेछन् । त्यसैले ती भाषाको अर्थ र सुरुवात के रहेछ बुझ्नका लागि संस्कृत विद्यालयमा पढ्न आएको हुँ ।’

विद्यालयमा १ देखि १२ कक्षासम्मै संस्कृत विषय पठनपाठन भइरहेको प्रधानाध्यापक तोयाराज निरौलाले बताए । उनका अनुसार कक्षा १ देखि १२ सम्म संस्कृत विषय पढाइ हुने गर्छ । ‘विद्यालयमा ब्राह्मण, क्षेत्री, दलित, जनजाती तथा मुस्लिम समुदायका बालबालिका अध्ययन गरिरहेका छन् ।

त्यसमध्ये ब्राह्मण, छेत्री समुदायका भन्दा अन्य समुदायका बढी छन्,’ उनले भने । मुस्लिम समुदायका बालबालिकाको संस्कृत भाषाप्रति आकर्षण देखाउँदा विद्यालयको गरिमा पनि बढेको उनी बताउँछन् । यी समुदायका बालबालिकाले उत्कृष्ट नतिजा पनि ल्याइरहेको उनको भनाइ छ ।