१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १९ बुधबार ०८:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

देउवालाई पौडेलको प्रश्न– अहिले हत्याएर सरकारको नेतृत्व लिएपछि आउने चुनावमा के हुन्छ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १९ बुधबार ०८:४३:००

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीसँग निकट भएकोमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । संसद् पुनस्र्थापनामार्फत लोकतन्त्र बचेको भन्दै पौडेलले अब विकृतिबाट देशलाई बचाउने वेला आएको बताएका छन् । 

विश्वनाथ मिश्र स्मृति प्रतिष्ठानले मिश्रको १०५औँ जन्मजयन्तीको अवसरमा भक्तपुरमा आयोजना गरेको सम्मान तथा रक्तदान कार्यक्रममा पौडेलले कांग्रेस आफ्नो हैसियतमा बस्नुपर्ने सुझाए । ‘विघटन भएको प्रतिनिधिसभाको पुनस्र्थापना भयो, लोकतन्त्र बच्यो । अब विकृतिबाट देशलाई बचाउनु छ ।

विकृतिका नायक जतासुकै छन्, जसले गर्दा लोकतन्त्र अस्थिर बनेको छ । अब विकृतिबाट कसरी बचाउने ?’ पौडेलले सभापति देउवालाई लक्षित गर्दै भने, ‘आफ्नो हैसियतभन्दा बढी अपेक्षा गर्नु पनि विकृति हो, महत्वाकांक्षा हो । हामी आफ्नो हैसियतमा बस्नुपर्छ । अहिले हत्याएर (सरकारको नेतृत्व) लिएपछि आउने चुनावमा के हुन्छ ? अहिले के जादु गर्न सकिन्छ र ? म साथीहरूलाई भन्छु, सोचेर गरौँ ।’

नेता पौडेलले आफूलाई ‘सेटिङ’को राजनीति नआउने भन्दै देउवामाथि प्रश्न गरे, ‘यता लाग्दा यस्तो, उता लाग्दा उस्तो ! म यो सेटिङ–सेटिङ जान्दिनँ, आजसम्म हामी विपक्षी हो । सत्ता जहाँ छ, त्यसको विपक्षमा हौँ । अहिले सत्ताले बदमासी गरेको छ, असंवैधानिक काम गरेको छ, मुलुकलाई भड्खालोतिर लगेको छ । अहिले पनि सत्तातिर किन टाँसिने ?’ देउवाले भावी सरकारलाई लिएर नेकपाका दुवै समूहसँग संवाद अगाडि बढाएका वेला पौडेलको यस्तो भनाइ आएको हो । 

उनले अहिले कांग्रेसले आत्मघाती निर्णय गर्नु नहुने बताए । ‘कम्युनिस्टले जबसम्म आफ्नो टुंगो लगाउँदैन तबसम्म केही नगर्ने त भन्यौँ । तर, संसदीय प्रक्रियालाई अवरुद्ध गराउनुहुँदैन । संसदीय प्रक्रिया अगाडि बढाउन दिनुपर्छ । नत्र फेरि दुर्घटना हुन्छ । दुर्घटनाबाट देशलाई जोगाउनुपर्छ ।

संसदीय प्रणालीलाई जोगाउनुपर्छ,’ उनले अघि भने, ‘त्यसैले संसदीय प्रक्रियामा आफ्नो भूमिका इमानदारपूर्वक कांग्रेसले खेल्नुपर्छ । विकृतिबाट देशलाई बचाउनु हुन्छ । अरू विकृततिर चोचोमोचो मिलाउने कुनै कुरा हुँदैन । कांग्रेसले विपक्षीको धर्म निभाउनु हुन्छ ।’