मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण १९ बुधबार ०९:०३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ल्होसार सकियो, तर रसुवागढी नाका सञ्चालन अझै अनिश्चित

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १९ बुधबार ०९:०३:००

ल्होसारको कारण देखाउँदै गएको २९ माघदेखि चीनले नेपालतर्फ हुँदै आएको आयात ठप्प बनाएको छ । ल्होसार मनाउन केरुङका कामदार घर गएका भन्दै १० दिन आयात नहुने चिनियाँ अधिकारीले जनाएको थियो । तर, ल्होसार सकिएको लामो समय बित्दा पनि नाका अझै सञ्चालनमा आउन सकेको छैन ।

विगतका वर्षहरूमा ल्होसार सकिएसँगै नाकाबाट नियमित आयात हुने भए पनि यो वर्ष ल्होसार सकिँदासमेत नाकाबाट आयात हुन नसकेको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । ‘चिनियाँ भन्सारले सुरुमा १० दिन मात्र आयात नहुने भनेको थियो, तर अहिले चीनतर्फका सबै कार्यालय खुला रहे पनि सामान लोड गर्ने कामदार आएको छैन भनेको छ,’ उनले भने, ‘पहिला कुन मोडालिटीमा नेपाल सामान आयात गर्ने भन्ने विषयमा छलफल हुन्छ अनि पठाउँछौँ भनेका थिए ।’ तर, ल्होसार सकिएको धेरै दिन भयो, सामान आयात हुन सकेको छैन । 

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नियमित सञ्चालनमा नआएको एक वर्ष भयो । गएको २२ जेठदेखि एकतर्फी नाका सञ्चालन गरेको चीनले कोरोनाको कारण देखाउँदै सहज रूपमा नियमित सञ्चालन गरेको छैन । सीमास्तरका दुई देशका अधिकारीबीच सामान आयात बढाउने सहमति भए पनि सुरुदेखिको कोटा प्रणाली नै कायम छ ।

गएको २४ भदौमा दुई देशका सीमा अधिकारीबीच भएको बैठकमा चिनियाँ पक्षले दुई सिफ्टमा १६ घन्टा काम गर्ने भनेको थियो । एक सिफ्टमा ८ वटा गाडीमा नेपालतर्फ सामान ल्याइदिने र नेपालतर्फ व्यवस्थापन गर्न अनुरोध गरेको थियो । सबै व्यवस्थापनको काम तत्काल सम्पन्न गरे पनि चिनियाँ पक्षले हालसम्म भने कार्यान्वयन गरेको छैन । चीनले कहिले कोरोना त कहिले अन्य कारण देखाउँदै नाका बन्द गर्ने बहाना खोजिरहेको व्यवसायीहरू बताउँछन् ।  

पछिल्लो एक वर्षयता कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित बनेको छ । चीनले पछिल्लो समय दैनिक आफ्ना ५ वटा गाडीमा नेपाली भूभागमा सामान झारिदिने गरेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् ।

चीनको केरुङबाट रसुवागढी नाका हँुदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायतका सामग्रीहरू भित्रिने गरेको छ । नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।

१५ मंसिर ०७१ देखि रसुवागढी नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो, तर रसुवागढी नाका ०७२ मंसिरदेखि पुनः सञ्चालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट ०७२ मंसिरदेखि हुँदै आएको छ ।